२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

भग्नावशेष करिव चार हेक्टर क्षेत्रफलमा

बर्दियामा भेटियो ऐतिहासिक दरबारको भग्नावशेष

‘बाउबाजेले त्यो स्थानलाई कन्या राजाको दरबार भएको भन्थे,’ फूलारामले भने, ‘कन्या राजा को हुन्, कहाँबाट आएका हुन् भन्ने बारे कसैलाई थाहा छैन
बर्दियामा भेटियो ऐतिहासिक दरबारको भग्नावशेष

भाद्र २१ गते २०७७

बारबर्दिया नगरपालिका–८ को एक सामुदायिक वनभित्र ऐतिहासिक दरबारको भग्नावशेष फेला परेको हो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दुध्धा सामुदायिक वनमा दरबार शैलीको भग्नावशेष फेला परेको हो। त्यो क्षेत्रलाई स्थानियवासीले परापूर्वकालदेखि नै कन्या राजाको दरबार भएको क्षेत्र बताउँदै आएका थिए। तर, कन्या राजा को हुन् भन्ने स्थानीय अनभिज्ञ छन्। स्थानीय बुढापाकाहरुले बाउबाजेको पुस्तौंदेखि नै उक्त भग्नावशेष कन्या राजाको दरबार क्षेत्र भएको सुन्दै आएको बताएका छन्।

भग्नावशेष निकुञ्जसँग जोडिएको दुध्धा सामुदायिक वनभित्रको अग्लो टापुमा छ। भग्नावशेष करिव चार हेक्टर क्षेत्रफलमा छ। दरबार शैलीको भग्नावशेष फेला परेको क्षेत्रमा परम्परागत शैलीका माटोका पक्की इँटाहरु यत्रतत्र छरिएका छन्। इँटाहरु परम्परागत शैलीका चेप्टो र पातलो आकारका छन्। केही इँटाहरु जमिनमाथि नै छन् भने केही माटो र झारपातले पुरिएको अवस्थामा छन्। भग्नावशेष भएको ठाउँमा करिब ५०-६० वर्षअघि दरबार शैलीको घरको कोठैकोठासहितको जग पनि प्रष्टै देखिने गरेको स्थानीय ६५ वर्षीय फूलराम थारुले बताए। अहिले घरको जग देखिँदैन। जग माटोले पुरिएको स्थानीयको भनाइ छ।

‘बाउबाजेले त्यो स्थानलाई कन्या राजाको दरबार भएको भन्थे,’ फूलारामले भने, ‘कन्या राजा को हुन्, कहाँबाट आएका हुन् भन्ने बारे कसैलाई थाहा छैन।’ भग्नावशेष फेला परेको क्षेत्रमा धेरैपछिसम्म पनि विभिन्न प्रकारका देविदेवताका मूर्ति समेत रहेको स्थानीय वृद्ध सामुदायिक वनका हेरालु अंगानु थारुले बताए। स्थानीयको अनुरोधमा प्रदेश ५ का प्रदेश सांसद तिलकराम शर्मा, स्थानीय जनप्रतिनिधि, निकुञ्ज कर्मचारीसहितको टोलीले भग्नावशेष रहेको क्षेत्रको अवलोकन समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस