३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

विचार/व्लग

बिपीले पढेका ६ किताब

- शारदाप्रसाद दाहाल

बिपीले पढेका ६ किताब

भाद्र २४ गते २०७७

विश्वेश्वरप्रसाद कोइराला विश्व साहित्यका गहन अध्येता थिए। त्यही भएर उनका कृतिमा विश्व साहित्यिक प्रवृतिको प्रभाव र छाप पाइन्छ। उनको अध्ययनको दायरा कति व्यापक थियो भन्ने सुन्दरीजल जेल बस्दा लेखेका डायरीबाट स्पष्ट हुन्छ। उनले जेलमा रहँदा जे जति साहित्यिक कृतिहरू अध्ययन गरे, तिनका विषयमा आफ्ना धारणा डायरीमा लेखेका छन्। त्यो धारणामा उनको समालोचकीय दृष्टि झल्किन्छ।

जेलमा रहँदा बिपीले डेकार्टेको डिस्कोर्स अन द मेथड अफ राइट्ली कन्डक्टिङ द रिजनेबल भन्ने दार्शनिक निबन्ध पढ्ने कोशिस गरेको बताएका छन्। आफ्नो संवेगात्मक अस्थिरताका कारण उक्त निबन्ध पूरा अध्ययन गर्न नसकेको उनले स्वीकार गरेका छन्। फ्रान्सेली महाकवि वदलिएरका विषयमा पनि पढ्ने कोशिस गरेको तर मनको बेचैनीले पूरा पढ्न नसकेको उल्लेख गरेका छन्।

यो लेखमा मैले सन् १९६२ का विभिन्न दिनमा लेखिएका बिपीको डायरीबाट उनले पढेका किताब र त्यसमाथिको टिप्पणी समेट्ने प्रयास गरेको छु।

ताराशंकर बन्दोपाध्यायको सप्तपदि

सन् १९६२ मार्च १३ को डायरीमा बिपीले ताराशंकर बन्दोपाध्यायको सप्तपदि (हिन्दी अनुवाद) उपन्यास पढेको बताएका छन्। बिपीका अनुसार, यो उपन्यासले मानव जीवनमा ईश्वरीय प्रेरणाको महत्व देखाउन खोजेको छ। बिपी लेख्छन्, उपन्यासको भाषा राम्रो र कवितात्मक छ। तर, हामीमा तर्क क्षमता र नैतिक भावना हुने भएकाले मानव जीवनलाई उपन्यासकारले मानेजस्तो ईश्वरीय तपस्या मात्र मान्न सकिन्न।

बिपीमा भावनात्मक संवेदनशीलताभन्दा विवेक र तर्कमाथि बढी विश्वास देखिन्छ। त्यसैले उपन्यासमा व्यक्त ईश्वरीय अनुकम्पामाथि उनमा संशय रहेको प्रतीत हुन्छ। उनले यस उपन्यासलाई कथा, चरित्र विश्लेषण र कथाको स्वाभाविकताका दृष्टिले उत्कृष्ट रचना मानेका छैनन्। उनका विचारमा उपन्यासकारले जुन धर्म परिवर्तन, वर्णशंकर, पुत्रीको उद्विग्नता, पिताको अवज्ञाजस्ता विषय राखेका छन्, तिनले औपन्यासिक दुःखान्त सिर्जना गर्न सफल छैनन्।

उपन्यासकारको उद्देश्य कथाको स्वाभाविकताभन्दा ईश्वरीय प्रेरणा मानव जीवनमा कसरी प्रकट हुन्छ भन्ने प्रश्नमा केन्द्रित देखिन्छ। तर, कमजोर कथावस्तुका कारण त्यस्तो सन्देश पाठकसमक्ष पुर्‍याउन उपन्यास सफल नरहेको बिपीको मूल्यांकन छ।

ताराशंकर बन्दोपाध्याय बीसौं शताब्दीको तेस्रो दशकका प्रसिद्ध बंगाली लेखक एवं उपन्यासकारमा गनिन्छन्। उनले आफू वरिपरिको परिवेश समातेर उपन्यासको कथावस्तु तयार गर्ने गरेको पाइन्छ। उनले उपन्यास मात्रै ६५ वटा लेखेका थिए। यसअतिरिक्त अनेकौं कथा, नाटक, निबन्ध र आत्मकथा लेखेका थिए।

उनी बंगाली साहित्यमा यथार्थवादी साहित्यकारका रूपमा परिचित छन्। उनले सन् १९५६ मा साहित्य अकादमी पुरस्कार र सन् १९६६ मा ज्ञानपीठ पुरस्कार प्राप्त गरेका थिए।

अज्ञेयको नदीके द्वीप

जुन ७ को डायरीमा बिपीले यो पुस्तक बढो थकानको मनोदशामा पढिसकेको विचार व्यक्त गरेका छन्। उनका अनुसार यसको भाषा क्लिष्ट छ। अतिभावुकता, अनौठो वाक्य विन्यास र त्यसमाथि अंग्रेजी भाषाको हिन्दी तर्जुमाद्वारा आफ्नो विचार राख्न खोज्दा शैलीमा स्वाभाविकता आउन नसकेको उनको विश्लेषण छ।

बिपीले अज्ञेयको यो उपन्यासलाई औपन्यासिक कलाको दृष्टिबाट उच्च कोटीको साहित्यमा गणना गर्न नसकिने धारणा राखेका छन्। यसको कथावस्तु ग्राम्य परिवेशमा आधारित छ। नायक, नायिका, खलनायक सबै मनोवैज्ञानिक रूपले चनाखा छैनन्। उनीहरूमा चारित्रिक विशेषताको अभाव छ।

लेखकले कृतिमार्फत् भन्न खोजेको कुरा राम्री नखुलेको बिपीको मूल्यांकन छ। प्रत्येक लेखक आफूले पाठकलाई दिन खोजेको सन्देशबारे सचेत हुनुपर्छ भन्ने मान्यताका आधारमा उनले यस पुस्तकबाट आफूमा कुनै प्रभाव नपरेको निष्कर्ष निकालेका छन्।

अज्ञेय हिन्दी साहित्यका दिग्गज साहित्यकार हुन्। उनको वास्तविक नाम सच्चिदानंद हीरानन्द वात्सायन हो। उनले हिन्दी साहित्यमा लगभग सबै विधामा कलम चलाएका छन्। समालोचकहरूले अज्ञेयको वैविध्यपूर्ण जीवन अनुभव उनका रचनामा यथार्थवादी ढंगले व्यक्त भएको मानेका छन्। उनका सबै रचनामा उनको जीवनका विभिन्न कालको संवेदना अभिव्यक्त भएको छ।

करिब पाँच दशकको साहित्यिक यात्रामा उनका तीन उपन्यास प्रकाशित छन्( शेखरः एक जीवनी, नदीके द्वीप र अपने अपने अजनबी। बिपीले पढेको नदीके द्वीप सन् १९५१ तिर लेखिएको मनोवैज्ञानिक उपन्यास हो। यसमा यौन सम्बन्धलाई केन्द्रमा राखेर जीवनलाई हेरिएको छ।

स्टिफेन ज्वीगको मेरी अन्तोएनेट

बिपीले १९६२ जुन १८ को डायरीमा उल्लेख गरेको स्टिफेन ज्वीगको यो पुस्तक आत्मकथा हो। यसलाई बिपीले निकै रोचक भनेर टिप्पणी गरेका छन्। उनी लेख्छन्- मेरी अन्तोएनेटको जीवन चरित्रलाई स्टिफेनले रोचक शैलीमा प्रस्तुत गरेका छन्।

मेरी एक साधारण नारी भएर पनि उनले इतिहासको एउटा असाधारण परिस्थितिमा दुःखान्त पात्रका रूपमा उपस्थित भएर गौरवमय अन्त्य स्वीकार गरेकी थिइन्। बिपीले उक्त पुस्तक अध्ययनपछि आफूमा एक किसिमको उदासीको भाव महशुस गरेको बताएका छन्। वास्तवमा कुनै कृति पढेपछि हामी सबैमा एक किसिमको भाव उत्पन्न हुन्छ। त्यस्तो भाव प्रसन्न, उदासी, सहानुभूति वा जे पनि हुन सक्छ।

प्रायस् उपन्यास, कथाका पात्रहरूको चरित्रअनुसार हाम्रा भाव तीसँग तादात्म्य वा बेमेल हुन जान्छन्। बिपीलाई यो आत्मकथा पढेपछि ती पात्रप्रति सहानुभूति जागृत भएको पाइन्छ। उनले लेखेका छन्( अन्तोएनेटप्रति मेरो सहानुभूतिको भावना जागृत भएको छ। उनको व्यक्तिगत विपत्तिलाई आफ्नै विपत्तिजस्तो अनुभव गर्न थालेको छु।

स्टिफेन ज्वीगको बिवेर अफ पिटी

बिपीले त्यसै वर्ष अक्टोबर २० को डायरीमा यो किताब पढ्न थालेको उल्लेख गरे पनि यसबारे खासै धारणा राखेका छैनन्। संक्षिप्त टिप्पणी मात्र छ। उनको विचारमा ज्वीगलाई अलिक लम्ब्याएर भन्ने बानी छ। प्रत्येक कुरा गहिरोसँग स्पष्ट पार्न खोज्छन्। उनले उपन्यासको भाषा र शैलीको प्रशंसा गरेका छन्। पछि २०१९ कात्तिक ६ गतेको डायरीमा यही किताबको केही समीक्षात्मक मूल्यांकन समावेश छ।

उनले यसमा ज्वीगलाई प्रथम श्रेणीका लेखक मानेका छैनन्। उनका रचनामा मानवीय समस्या विश्लेषणको अभाव रहेको बिपी लेख्छन्। पात्रहरूको चरित्र चित्रणमा कुनै मनोवैज्ञानिक सूक्ष्मता पनि नपाइएको दोष देखाएका छन्। उनले यस उपन्यासका पात्रको चरित्र विश्लेषण गर्दा दयाका दुई रूप वर्णन गरेका छन्( भावात्मक दया र रचनात्मक दया।

उपन्यासको पात्र डा. कन्डोरले रचनात्मक दयाको स्वरूप देखाएका छन्। उनले आँखा नदेख्ने केटी इडिथसँग विवाह गर्नु रचनात्मक दया हो। ज्वीगले मनुष्यलाई दयादेखि सावधान रहन सन्देश दिएको बिपीको भनाइ छ।

बिपीले ज्वीगको लेखनशैलीका विषयमा पनि आफ्नो धारणा राखेका छन्। उनको विचारमा ज्वीगको लामो लेख्ने बानी छ। लेखकले कृतिमार्फत् भन्न खोजेको कुरा छोटो, प्रभावयुक्त र स्पष्ट रूपमा व्यक्त गर्न सक्नुपर्छ। यस्तो विशेषता ज्वीगको लेखनशैलीमा महशुस गर्न नसकेको बिपीको तर्क छ।

उनमा लेख्दै जाँदा बीचबीचमा सूक्तिपूर्ण अभिव्यक्ति घुसाउने प्रवृत्ति देखिन्छ। त्यस्ता अभिव्यक्ति पढ्दा राम्रो लागे पनि विषयवस्तुको गहनताभन्दा बुद्धि, कौशल र शब्द चातुर्य बढी रहन्छ। बिपीको सुझाव छ- लेखनमा सूक्तिपूर्ण अभिव्यक्तिबाट सावधान हुनुपर्ने हो कि !

स्टिफेन ज्वीग अस्ट्रियन कवि, उपन्यासकार, नाटककार, पत्रकार र आत्मकथा लेखकका रूपमा विश्व साहित्यमा चिनिएका व्यक्ति हुन्। उनको साहित्यिक करिअरले सन् १९२० देखि १९३० सम्म निकै प्रसिद्धि पाएको थियो। उनका धेरै कृति अनुवाद भएर पढिएका छन्। उनले वालजाक, डिकेन्स र दोस्तोव्यस्कीजस्ता प्रसिद्ध साहित्यकारबारे लेखेका थिए। उनलाई दोस्तोव्यस्की परम्पराका सिद्धहस्त लेखकका रूपमा लिने गरिन्छ।

उनी फ्रयाडको मनोविश्लेषण सिद्धान्तबाट प्रभावित थिए। त्यसैले होला, यो उपन्यासमा त्यसको प्रभाव देखिन्छ।

गुरुदत्तको सहस्त्रबाहू

अक्टोबर २६ को डायरीमा बिपीले गुरुदत्तको सहस्त्रबाहू उपन्यास पढेको उल्लेख गरेका छन्। उपन्यासको विषयवस्तु विज्ञान र धर्मबीचको द्वन्द्वमा आधारित छ।

बिपीका विचारमा यस उपन्यासमा भौतिकवाद र आध्यात्मवादका विचार उठाइएको छ। बिपीले उपन्यासको अन्तर्वस्तु धर्म र विज्ञानका सन्दर्भमा बढो सन्तुलित विचार प्रस्तुत गरेका छन्। आध्यात्मवादलाई जीवनको आधार मान्दा रुढीवादसँग जोड्ने प्रयास गरिन्छ, जसले वितृष्णा पैदा हुन्छ भन्ने बिपीको मत छ।

अर्कातिर भौतिकवादको आधार पनि स्वार्थ, इन्द्रियसुख, असन्तोष आदि हुन्। बिपीको विश्लेषण छ, एकांगी र चरमस्थितिका कुनै पनि विचार जीवनका लागि घातक हुन्छन्। लेखकले आध्यात्मवादको पक्ष लिएको हुँदा उनी अन्धविश्वास र रुढीवादको पक्षपाति भएको बिपीको ठहर छ।

उनले गुरुदत्तलाई सफल लेखक मानेका छैनन्। भाषा, औपन्यासिक कलाको दृष्टि र विचारबाट यस उपन्यासलाई साधारण मानेका छन्।

गुरुदत्त हिन्दी साहित्यका ठूला उपन्यासकार मानिन्छन्। उनले लगभग दुई सय उपन्यास, संस्मरण, जीवन चरित्र आदि लेखेका छन्। भारतीय इतिहास, धर्म, दर्शन, सस्कृति, विज्ञान, समाजशास्त्र आदि विविध विधामा कलम चलाएका उनलाई सिद्धहस्त लेखकको कोटीमा राखिएको छ।

अर्नेस्ट हेमिंगवेको फर हुम द बेल टोल

बिपीले यो उपन्यासको १५० पेज पढेको उल्लेख गरेका छन्। पूरै अध्ययन नगरेको हुँदा संक्षिप्त टिप्पणी मात्र गरेको देखिन्छ।

बिपीका विचारमा हेमिंगवेको लेखनशैली यो उपन्यासमा प्रतिविम्बित भएको पाइँदैन। उनका दृष्टिमा परिष्कृत शैलीले पाठकको हृदयमा एक किसिमको प्रभाव उत्पन्न गर्छ, तर यो उपन्यासमा त्यसको अभाव छ। परम्परागत शैलीमा लेखिएको हुँदा पाठकको रुचिमा तीव्रता आउन सक्दैन। समालोचकहरूले पनि यसलाई उत्कृष्ट मूल्यांकन नगरेको उनको भनाइ छ।

अर्नेस्ट हेमिंगवे प्रसिद्ध अमेरिकी उपन्यासकार हुन्। यो उपन्यास सन् १९३० को स्पेनिस गृहयुद्धमाथि लेखिएको छ। यसको प्रकाशन सन् १९४० मा भएको थियो। हेमिंगवेले उपन्यासको शीर्षक जन डोनको यसै नामको महाकाव्यबाट लिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस