३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

३१ भदौ , २०७७

सिन्धुपाल्चोकका सिडिओ भन्छन्– भूकम्पले पहिरोको थप जोखिम बढ्यो

प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइनसकेको बताए
सिन्धुपाल्चोकका सिडिओ भन्छन्– भूकम्पले पहिरोको थप जोखिम बढ्यो

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपनि हालसम्म क्षतिको कुनै विवरण नआएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

यद्यपि यो भूकम्पले पहिरोको जोखिम थप बढाएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । त्यसैले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको उनले बताए ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो ।

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।

बुधबार बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले भने, ‘पहिरोको जोखिम बढ्यो, आर्मी र एपीएफलाई अलर्ट बस्न भनेको छु ।’

‘भूकम्पले क्षति भएको छैन’

प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइनसकेको बताए ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले पनि जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको  बताए ।

आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै उनले हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस