२१ आश्विन २०७७, बुधबार || 07 Oct 2020, Wednesday

१ अर्ब ६३ करोड लागत अनुमान

गण्डकी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला

टी–२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने क्रिकेट मैदान निर्माण कम्तीमा ४ वर्ष लाग्ने अनुमान गरिएको छ
गण्डकी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला

 

असोज २० गते २०७७

गण्डकी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको काम थालनी भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । बहुवर्षीय आयोजनाका रुपमा अन्य सरकारसँगको समेत सहकार्यमा रंगशाला निर्माण हुने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
क्रिकेट मैदान निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बीआरएस इन्जिनियरिङ सोलुसन प्रालिले तयार पारेको डीपीआरमा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण गर्न १ अर्ब ६३ करोड लागत अनुमान गरिएको छ ।

 

१ सय २३ रोपनी क्षेत्रफलमा बन्ने रंगशाला १८ हजार प्याराफिट क्षमताको हुने छ भने ७ वटा पिच बन्ने डीपीआर प्रतिवेदनमा छ । ९सय खेलाडी अट्ने कक्ष, १ सय २० भीभीआईपी र १२ सय भीआइपी सिट रहने छ । ४ सय गाडी र ६ सय वटा मोटरसाइकल अट्ने पार्किङ बनाउन डीपीआरमा प्रस्ताव गरिएको छ । ७० सवारी अट्ने भीआइपी पार्किङ रहने छ । १ सय जना अट्ने मिडिया कक्ष रंगशालामा हुने छ ।

टी–२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने क्रिकेट मैदान निर्माण कम्तीमा ४ वर्ष लाग्ने अनुमान गरिएको छ ।

क्रिकेट मैदान बनाउने भनिएको जग्गाको पूर्व भाग अघिल्लो साल सेती नदीले कटान गरेको थियो । नदीले बहाव परिवर्तन गर्दा फेरि अर्को ठाउँमा हान्ने सम्भावना छ । बर्सेनि नदीले कटान गरिएको जग्गामा ठूलो बजेटको रंगशाला प्रदेश सरकारले बनाउँछ त ?

प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘तत्काल जग्गा संरक्षणका काम थाल्छौं । ठूलो बजेटको आयोजना भएकाले बहुवर्षीय आयोजनामा समावेस गरेर निर्माण थाल्छौं ।’ रंगशाला निर्माणका लागि चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिइन् । ‘यो बजेटबाट तत्काल तटवन्ध निर्माण गर्ने काम अगाडि बढाउँछौं,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौं ।’

अन्तर्राष्ट्रिय क्रिकेट आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा सूचीकृत गर्न प्रदेश नीति तथा योजना आयोगमा पठाइएको मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्लेले जानकारी दिए । रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन ९इआईए०को प्रक्रिया अगाडि बढेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस