२२ आश्विन २०७७, बिहीबार || 08 Oct 2020, Thursday

दक्षिणपन्थको सबभन्दा ठूलो दुस्मन बौद्धिक तप्का हुन्छ

सबै दक्षिणपन्थी एक हौं

दक्षिणपन्थको राजनीतिक मूल चरित्र भनेको शक्तिको पूर्ण केन्द्रीकरण र एकल व्यक्तिको सर्वोच्चता भएर फासीवादी यात्रा हो
- नरेन्द्रजंग पिटर

सबै दक्षिणपन्थी एक हौं

असोज २२ गते २०७७

अहिले संसारभर बहुसंख्यकवाद विभिन्न रूपमा मौलाइरहेको छ। प्रत्यक्ष उदाहरण छिमेकी भारत बन्यो। त्यसका तरंग मिडिया र सांस्कृतिक रूपमा हामीले पनि झेलिरहेका छौं। गत साता पूर्व मधेस–तराई र सुदूरपश्चिम पहाडका दुई संवेदनशील लेखकले बलिउडमा नसा र नायक सुशान्त सिंह राजपुतको मृत्युबारे गम्भीर तर्क गर्दै भावनामा बगे। वर्चश्ववादी चिन्तन र अभ्यासले उदारवादको त हुर्मत त काढेकै थियो, घृणाको मनोभाव पनि धेरै दिनदेखि फैलाउँदै थियो। अहिले त झन् मिडिया चेत न्यून भएको भारतीय समाज मात्रै नभई नेपाली समाज पनि प्रभावित र सिकार बन्दैछ।

छलफलमा झल्किन्थ्यो– सत्ताप्रायोजित गोदी मिडियाका तरंग राजनीतिक सीमा मात्रै छिचोल्दैनन्, संवेदनशील मस्तिष्कसमेत खजमज्याउँदै छ। टीभी दर्शक लोभ्याउने टीआरपी खेल मात्रै नभएर गम्भीर विषय विषयान्तर गर्ने छद्म योजनाको सिकार लम्पट मस्तिष्क परेकै थिए। अझ आलोचनात्मक चेतसमेत फसिरहेका छन्। न्युज च्यानल र रियलिटी सोमा फरक नभएकाले दर्शक भीडमा फेरिँदैछन्। त्यो राज्यप्रायोजित उग्र दक्षिण यात्रा सहजै बुझ्न सकिन्छ। म्याकर्थी कालमा हलिउडमा आक्रमण भएजस्तै बलिउडको उदारवादी जनपक्षीय चेतलाई चित्रनगरीमा फेर्ने सांस्कृतिक राष्ट्रवाद अहिले कला, साहित्य, बुद्धिजीवी तप्कामाथि आक्रमक देखिँदो छ। सुशान्तको आत्महत्या पोस्टमार्टम रिपोर्ट आइसक्दा पनि आफ्ना हर्कत रोकेका छैनन् अझ हाथिरसमा थपियो। रेडियो रुवान्डाको जस्तै हुतु–तुत्सीबीच वैमनस्य फैलाउने कर्ममा गोदी मिडिया देखिए।

संसारकै दक्षिपन्थी समूह विभिन्न रूप र चरित्रमा फरक देखिए पनि उनीहरूको अभ्यास र व्यवहार भने एउटै देखिन्छ। नवउदारवाद, लोककल्याणकारी राज्य, समाजवादी प्रजातन्त्र, कम्युनिज्म सबै उनका दुस्मन बने भने बहुसंख्यकवाद हावी भएर अल्पमतप्रति बज्रिरहेको छ। यसैलाई हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्टिभन लेभिटस्की र डेनियल जिब्लाटले ‘हाउ डेमोक्रेसीज इज डाई’ भन्ने पुस्तकमा सविस्तार गरेका छन्। सत्ताको केन्द्रीकरण गरेर कानुन, नियम, संविधान मनमर्जी चलाउनु विशेषता हो। त्यसैले अघोषित ‘संसारका सबै दक्षिणपन्थी एक हौं’ भन्ने भयो। दक्षिणपन्थको राजनीतिक मूल चरित्र भनेको शक्तिको पूर्ण केन्द्रीकरण र एकल व्यक्तिको सर्वोच्चता भएर फासीवादी यात्रा हो।

फाँसीवादको चरित्र संकेत

रूप फरक हुन सक्छन् चरित्र एउटै हुन्छ। फासीवादी शासन हिटलर (जर्मनी), मुसोलिनी (इटली) फ्रेंको (स्पेन), सुहार्तो (इन्डोनेसिया), और पिनोचेट(चिली) को सूक्ष्म अध्ययन गरेका राजनीतिक विज्ञानी डा. लारेन्स ब्रिटले फाँसीवादका १४ लक्षण संकेत गरेका छन्। (१) शक्तिशाली एवं सतत राष्ट्रवाद— फासिस्ट शासनले राष्ट्रवादका आदर्श वाक्य, गीत, नारा, प्रतीक र अन्य सामग्री निरतर प्रयोग गर्छन्। (२) मानव अधिकारका मान्यताको तिरस्कार। (३) दुस्मन या गद्दार चिन्ने एकीकृत कार्ययोजना। (४) मिलिट्री वर्चश्व। (५) लैंगिक विभेदीकरण। (६) नियन्त्रित मास मिडिया। (७) राष्ट्रिय सुरक्षाको प्राथमिकता। (८) धर्म र सरकारको अपवित्र गठबन्धन। (९) कर्पोरेट पावर संरक्षित। (१०)श्रमशक्तिलाई दबाउनु। (११) बुद्धिजीवी र कला साहित्यप्रति घृणा (१२) अपराधको दण्ड र सजायप्रति पुलिसलाई असीमित अधिकार। (१३) उग्र भाइभतिजावाद र भ्रष्टाचार —मित्र समूहको सत्तामा नियन्त्रण। (१४) चुनाव वा सामूहिक निर्णयलाई षड्यन्त्र र प्राविधिक रूपमा लिइनु।
मैमत्त पुँजीलाई राजनीतिक सत्ता कब्जा गर्नुपर्छ। उदारवाद सधैं मौलिक चरित्रमा टिक्न पनि सक्दैन, अनुदारवादी बन्न बाध्य हुन्छ। पुँजीलाई नाफा चाहिन्छ, बजार विस्तार र कब्जा गर्नुपर्छ। उसका चरित्रसँगै राज्यका चरित्र फेरिँदै जान्छन्। उपनिवेशवाद, साम्राज्यवाद, युद्ध, निगमीकरण र अन्ततोगत्वा फाँसीवादी। व्यवस्थाको जेजस्तो नाम दिए पनि लोककल्याणकारी व्यवस्था विस्थापन गर्न अर्थात् समाजवादी प्रजातन्त्र वा समाजवाद, वैज्ञानिक चिन्तन, आलोचनात्मक चेत निषेध गरिन्छन् तब सत्ता, मिडिया, संस्कृति, इतिहासको व्यवस्थापनले नयाँ सत्ता प्रतिष्ठान तयार हुन्छ। सामाजिक असन्तोष र विद्रोहको दिशा मोडेर आवेग तयार गर्न नयाँ तर्क वा न्यारेटिभ तयार गरिन्छ। कृत्रिम भय फैलाइन्छ। बहाना खोजिँदै पहिलो निसानामा बौद्धिक र सांस्कृतिक समूह पर्छन्। भारतीय उग्र दक्षिणपन्थ र त्यसका प्रभाव र अन्तर्राष्ट्रिय उल्लिखित आयामसँग जोडेर हेरौं।

अल्पमतप्रतिको घृणा र अपराध

अन्धराष्ट्रवाद र बहुसंख्यकवाद नै दक्षिणपन्थको आत्मा हो। अल्पसंख्यक र दलितमाथिको आक्रमण, बलात्कार र हत्या त्यसका नजिर। बहुसंख्यकले गरेका सामूहिक अपराधलाई सत्ता प्रतिष्ठानको संरक्षण। भीमाकोरो गाउँको मुद्दा, कोरोना र तबलिसी जमात, जेएनयू र चेतनाका दुस्मन, दलित जागृति होस् या गौगुन्डाको अपराध, बलात्कार र हत्यालाई मोड्ने प्रयास। जबसम्म अपराधलाई अपराधीको व्यक्तिगत आचरणसँग मात्र जोड्दै सामूहिक बचाउ गरिन्छ, सामाजिक र सांस्कृतिक मनोभाव बनाइँदैन तबसम्म अपराधका कारक पक्ष खोतलिँदैनन्। प्रत्यक्ष प्रमाणमा खेलिन्छ। न्याय वर्चश्वशालीको कब्जामा रहन्छ। पुँजीका चरित्रसँगै राज्य र समाजको नैतिक परिभाषा फेरिँदै जान्छन्। वर्चश्वशाली सामू न्याय कमजोर बनेर असक्तको अभिभावक बन्न सक्दैन। शासक वर्ग अदालती फैसलामा आफ्ना सोच थोपर्छन्।

बुद्धिजीवीप्रति घृणा र हत्या

दक्षिणपन्थको सबभन्दा ठूलो दुस्मन बौद्धिक तप्का हुन्छ। धार्मिक अन्धविश्वास, घृणा र असहिष्णुता त फैलाउँछ नैै, त्यसले वैज्ञानिक र तर्कवादी चेतमाथि हावी हुन नसक्दा आक्रामक र हत्या, कानुनी खेलमा झेल गर्छ। विपक्षीलाई न्यायिक भय पैदा गरिन्छ। बुद्धिजीवी, कलाकार, साहित्यकार, सिनेकर्मीले यसै पनि असहिष्णुता विरुद्ध सम्मान र पुरस्कार फिर्ती अभियानले भारतीय सत्ता बर्बराएको थियो नै।

पत्रकार गौरी लंकेश, तर्कवादी गोविन्द पंसारे, साहित्यकार एमएम कलबुर्गी, अन्धविश्वासविरोधी अभियन्ता नरेन्द्र दाभोलकरको हत्या र भिमा कोरेगाउँ केसमा अर्वान नक्सल भनेर माक्र्सवादी, समाजवादी, उदारवादी, मानवाधिकारवादी, पत्रकार, लेखक, वकिल र यहाँसम्मकि कांग्रेस एवं दक्षिणपन्थसँग जोडिएका समेत आक्रमणमा परे। ९० प्रतिशत अपांग दिल्ली विश्वविद्यालयका जेएन साईबाबा, प्रोफेसर एमटी हेनी बाबु, सुधीर धावले, शोमा सेन, महेश राउत, रोना विल्सन, सुरेन्द्र गाडलिङ, कवि बरबरा राव, प्रख्यात वकिल एव अधिकारकर्मी सुधा भारद्वाज, अरुण फरेरा, बर्नोन गोन्साल्विस, दलित चिन्तक आनन्द तेलतुम्बडे र चर्चित अधकिारकर्मी गौतम नवलखा जस्ता व्यक्तित्व छन्। दिल्ली दंगा भड्काउने भन्दै दिल्ली विश्वविध्यालयका प्राध्यापक अपूर्णनन्द र किसान नेता योगेन्द्र यादवसम्म निसानामा परे। पिजरा तोड, साहिनवाग आन्दोलन घृणाका सिकार भए। मुस्लिम भएकै कारण डा. काफिल त उत्पीडनमा क्रूर जेल यातना परे नै।

नयाँ कथा कथ्नु र निमित्त कारण खोज्नु

बलिउड ध्वस्त र आलोचक कलाकार निसाना बनाउन जसरी सुशान्त केस र ड्रग केस उछालियो त्यसैगरी दलित आन्दोलनको ऐतिहासिक प्रतीक भिमाकोरेगाउँ केसमा अर्वान नक्सलको न्यारेटिभ तयार गरियो। दिल्लीको निर्भया केसजस्तै हाथिरस केसमा दलित महिलाको सामूहिक बलात्कार र हत्या विरोधलाइ देशीविदेशी संगठित राज्यविरुद्ध षड्यन्त्रका नाम अहिले दिइँदैछ। विरोधी दमनका लागि आयकर, राजस्व विभाग र सीबीआई प्रयोग गरिँदैछन्। कोरोनाको राज्यसत्ताको विफल, बढ्दो बेरोजगार, गिर्दो अर्थतन्त्रको मुद्दालाई अन्यन्त्र मोडन सत्तालाई नयाँ कथा रच्नुपथ्र्यो नै।

अन्त्यमा,

अहिले संसारमै उग्र दक्षिणपन्थ मौलाएर घृणाको राजनीति गरिरहेको छ। त्यो फाँसीवादतर्फ लम्किरहेको छ। रूपमा फरक भए पनि चरित्र संस्थागत नश्लवाद एकै प्रकारका छन्। राज्य एक व्यक्तिकेन्द्रित भइरहेको छ भने सन् १९३३ मा हिटलरले पार्टीको सम्पूर्ण अधिकार व्यक्ति र यस गुटमा केन्द्रित गरे झैं सत्ताले हरेक देशका पार्टी खुम्चँदैछन्। सदन र न्यायालय अर्धन्यायिक निकाय, संवैधानिक अंगको कुनै अर्थ राखिन छाडिएको छ। त्यसैले स्टिभन लेभिटस्की र डेनियल जिब्लाटलले इज डेमोक्रेसी डाइ वा डा. लारेन्स ब्रिटका फाँसीवादका १४ लक्षण संसारभर फरकफरक अनुहारमा देखिँदैछन्। उदारवाद र लोककल्याणकारी चिन्तन र अभ्यास बबुरो बन्दैछन्। जब कवि चेत त आवेगको लप्कामा घायल हुन सक्छ भने सीमारहित उत्तेजक गोदी मिडियाबाट हामी कसरी सुरक्षित हुन सक्छौं ! उसको ‘संसारका सबै दक्षिणपन्थी एक हौं’ भन्ने आवेग कर्पोरेट मिडिया जोगिने कसरी ! सत्ता प्रतिष्ठान जनतालाई लम्पट भीडमा फेर्दै छ। होसियार!

साभार अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस