६ मंसिर २०७७, शनिबार || 21 Nov 2020, Saturday

मुख्य समाचार

कोरोना खोप : नेपालका लागि अझै छैन सुखद् संकेत

कोरोना खोप : नेपालका लागि अझै छैन सुखद् संकेत

कोरोना भाइरस (कोभिड-१९) बाट आक्रान्त विश्व समुदायलाई राहत दिने खबर बुधबार आयो, अमेरिकी कम्पनी पिफाजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखियो ।

त्यसको केही दिनमा अमेरिकी कम्पनी मोडर्नाले पनि आफूले विकास गरेको खोप ‘एमआरएनए-१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत रहेको बताएको छ । रुसी खोप स्पुतनिक-भी पनि ९२ प्रतिशत प्रभावकारी देखिएको खबर आएको थियो ।

एकपछि अर्को खोप कोरोनाविरुद्ध प्रभावकारी देखिएको खबर आएकै बेला नेपालमा पनि सरकारले भ्याक्सिन ल्याउने कानुनी बाटो खुला गर्दै ‘औषधि अध्यादेश २०७७’ ल्याएको छ ।

यस्ता खबरहरू पढेका धेरैलाई लागेको हुन सक्छ, अब हामीले पनि कोरोना खोप लगाउनेछौं ।

साँच्चै त्यही हो त अवस्था ? यसबारे चर्चा गर्नुपूर्व विकासका क्रममा रहेका खोपहरूबारे चर्चा गरौं ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिलेसम्म १२ वटा खोपको तेस्रो अर्थात् अन्तिम चरणको क्लिनिकल ट्रायल भइरहेको छ । २५ वटा खोप दोस्रो र २० वटा खोप पहिलो चरणको क्लिनिकल ट्रायलकै क्रममा छन् । यसमध्ये प्रारम्भिक नतिजा सकारात्मक देखिएका खोपहरू नै पहिला आउने देखिन्छ ।

फाइजर र बायोएनटेकले आफूहरूले संयुक्त रुपमा विकास गरेको खोपको अन्तिम चरणको मानव परीक्षणको नतिजामा ९५ प्रतिशत प्रभावकारी पाइएको बताएको छ । अब आपतकालीन प्रयोगका लागि अनुमति माग्ने र अबको केही महिनामा कोरोनाविरुद्धको खोप बजारमा पठाउन सकिने दाबी ती कम्पनीको छ।

यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा र सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रामा खोप आपूर्ति गर्नसक्ने निर्माता कम्पनी फाइजरले बताएको छ ।

अर्को अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप पनि ९४.५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको दाबी छ । उसले पनि आपतकालीन प्रयोगका लागि आवदेन दिने र अबको केही महिनामा खोप बजारमा पठाउने दाबी गरिरहेको छ । उसले यस वर्षको अन्तिमसम्म दुई करोड डोज खोप तथा २०२१ का लागि ५० करोडदेखि एक अर्ब डोजसम्म खोप निर्माणको लक्ष्य लिएको छ ।

तेस्रो चरणको मानव परीक्षण नगर्दै रुसले मान्यता दिएको खोप ‘स्पुतनिक भी’ पनि तेस्रो चरणको मानव परीक्षणमा सफल भएको र ९२ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

यस्तै, बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एक्स्ट्राजेनेका कम्पनीसँग मिलेर खोप विकास गरिरहेको छ । यसको अन्तिम चरणको मानव परीक्षणको नतिजा आउन बाँकी छ । तर एक्स्ट्राजेनेकाले आफ्नो उत्पादन क्षमता भने बढाउन थालिसकेको छ । यो खोप तयार भएर आउँदासम्म आफ्नो खोप उत्पादनको क्षमता तीन अर्ब डोज हुने उसले बताएको छ ।

चीनमा पनि सिनोर्फमले विकास गरेको दुई र सिनोभ्याकको एक गरी तीन वटा खोप तेस्रो चरणको मानव परीक्षणमा छन् । तीनवटै खोपलाई चीनले आपतकालीन प्रयोगको लागि अनुमति दिइएको छ ।

सिनोर्फमका अनुसार अहिलेसम्म चीनमा १० लाख मानिसले खोप लिइसकेको र चीनमा खोप लगाएर बाहिर गएका कर्मचारी, विद्यार्थीहरू र कूटनीतिज्ञलाई संक्रमण नदेखिएको दाबी गरेको छ । यो खोपको कुनै नकारात्मक असर नदेखिएको पनि दाबी गरिएको छ ।

यद्यपि, अझै चिनियाँ खोपहरूले अन्तिम चरणको मानव परीक्षणको नतिजा भने सार्वजनिक गरेका छैनन् । अन्तिम चरणको परीक्षणमा रहेका खोपहरू सन् २०२० को अन्त्यसम्म वा २०२१ को सुरुवातमा बजारमा आउने देखिएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

तर बजारमा आउँदैमा नेपालमा नै खाेप आइहाल्छ भन्ने छैन । पाउने सम्भावना पनि कमै देखिएको छ । अहिलेसम्म नेपालको आश ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराउने कोरोना खोपमा नै टिकेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम गाभीले नेपालको जनसंख्याको १० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको दाबी गर्छन् । उनका अनुसार पहिलो चरणमा तीन प्रतिशत मात्र भ्याक्सिन उपलब्ध गराउनेछ र त्यो खोप फ्रन्टलाइनरहरूलाई दिइनेछ ।

के हो कोभ्याक्स ?

विश्वका सबै मुलुकलाई समयमै खोप उपलब्ध गराउने उद्देश्यले डब्ल्यूएचओले अघि सारेको कार्यक्रम हो, कोभ्याक्स । यो कार्यक्रममार्फत कम तथा मध्यम आय भएका ९२ देशलाई एक अर्ब डोज कोरोना खोप दिलाउने लक्ष्य छ । योजनाअनुसार हरेक देशले जनसंख्याको १० प्रतिशत डोज पाउने छ ।

बुझ्नुपर्ने के छ भने कोभ्यासका लागि कति खोप जम्मा हुन्छ र कुन देशले कति पाउँछ भन्ने अझै टुङ्गो छैन । खोप विकास गरिरहेका कम्पनीहरूसँग विश्वका धनी मुलुकहरूले उल्लेख्य मात्रमा भ्याक्सिन किन्न सम्झौता गरिसकेका छन् । त्यसअनुसार रकम पनि बुझाएका छन् । त्यसैले उत्पादन भएका खोपमध्ये कम मात्र कोभ्याक्स कार्यक्रमलाई दिन सक्छन् । यसो भएमा सबै मुलुकलाई एकसाथ खोप उपलब्ध गराउने डब्ल्यूएचओको योजना कार्यान्वयन गर्न निकै कठिन हुने देखिएको छ ।

संक्रामक रोग विशेषज्ञ डाक्टर किरणराज पाण्डे पनि कोभ्याक्समार्फत खोप आउन अझै लामो समय लाग्ने बताउँछन् । ढिलो मात्र होइन, थोरै मात्र आउने भएकाले कोभ्याक्समा मात्र भर पर्न नहुने उनको राय छ । उनी भन्छन्, ‘नेपालका लागि अझै सुखद् संकेत देखिएको छैन तर हामीले आन्तरिक तयारी गर्दै गर्नुपर्छ ।’

नेपालका लागि अझै छैन सुखद् संकेत

पिफाइजर-बायोएनटेक र मोडर्नाले विकास गरेको खोप नेपालको लागि सुखद् समाचार नभएको विज्ञहरू बताउँछन् । देशभित्रका पूर्वाधार अभावका कारण पनि यो खोपबाट नेपाललाई तत्कालै लाभ हुन नसक्ने स्वास्थ्य सेवा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतम बताउँछन् ।

फाइजर र बायोएनटेकले विकास गरेको खोप माइनस ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने भनिएको छ । तर यसरी खोप भण्डारण गर्ने पूर्वाधार नेपालमा छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भने अरू खोपको अन्तिम चरणको नतिजा नआएकाले अहिले नै हतारो गर्न आवश्यक नरहेको बताउँछन् । ‘फाइजर नै अन्तिम विकल्प होइन, त्योबाहेक अरू १० वटा तेश्रो चरणको क्लिनिकल ट्रायलमा रहेका खोपको के कस्तो प्रगति हुन्छ भन्ने हेरिरहेका छौं’ डाक्टर गौतम भन्छन्, ‘अरू खोपको नतिजा नआएसम्म हतारिनु पर्दैन ।’

यद्यपि खोप विकासका प्रकियासँग त्यसलाई नेपालमा भित्र्याउन आवश्यक पर्ने श्रोत साधनबारे पनि मन्त्रालयले आन्तरिक अध्ययन गरिरहेको उनले बताए । उनले भने, ‘फाइजरबाहेक अरू खोपको नतिजा हेरेर मात्र संरचना बनाउनुपर्छ ।’

संक्रामक रोग विशेषज्ञ पाण्डे पनि मोडर्ना र फाइजरको खोप ल्याउने प्राविधिक तयारीमा जुट्नु व्यावहारिक नहुने बताउँछन् । उनका अनुसार दुवै कम्पनीले एक वर्षमा उत्पादन गर्नसक्ने डोजका लागि अहिले नै बुक भइसकेको छ र नेपालले चाहँदैमा उपलब्ध हुन्न । उनले अघि भने, ‘तेस्रो चरणको ट्रायलमा रहेका अन्य खोप ल्याउन नेपालले पहल गर्नु प्रभावकारी कदम हुन्छ ।’

नेपालले समयमै पहल गर्ने हो भने भारतीय खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई)ले उत्पादन गर्ने खोप सबभन्दा पहिला आउन सक्छ । आफूले एक्स्ट्राजेनेकाको चार करोड डोज खोप तयार पारेको र दोस्रो तथा तेस्रो चरणको मानव परीक्षणको लागि अनुमतिको लागि आवेदन दिएको बताएको थियो ।

यसवर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा खोप उपलब्ध हुने सिरमका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले हालै मात्र जानकारी दिएका छन् । २०२१ फेब्रुअरीसम्म १० करोड डोज उत्पादन गर्ने लक्ष्य छ र कुनै अप्रत्यासित अवस्था नआए भारतमा मार्च/अप्रिलमा सर्वसाधारणले यो खोप पाउने भनिएको छ ।

बंगलादेशको औषधि निर्माता कम्पनी बेक्जिम्को फर्माले नोभेम्बर पहिलो साता नै ३ करोड डोज भ्याक्सिनका लागि भारतीय कम्पनी सिरमसँग समझदारी गरेको छ । यसअनुसार सिरमले हरेक महिना ५० लाख डोज भ्याक्सन बंगलादेशी कम्पनीलाई उपलब्ध गराउनेछ ।

नेपालले पनि समयमै कूटनीतिक लगायतका पहल गर्ने हो भने यो खोप सबैभन्दा छिटो आइपुग्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । नेपालमा पनि खोपमा कसले लगानी गर्ने, कसरी वितरण गर्ने जस्ता विषय टुङ्गो गर्दै जानुपर्ने विज्ञहरू बताउँछन् । ‘सरकारले नै ल्याउने हो कि निजी कम्पनीले ल्याएर सरकारी प्रणाली अनुसार बाँड्ने भन्ने विषयमा निर्णय भए प्रकिया सुरु गर्न सजिलो हुन्छ’ डाक्टर पाण्डे भन्छन्, ‘खोप कहाँबाट ल्याउने र कुन प्रकियामा ल्याउने भन्ने प्रष्ट भइयो भने अगाडि बढ्न सहज हुन्छ ।’

खोप महाशाखाका प्रमुख गौतम भने खोप ल्याउन सरकार कानुनी, आर्थिक र प्राविधिक तयारीमा जुटिसकेको बताउँछन् । सरकारले खोप विज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक श्यामराज उप्रेतीको नेतृत्वमा समिति नै बनाएको छ । कुनै पनि खोपलाई नियामक निकायले स्वीकृति नदिएकाले भ्याक्सिनको संख्या, वितरण, भण्डारण कसरी गर्ने भन्ने विषयमा छलफल मात्रै भइरहेको समितिका संयोजक उप्रेतीले बताए । उनका अनुसार आयात गर्ने खोपको अनुमानित संख्या र बजेटबारे प्रारम्भिक प्रस्ताव तयार भएको छ । उनी भन्छन्, ‘नियामक निकायमा भ्याक्सिन दर्ता नै नभएकाले नेपालमा कहिलेसम्म आउँछ भन्न सकिन्न । जहिले आउँछ, गुणस्तरीय खोप मात्रै आउँछ ।’

प्रतिक्रिया दिनुहोस