३० मंसिर २०७७, मंगलवार || 15 Dec 2020, Tuesday

मनोरञ्जन

सिनेमा उपकरण : हामी अब बलिउडमा आश्रित छैनौं

सिनेमा उपकरण : हामी अब बलिउडमा आश्रित छैनौं

नेपाली सिनेमाको अपेक्षित स्तरोन्नती किन भएन ? यस प्रश्नमाथि घनीभूत विमर्श गर्नेभन्दा पनि एकअर्कामाथि दोष थोपर्ने प्रवृत्ति व्यापक छ ।

फिल्ममेकरलाई यो प्रश्न सोधियो भने उनीहरुले भन्नेछन्, ‘हामीसँग पर्याप्त स्रोत र साधन नै भएन ।’

त्यसो भए हामीसँग उपलब्ध स्रोत र साधन के–के हुन् ? मूलतः सिनेमा निर्माणका लागि क्यामेरा, लाइट, साउन्ड लगायत थुप्रै संशाधन खाँचो पर्छ । अहिले हामीले बनाइरहेको सिनेमामा कस्तो किसिमको क्यामेरा प्रयोग हुन्छ ? लाइट र साउन्डका लागि कस्ता सामग्री उपलब्ध छन् ? गिम्बल, जोनी जीप, ड्रोन, ट्रली, क्रेनदेखि आवश्यक उपकरणहरुमा हामी कति उन्नत छौं ?

अक्सर सिनेमाको विवेचना गरिरहँदा विषय, मुद्दा, कथा, पटकथा, प्रस्तुती, अभिनय, संवाद, पहिरन आदिमा केन्द्रित हुने गर्छ । सिनेमाको इतिहास खोतलिन्छ, भविष्यका बारेमा अड्कलबाजी गरिन्छ । विश्व सिनेमाको स्थितिसँग तुलना गरिन्छ । तर, सिनेमा निर्माणका लागि आवश्यक उपकरणलाई भने उपेक्षा गरिन्छ । जबकि सिनेमा निर्माणका लागि उपकरण एवं प्रविधिले त्यती नै महत्व राख्छ, जति यसको कला एवं शिल्प पक्षले राख्छ ।

सिनेमा भनेकै कला (कथा–पटकथा–संवाद–प्रस्तुती) र प्रविधि (क्यामेरा, लेन्स, लाइट, साउन्ड)को कलात्मक समायोजन हो । यहाँ मैले सिनेमाको प्रविधि अर्थात उपकरणका विषयमा चर्चा गरेको छु ।

सामान्यतः एउटा सिनेमा निर्माणका लागि क्यामेरादेखि लाइटसम्मका उपकरण जरुरी हुन्छन् । हामीसँग अहिले के–कस्ता उपकरण छन् त ?  उपलब्ध उपकरणले कति स्तरिय सिनेमा बन्न सक्छ ? हलिउड–बलिउडमा प्रयोग हुने उपकरण हामीसँग छ/छैन ?

पहिले–पहिले एनालग क्यामेराले खिच्नुपर्ने, रिल जतन गर्नुपर्ने, अँध्यारोका दृश्यहरु देखाउन कठिन हुने गथ्र्यो । त्यसैले खिचाइकै समस्याले गर्दा कथा र प्रस्तुतीमा खुम्चनुपर्ने अवस्था हुन्थ्यो । त्यसमाथि १६ एमएममा खिचेर पर्दामा देखाउँदा ३५ एमएमको बनाउनुपथ्र्यो । अर्थात प्रविधिको सिमितता थियो ।

२००७ सालमा नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ बनेको कालखण्डबाट आजसम्म आइपुग्दा नेपाली सिनेमाले ‘ब्ल्याक एन्ड ह्वाइट’ बाट डिजिटलमा फड्को मारिसकेको छ । ‘कागबेनी’ निर्माण भएसँगै जुन हिसाबले मल्टिप्लेक्स हलहरु सञ्चालनमा आए, त्यसले नेपाली सिनेमालाई प्रविधिको अर्को उचाइमा पुर्याएको छ ।

विश्व बजारमा यतिबेला नविनतम् एवं अत्याधुनिक उपकरणहरु उपलब्ध छन् । यसले हाम्रो कामलाई छरितो, सहज र स्तरिय बनाइदिएको छ । विगतमा सिनेमाको उपकरण गह्रौ, भद्दा हुन्थ्यो, जसलाई बोक्न र प्रयोग गर्न जनशक्ति पनि धेरै लाग्थ्यो ।

हामी भन्छौं, नेपाली सिनेमा बलिउडको ह्याङओभरबाट मुक्त हुन सकेको छैन । जबकी बलिउडको कथ्य संरचना मात्र होइन, प्रविधि र प्राविधिकसम्म हामीमाथि हावी थिए । जतिबेला हामी सेल्युलाइडमा काम गरिरहेका थियौं, त्यसअघि बलिउडमा चलाउँदा–चलाउँदा थोत्रो बनाएका उपकरणहरु हामीकहाँ आइपुग्थ्यो । त्यही क्यामेरा, लाइट, क्रेन आदिले हामी सिनेमा बनाउथ्यौं । उपकरण मात्र होइन, प्राविधिकसम्म उतैका हुन्थे ।

अहिले भने नेपाली सिनेमा निर्माणका लागि बलिउडका थोत्रा उपकरण मात्र होइन, प्राविधिकसमेत विस्थापित भइसकेका छन् । त्यस ठाउँमा आधुनिक, छरितो र सजिलो उपकरण भित्रिएको छ । चाहे क्यामेराको कुरा गरौं वा लाइटको वा त ग्रिप्सकै, विश्व बजारबाट खोजी–खोजी हामीले यावत् उपकरण ल्याइसकेका छौं ।

सिनेमा छायांकनको लागि मुख्य औजार हो, क्यामेरा । अहिले हामीकहाँ बनिरहेको अधिकांश सिनेमा टुके, फोरके र एटके क्यामेराले खिचिन्छ । तर, स्क्रिनिङ भने टुकेमा हुन्छ । यसर्थ फोरके र एटकेमा बनाइरहनुको खास औचित्य देखिदैन ।

क्यामेराको कुरा गर्दा हामीले चलाइरहेको क्यामेरा हो, एरी एलेक्सा । सिनेम्याटिक दृश्य कैद गर्ने भएकाले एरी एलेक्सा बढी रुचाइन्छ । बलिउडमा समेत यसको व्यापक प्रयोग हुन्छ । यसको कलर र इमेज राम्रो छ । त्यसैगरी अर्को प्रचलित क्यामेरा भनेको रेड क्यामेरा हो । सोनी पनि राम्रो छ । ब्ल्याक म्याजिकलाई पनि राम्रो विकल्पको रुपमा लिन सकिन्छ । अहिले हामीले बनाइरहेको सिनेमाका लागि एरी एलेक्सा वा रेड जत्तिको क्यामेरा भए काफी हुन्छ । विश्वमै उत्कृष्ट चाहिँ, पानाभिजन हो । हलिउडमा यही क्यामेरा चलाइन्छ । हामीकहाँ भने पानाभिजन क्यामेरा चलाउन संभव छैन ।

क्यामेरामा प्रयोग गरिने लेन्स अरु महत्वपूर्ण मात्र होइन, महंगा पनि हुन्छन् । एक सेट लेन्सकै एक करोड रुपैयाँभन्दा बढी पर्छ । क्यामेरा भन्दा पनि लेन्स महंगो हुन्छ । एउटा अब्बल निर्देशकलाई कुन दृश्य वा सटमा कुन लेन्स लगाउने भन्ने ज्ञान हुन्छ । लेन्समा एरी मास्टर प्राइम उत्कृष्ट मानिन्छ, तर यो लेन्स हामीसँग छैन । हामीले चलाउने भनेको जाइजको अल्ट्रा प्राइम हो । अहिले यो लेन्स सेटमा १८ एमएमदेखि २५, ३५, ५० र ८५ एमएमसम्म उपलब्ध छ ।

क्यामेरासँगै अनिवार्य मानिन्छ, लाइट । फ्रेममा देखिने दृश्यलाई स्पष्ट एवं सफा देखाउनका लागि अतिरिक्त उज्यालो जरुरी हुन्छ । यसका लागि सिनेमामा विभिन्न किसिमका र क्षमताका लाइट प्रयोग गरिन्छ । १ सय ५० वाटदेखि ५ हजार वाटसम्मका लाइट हामीसँग उपलब्ध छन् ।

बिगतमा बलिउडमा प्रयोग भइसकेका भद्दा र ठूल्ठूला लाइटले काम चलाइथ्यो । अहिले छरितो एवं हल्का तर पर्याप्त उज्यालो पुग्ने लाइट छ । टङस्टन, एचएमआई पार, जोकर, लिड प्यानल, स्काइ प्यानल हुँदै किनोफ्लोसम्मका लाइट हामीसँग छन् । यसले क्यामेराका लागि पुग्दो प्रकाश दिने मात्र होइन, प्रयोग गर्न सजिलो र छरितो पनि छ । पात्र वा दृश्यमाथि कति र कस्तो प्रकाश चाहिएको हो, सोही अनुसार लाइट चलाउनुपर्छ । लाइटले नै फ्रेमभित्र दृश्यलाई डिटेलमा देखाउन सकिन्छ ।

लाइटपछि हामीलाई ग्रिप्सहरु चाहियो । गिम्बल चाहियो, जोनीजिप चाहियो, ड्रोन चाहियो, कार माउन्ट चाहियो । यी सबैकुरा इफेक्टका लागि चाहिन्छ ।

जोनीजिप, ड्रोन आदिले गर्दा क्रेन भने विस्थापित हुँदैछ । अहिले क्रेनको माग त्यती छैन । यसको ठाउँमा अत्याधुनिक जोनीजिपहरु उपलब्ध छन् । ८ किलोको क्यामेरा बोक्ने सानो जोनीजिपदेखि ६ मिटर लामो हाइड्रोलिक, २० किलो क्यामेरा बोक्ने अर्को जोनीजिप, कार माउन्ट जिपसम्म हामीसँग छ ।

यी आधारभूत र अपरिहार्य संशाधनसँगै अरु थुप्रै आधुनिक उपकरण हामीसँग छ । जस्तो सिनेमामा मुसलधारे झरी परेको देखाउनुपर्यो, धुँवाको मुस्लो देखाउनुपर्यो, हिँउ झरिरहेको देखाउनुपर्यो, मन्द बतास वा हावाहुरी आएको देखाउनुपर्यो भने के गर्ने ? यसका लागि कृतिम तरिका अपनाउने गरिन्छ । र, त्यसका लागि आवश्यक उपकरणहरु पनि हामीसँग छन् ।

हुन त विश्व सिनेमाले प्रविधिमा लामो फड्को मारिसकेको छ । अत्याधुनिक उपकरणदेखि स्टुडियोसम्म उनीहरुसँग छ । हामी त्यो स्तरमा पुग्न नसके पनि अहिलेको अवस्थामा उत्कृष्ट सिनेमा खिच्नका लागि पुग्दो उपकरण छन् । किनभने सिनेमा बनाउन उपकरण पहिलो प्राथमिकता होइन । कथा वा विषयले चाहिँ यसको माग गर्ने हो । कथा, पटकथा, दृश्य एवं दृश्यांश अनुरुप कस्तो उपकरण प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हो ।

मैले ‘सिमाला’ चलचित्र निर्माणका लागि जर्मनी सिनेम्याटोग्राफर डेबिड चाउ झिकाएको थिएँ । यस चलचित्रमा म आफूसँग भएको उपकरण भरपुर प्रयोग गर्न चाहन्थें । सोही अनुरुप मैले एउटा दृश्य खिच्नका लागि आधुनिक जोनीजिप प्रयोग गरौं भनें । तर, उक्त सिनेम्याटोग्राफरले प्रतिप्रश्न गरे, ‘फर ह्वाट रुद्र ?’

मसँग जवाफ थिएन । उनको आशय के थियो भने, हामी जुन दृश्य छायांकन गर्दै थियौं त्यसमा जोनीजीपको जरुरी छैन । आफूसँग के छ भनेर जथाभावी उपकरण प्रयोग गर्नेभन्दा पनि कथाले के मागेको छ, सोही अनुसार उपकरणको प्रबन्ध गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस