१८ पुष २०७७, शनिबार || 02 Jan 2021, Saturday

मुख्य समाचार

‘दार्जीलिङको साहित्यिक गतिविधि सिक्किमतिर सरेको छ’

‘दार्जीलिङको साहित्यिक गतिविधि सिक्किमतिर सरेको छ’

भारतको असम राज्यमा पर्ने गुवाहाटी सहरमा सन् १९३२ मा जन्मेका लीलबहादुर क्षेत्री ‘बसाइँ’ उपन्यासका कारण नेपाली साहित्यमा सुपरिचित छन् । अमेरिकामा बसाइँ उपन्यासको अंग्रेजीमा पनि अनुवाद भइसकेको छ । नेपालबाट दर्जनौंपटक पुनःमुद्रण भएको बसाइँ उपन्यास नेपालीको पाठ्यक्रममा पढाइ हुने गरेको छ । र बसाइँ उपन्यासका आधारमा चलचित्र पनि बनेको छ ।

कीर्तिमानी उपन्यासका लेखक लीलबहादुरका कथा, उपन्यास एवं नाट्य कृतिहरू दर्जनौंको संख्यामा प्रकाशित छन् । नेपालको प्रतिष्ठित जगदम्बाश्री पुरस्कार, भारतको सर्वोच्च सम्मान ‘पद्मश्री’ प्राप्त क्षेत्रीलाई यसै वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको पुरस्कार पहिलोपल्ट दिने निर्णय भएको छ ।

प्रशिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीसँगको यो अन्तरवार्ता गोविन्द गिरी प्रेरणाले डा.गोविन्दराज भट्टराईको सहजीकरणमा लिएका हुन् । प्रस्तुत अन्तरवार्तामा क्षेत्रीले नेपाल र भारत दुबै देशको नेपाली साहित्यबारे रौंचिरा विश्लेषण गरेका छन् । साथै उनले नेपालको साझा प्रकाशनको दुरावस्थामाथि पनि टिप्पणी गरेका छन् ।

पहिलो रचना केले लेखायो ? आज त्यसलाई कसरी सम्झनुहुन्छ ?

मेरो पहिलो रचना केले लेखायो भन्ने प्रश्न भन्दा पनि मेरो निम्ति जटिल प्रश्न के छ भने मेरो पहिलो रचना कुन हो, त्यो मलाई थाहा छैन । मेरा रचनाहरू प्रकाशमा  आउनुभन्दा  धेरैअघि,  भनौं बाल्यकालदेखि नै  मैले लेख्न थालेको हो र त्यसरी बाल्यकाल पाठशालामा पढ्दा लेखेका धेरै रचनाहरू अप्रकाशित रूपमा  रहेका मेरा फाइलका बिटाहरूमा अझ  पनि फेला पर्छन् । तिनमा कुन पहिलो हो त्यो खुट्याउन गाह्रो पर्छ ।

ती रचना केले लेखायो, भन्ने कुरा मेरो शिक्षासित सम्बन्धित छ । मैले ४/५  वर्षको शिशु छँदै नेपाली साउँ अक्षर, मात्रा तथा शब्द गठनको ज्ञान मेरा पिताज्यूबाट पाएको हो । त्यसपछि असमको राजधानी खसिया पहाड शिलाङ (हाल मेघालय) मा  चार वर्ष बंगाली भाषाको माध्यमबाट बङ्गाली हाइस्कूलमा शिक्षा लाभ गरेँ । त्यसपछि  दोस्रो महायुद्धको  विभीषिकाले गर्दा  माझमा एक वर्ष जति पढाइ स्थगित  रह्यो र त्यो काल मैले नेपाली पहाडी गाउँमा  बिताएँ ।

लडाइँ अलि मथ्थर हुँदा फेरि शिलाङ आएर त्यहाँको गोर्खा पाठशाला माध्यमिक विद्यालयबाट नेपाली माध्यमबाट एमइ अर्थात्, तेस्रो श्रेणीदेखि छैटौं श्रेणीसम्म पढेर एमइ बोर्डको परीक्षामा उत्तीर्ण भएँ । एमइपछि शिलाङ सरकारी उच्च विद्यालयबाट अंग्रेजी माध्यममा  प्रवेशिका परीक्षा पास गरेँ । उपरोक्त उच्च विद्यालयका प्रधान शिक्षक अंग्रेज थिए र अन्य शिक्षक धेरैजसो खसिया र बङ्गाली थिए । त्यसपछिका महाविद्यालय भनौँ, विश्वविद्यालयसम्मकै  शिक्षाको माध्यम अंग्रेजी नै रह्यो ।

शिलाङको गोर्खा पाठशालामा एमइ बोर्डको परीक्षासम्म पढाइको माध्यम नेपाली रहेकोले मैले पाठ्यपुस्तकको रूपमा  नेपाली पुस्तक पढ्ने मौका पाएँ ती पाठ्यपुस्तकहरू धेरैजसो गुरुबर डा. पारसमणि प्रधानद्वारा प्रस्तुत गरिएको हुन्थ्यो । तिनै पुस्तकको माध्यमबाट मैले आदिकवि भानुभक्त चिनेँ, मोतीराम चिनें, लेखनाथ, महाकवि देवकोटा चिनें ।

तपाईंको बाल्यकालीन त्यस्तो कुनै सम्झना छ, जसलाई पछि तपाईंले आफ्नो लेखनमा उतार्नुभयो ?

मेरा बाल्यकालका सम्झनाहरू धेरै छन् । अब थोरै सम्झन्छु, धेरै बिर्सिसकें । तत्कालीन असमको राजनधानी खसिया पहाड, शिलाङ (हाल मेघालय) छँदाको कुरो हो, म त्यही तेस्रो वा चौथो श्रेणीमा पढ्थेँ । ९–१० वर्षीय अल्लारे ठिटो थिएँ । पिताजी पुलिस (प्रहरी) रिजर्वको दायित्वमा जेष्ठ उपनिर्देशक सिमोर सील इन्स्पिलिर हुनुहुन्थ्यो । हामी ठूलो पाँच–छ कोठा भएको सरकारी क्वार्टरमा बस्थ्यौं । क्वाटर मास्तिर अग्लिँदै गएको फराकिलो चउर थियो । हिउँदको दिन हुनाले चउरको घाँस खंग्रङ्ग सुकेको थियो ।  घरमा कोही थिएनन् । मलाई बाल लहड चल्यो । घरबाट सलाई ल्याएर चउरको माझ भागमा आगो सल्काइदिएँ सुकेको चउर हुरहुर्ती बल्न थाल्यो ।

सोच थियो, केही सल्केपछि निभाइहाल्छु भन्ने । तर, बतास चलेकाले सुकेको चउरको आगो यसरी दन्क्यो, म यता निभाउन खोज्छु अर्को पाटातिर हुरहुर्ति बल्छ । चउरको चारै कुनामा सम्हाली नसक्नु पाराले डढ्न थाल्यो । मेरो हंसले ठाउँ छोड्यो । आत्तिएर दगुर्न थालेँ ।

हाम्रो क्वार्टरको पछिल्तिर पिताज्यूको अर्दलीको कोठा थियो । उनकी वयस्क पत्नीलाई हामी बज्यै भनेर बोलाउने गर्थ्यौं । म आत्तिएर बज्यै अब के गर्ने ? लौन यो आगो कसरी निभाउने ? भनेर गुहार्न थालेँ ।  निस्केर चउर डढेको  देख्ता उनी पनि छक्क परिन् मलाई ढाडस दिँदै भनिन्, ‘न आत्तेस बाबु, आगो डिलडिल आएपछि आफैँ निभ्छ ।’

नभन्दै चउरको आगो घाँस सकिएर डिलमा माटाको छेउ आइपुग्यो र बिस्तारै निभ्यो । ८–१० मिनटभित्रै त्यत्रो फराकिलो हरियो चउर डढेर कालो अँगारझैं देखियो ।

त्यसदिन, त्यो घरीको मेरो अत्याइँ, छटपटी, अर्ध होशसितको दगुराइ सम्झँदा आज पनि आङ सिरिङ्ग हुन्छ ।

लेखनको सुरुवातमा साहित्यको विषयमा तपाईंको कस्तो धारणा थियो ?

मनका  कुराहरू व्यक्त गर्ने, आफ्नो अनुभव  अरूसमक्ष पुर्याउने  साहित्य ठूलो  माध्यम हो भन्ने मलाई लागेको थियो । यसको साथै साहित्य लेखनले  आफ्नो परिचय अरू समक्ष पुर्याउँछ, नाउँ चल्छ भन्ने सोच  पनि थियो ।

पहिलो रचना प्रकाशित हुँदाको खुशी अहिले पनि सम्झनु हुन्छ ?

मेरो पहिलो रचना प्रकाशित हुँदा म शिलाङ सरकारी उच्च विद्यालय शिलोङ हाई स्कूलमा आठौं श्रेणीको छात्र थिएँ । यो रचना प्रकाशन भएको थियो– सन् १ जनवरी १९४९ मा । तर, रचना लेखेको त दुई वर्षअघि छैटौं श्रेणीमा पढ्दाताकै हो ।

लेख्न सुरू गरेपछि  क–कसका पुस्तक अध्ययन  गर्नुभो ? कस्तो प्रेरणा पाउनुभयो ?

म फेला  परेका जुनसुकै पुस्तक पत्रपत्रिका पढ्ने गर्थें  । मलाई  आख्यान साहित्य बढी रूचि  भएकाले  त्यस्ता पुस्तक अलि बढी नै  पढियो । फेरि म अलि पुरानै परिपाटिको लेखक हुनाले हालको उत्तरआधुनिकमुखी प्रयोगवादी आख्यानादि भन्दा पारम्परिक यथार्थवादी, जनजीवन चित्रण भएका लेखादिले नै बढी प्रभाव पारेको छ ।

मैले पढेका नेपाली उपन्यासमा मदनमणि दीक्षितको माधवी, धुव्रचन्द्र गौतमको ‘अलिखित’, विजय मल्लको ‘अनुराधा’, मोहन मल्लको ‘उजेलीछामा’, ध.च. गोतामेको ‘घामका पाइलाहरू’, विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्रदाइ’, ‘सुम्निमा’, गोठालेको ‘पल्लोघरको झ्याल’, पारिजातको ‘शिरीषको फूल’, डा. गोविन्दराज भट्टराईको ‘मुगलान’, धरावासीको ‘शरणार्थी’, आइवी राईको ‘आज रमिता छ’, शिवकुमार राईको ‘डाक बंगला’, रूपनारायण सिंहको  ‘भ्रमर’ आदि मन परेका हुन् ।

म प्रयोगवादी साहित्यभन्दा बढी यथार्थवादी जनजीवनको दशा र दिशा देखाउने साहित्य मन पराउँछु । डा. गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’ पनि मैले पढेँ । उच्च कोटिको छ, स्तरीय छ, स्तरीय पाठकले मन पराएका छन् । तर, मेरो मानसपटलमा ‘मुगलान’ले डामेको छाप सुकरातले मेटाउन सकेन ।

नेपाली साहित्यबाहेक बंगाली, हिन्दी, अंग्रेजी साहित्यले पनि ममा धेरथोर प्रभाव छोडेकै छ । बंगालीमा विश्वकवि रविद्र ठाकुर, शरत चन्द्र, बंकिमचन्द्र विभूति भूषण मेरा मन परेका स्रष्टा हुन् । हिन्दीमा– प्रेमचन्द, इलाचन्द जोशी, जयशंकर प्रसाद, उपेन्द्र अश्क मन पर्छन् ।

अंग्रेजी साहित्य धेरै पढेको छैन । पढेकामध्ये पर्ल बक, टोमाश हार्डी, टाल्स्टय, गोर्की, बनार्ड शा, चार्ल्स डिकेन्स, इलिएट आदि मनपरेका हुन् । असमिया साहित्य पनि  पढेको हो । तर, अहिले  तत्कालीन नाउँको सूची प्रस्तुत गर्न गाह्रो पर्छ । मैले पढेका यी कृतिहरूको परोक्ष छाप केही परेको होला तर प्रत्यक्ष छाप परेजस्तो लाग्दैन ।

पहिलो पुस्तक (बसाइँ) जगदम्बा प्रकाशनबाट प्रकाशित हुन कसरी चाँजोपाँजो मिल्यो ?

मेरो पहिलो पुस्तक ‘बसाइँ’को प्रथम संस्करण ‘जगदम्बा, प्रकाशनबाट होइन, मदन पुरस्कार पुस्तकालयबाट प्रकाशन भएको हो । त्यसबेलासम्म जगदम्बा प्रकाशनले प्रकाशनको काम थालिसकेको थिएन । यसको दोस्रो, तेस्रो संस्करण जगदम्बाले  छाप्यो । त्यसपछि साझाले प्रकाशन गर्न थाल्यो । यसको चाँजोपाँजो मिलाउने गुवाहाटीका मेरा मित्र  सी.पी. गुरुङ र देहरादुनका ठाकुरचन्दन सिंह थिए । उनीहरूको आग्रहमा प्रकाशनको चाँजो मिलाउनमा कमल दीक्षितको मुख्य भूमिका थियो ।

बसाइँ उपन्यास लेख्न के कुराले प्रेरित गर्यो ?

बाल्यकालमा केही समय मलाई आफ्नो पितृभूमि नेपालको पहाडी गाउँमा  बस्न कर लागेको थियो । त्यसताका मैले देखेका, भोगेका पृष्ठभूमि, जीवनशैली परम्परागत संस्कृति, पहाडे जीवनको दुखेसो, मर्म, पीडा, प्राकृतिक दृश्य सबै कुराले मेरो बाल मानसपटलमा एउटा गहिरो छाप बस्यो ।

पछि युवा अवस्थामा  केही परिपक्व भएपछि तिनै सम्झनालाई आधार पारी यथार्थ जीवन चित्रणलाई परिकल्पित रूप दिएर उपन्यास लेख्न सक्षम भएँ । त्यसमा नेपाली साहित्यप्रति झुकाउ भाषा साहित्यप्रति असीम माया, मेरो शिक्षा दीक्षा, केही सोधखोज, लेख्ने प्रबल इच्छा पनि जोडिएको छ ।

कति समय लाग्यो बसाइँ लेख्न र पाठकसमक्ष आइपुग्न ?

समयको कुरै नगरौँ । अल्छ्याइँ पाराले माझमा बिसाउँदै लेख्दै गरेर लेखिसक्न तीन वर्ष र प्रकाश भएर बजारमा निस्कन दुई वर्ष गरी पाँच वर्ष बिते ।

बसाइँ पहिलोपल्ट प्रकाशनका लागि कत्तिको झञ्झट बेहोर्नुपर्यो ?

झञ्झट त निकै व्यहोर्नुपर्यो क्यार । तर, मेरो  हकमा चाहिँ केवल बसाइँ प्रकाशित रूपमा देख्न पाउनु लामो समय पर्खनुपर्यो । अरू जे जति झइझमेला त प्रकाशकले नै बेहोरेको हो ।

बसाइँपछिको अतृप्त उपन्यास ‘बसाइँ’ जस्तो नभएर यौनपरक भएकाले त्यति लोकप्रिय नभएको ?

बसाइँ लेखेको दश वर्ष पछि मैले उपन्यास ‘अतृप्त’ लेखेँ जो बसाइँभन्दा  एकदमै भिन्न छ । यो मनस्थ चित्रणमा आधारित मनोस्तात्विक उपन्यास हो । यो पनि जनप्रिय नभएको त होइन । अहिलेसम्म यसका सातौँ संस्करण निस्किसके  र हाल बजारमा उपलब्ध पनि छैन क्यार ।

बसाइँ अधिक छात्रले  अनिवार्यरूपमा पढ्नुपर्ने पाठ्यक्रममा धेरै वर्ष रहेकाले र जनजीवनको यथार्थ चित्रण सरल भाषामा लेखिएकाले अधिक जनप्रियता लाभ गर्यो । अतृप्त पनि गुवाहाटी तथा भारतका अन्य वश्व विद्यालयतर्फ पाठ्यक्रममा धेरै वर्ष थियो र हाल पनि छ । तर, ती उच्चस्तरीय श्रेणीको पाठ्यक्रममा राखिएका  थिए, जहाँ छात्र संख्या एकदमै थोरै हुन्छन् ।

अर्को कुरा, काठमाडौँमा छापिने यो पुस्तक भारतका विश्वविद्यालयहरूमा प्राप्य पनि हुँदैनन् । कुनै पुस्तक विक्रेताले कष्टसाथ जोगाड गरी सभासमारोहमा पुर्याएर अतृप्तका सीमित प्रति दोब्बर मूल्यमा बेचेको पनि पाइएको छ । समीक्षक कतिपयको दृष्टिमा अतृप्त स्तरीय उपन्यास ठहरिएको छ । विशेषताः  यसको शैली प्रस्तुतीकरण अति रोचक छ, जसका बारेमा नेपाली साहित्यका मूर्धन्य समीक्षक  डा. ईश्वर बराल भन्छन्– ‘नभन्दै देशभित्र होस् वा बाहिर, लीलबहादुरजस्ता गम्भीर शैलीकारलाई उछिन्ने नेपाली अत्यल्प छन् ।’

मेरा पाठकले बसाइँ र ब्रह्मपुत्रको छेउछाउ मन पराए । तर, मलाई भने ‘अतृप्त’ र ‘प्रतिध्वनिहरू विस्मृतिका’ मन परेका उपन्यास हुन्  ।

एउटा मात्र नाटक लेख्नुभयो, त्यसको मञ्चन  कत्तिको भो ?

नाटक मैले एउटा मात्र होइन, पाँचवटा जति लेखेँ र ती सबै सफलतापूर्वक मञ्चस्थ भएका हुन् । अवश्य, प्रकाशनचाहिँ साझा प्रकाशनद्वारा सन् १९६७ मा ‘दोबाटो’ शीर्षकको एउटा नाटक प्रकाश भएको हो, जो सन् १९६० मा गुवाहाटीको आर्य नाट्य हलमा  मञ्चस्थ भएको हो र पछि धेरै ठाउँ नेपालमा समेत मञ्चन हुन पुग्यो ।

‘लक्ष्य’ शीर्षकको मेरो पूर्णाङ्की मौलिक  नाटक आजभन्दा  ६५ वर्षअघि  सन् १९५६ मा गुवाहाटीको आर्य नाट्य हल तत्कालीन गुवाहाटीको नामी  भवनमा अति आधुनिक तकनिकी भएको हलमा मञ्चित भएको हो । जसमा  मूल पात्रको भूमिकामा  म आफैँ थिएँ ।  यो टिकट शो थियो र एक शोले नभ्याएर अर्को दिन पनि देखाउनु परेको थियो ।

लक्ष्य नाटक मञ्चनमा  १८ जना पात्रमध्ये हाल अब मबाहेक अरू कोही रहेका छैनन् क्यार । अँ एकजना फुलप्रसाद शर्मा अहिले काठमाडौँमा होलान्, जो नेपाल बैंकमा कार्यरत थिए । यो नाटक सूचना पर्चाको एकप्रति अझ मसित छँदैछ ।  हाल, धेरैको आग्रहले  यसलाई  प्रकाश गर्ने कुरा चल्दैछ  र लक्ष्य मञ्चन भएको बसाइँ प्रकाशनमा  आउनुभन्दा एक वर्ष अघि हो ।

मैले  दशवटा जति  एकांकी नाटक लेखेँ । ती मञ्चन भएर पात्र एकांकी संग्रह आदिमा  प्रकाशित छन् । मेरा माग शीर्षकको एउटा एकांकी धेरै ठाउँ मञ्चन भएर भारतका तीनवटा विश्वविद्यालय अन्तर्गत पाठ्यतालिकामा छ ।

म आकाशवाणी गुवाहाटी रेडियोको नेपाली कार्यक्रम परिचालकका रूपमा आठ वर्ष जति कार्यरत भएकाले मैले झन्डै १५ वटा जति रेडियो नाटक र १० वटाजति रूपक लेखेर गुवाहाटी रेडियोबाट प्रसार भएका हुन् । यी सामग्रीहरू त्यसै बिलाएर गए । यिनको खेस्रा लेखिएका खाताहरू पनि धमिराले चाटे, चाट्दैछन् । मेरो  नाट्ययात्रा बारे पूर्ण जानकारी पाउन मेरो ‘झ्याउरे पार्टी’ मा लाग्दा निबन्ध सँगालोको  किताब पढ्न आवश्यक छ ।

तपाईंको लोकप्रियताले र पाठ्यक्रममा पनि समावेश हुनाले गर्दा बसाइँले बिक्रीमा राम्रै कीर्तिमान राख्न सक्यो । आर्थिक लाभ पनि राम्रै भयो होइन ?

नेपालभित्र  विशेष गरी साझा प्रकाशनद्वारा  प्रकाशित मेरा पुस्तकहरू प्रायः छैटौं, सातौं संस्करणसम्म पुगेको देख्न पाइएको छ । बसाइँ त पद्यमा महाकवि देवकोटाको मुना–मदनपछि गद्यमा सर्वाधिक छापिने र बिक्री हुने उपन्यास ठहरिएको छ । यसको  ३५ औं संस्करणसम्म मैले देख्न पाएको हुँ । रोयल्टी पनि राम्रै पाउँदै थिएँ । काठमाडौँ बाहिरसम्मको जुनसुकै क्षेत्रीय कार्यालयबाट रोयल्टीको रकम पाउन सकिन्थ्यो ।

गत चार–पाँच वर्षयता भने साझा प्रकाशनको डामाडोल स्थितिले गर्दा कुनै रोयल्टी प्राप्त भएको छैन । साझाको के स्थिति छ, के कति किताब छाप्यो, कुन-कुन किताबको के कति संस्करण निस्किए, त्यो पनि मलाई थाहा छैन ।

बजारमा कतिपय  किताब प्राप्त नभएको गुनासो पाठकले मसित पनि गरेका छन् । अरू प्रकाशनले किताब छाप्ने अनुमति पनि मसित मागिरहेका छन् । मैले तर साझाजस्तो बृहत, पुरानो र विश्वसनीय संस्थामा छिटै सुधार आउला भन्ने आशामा अन्य प्रकाशनलाई अनुमति प्रदान गरेको छैन । रोयल्टीभन्दा पनि ठूलो कुरो मलाई के लाग्छ भने साझा प्रकाशनका मेरा सबै पुस्तक पाठकसमक्ष उपलब्ध हुन सकून् ।

‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यास लेख्न केले प्रेरित पार्यो तपाईंलाई ?

असम मेरो जन्मभूमि र कर्मभूमि पनि हो । भनाइ छ– वृहत्तर असम, भनौँ समग्र  पूर्वाञ्चल भारतमा नेपाली वा गोर्खाहरूको बसोबास बीस लाखको हाराहारीमा छ र तिनमा अधिकांश नै पुस्तौँदेखि बसोबास गर्दै आएका छन् । तर, असमेली गोर्खेहरूको जीवनशैली, यथार्थ जीवन चित्रणलाई लिएर लेखिएको उपन्यास वा अन्य कुनै सामाग्री मनग्य फेला  पर्दैन ।

दार्जीलिङको पृष्ठभ‘मिमा  लेखिएका  नेपाली उपन्यास फेला पर्दैनन् । तर, असमको पृष्ठभूमिमा गोर्खेहरूको जीवन चित्रण गरी लेखिएको उपन्यास फेला पर्छन् वा पर्दैनथ्यो, जहिले यो उपन्यास लेखियो । मूलतः त्यसैले म प्रेरित भएँ ब्रह्मपुत्रको छेउछाउ लेख्न । असमेली नेपालीहरूको टड्कारो जीवन झल्कने यो उपन्यासमा उपन्यास तत्वभन्दा बढी इतिहास तत्व फेला पर्छ ।

नेपालका कोको साहित्यकारसँग तपाईंको निकट मित्रता रह्यो ?

साहित्यिक रूपमा देखापरेका  नेपालका प्रायःजसो साहित्यकारसितै मेरो परिचय छ । भेटघाट पनि धेरैसित थियो र अझ छ । मैले राम्ररी नचिने पनि कुनै न कुनै रूपमा उनीहरूको माया म पाइरहन्छु । निकट मित्रता पनि धेरैसित थियो र अहिले पनि छ । तर, हिजोका धेरै मित्रहरू आज बितिसके । भएकामा पनि समयको व्यवधानले सम्बन्ध टाढिँदै गयो । अब यी यी भनेर नाउँ तोक्नु अप्ठ्यारो हुन्छ ।

अवश्य मलाई धेरै माया गर्ने र सरसल्लाह सहयोग पुर्याइरहने एकजना भानुका संस्थापक भवानी घिमिरे दाइ थिए । उनको निधनपछि त्यो ठाउँ रित्तियो । हाल परिवार सरहकै सम्बधमा भएका भट्टराई ब्रदर्स छन् । डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई र देवेन्द भट्टराई । उनीहरूबाट विशेषतः गोविन्दराज भट्टराईबाट साहित्यिक सरसल्लाह, सहयोग र प्रेरणा पाइरहन्छु । देवेन्द्र भाइ त मेरो आँतमै भिजेको लाग्छ मलाई । डा. तुलसी भट्टराईसँगको परिचय पुरानो हो । जसले म काठमाडौँ पुग्दा एकचोटि व्यापकरूपमा त्यहाँका साहित्यकारहरूसित मेरो सामूहिक परिचय गराउनुभएको हो । त्यस समारोहमा उहाँले ओढाउनुभएको सानो दोसल्ला अझ मेरो आल्मारीमा सुरक्षित छ ।

निकटतम व्यक्तिसित भेटघाटको सिलसिलामा एकजना तत्कालीन साझा प्रकाशनका महाप्रबन्धक क्षेत्रप्रताप अधिकारीलाई सम्झनैपर्ने हुन्छ, जसले मेरो काठमाडौँ यात्राको सिलसिलमा पहिलो खेप छ दिनसम्म आफ्नै डेरामा पाहुना पारेर राखी मलाई काठमाडौं डुलाएका थिए ।

नेपालमा तपाईंलाई लोकप्रियता, पुरस्कार सम्मान र पाठककको  माया विपुल प्राप्त भयो, त्यसको तुलनामा  भारतमा कम भएजस्तो लाग्छ कि ?

बसाइँ उपन्यासलगायत, ब्रह्मपुत्रको छेउछाउ पनि वर्षौंदेखि पाठ्यतालिकामा रहेको  र लेखक असममा बसेर पनि नेपाल पहाडी इलाकाको पृष्ठभूमिमा र जनजीवनको चित्रण हुँदा बसाइँलाई नेपालका पाठकले बढी पढे र बढी मन पराए । अनि सर्जकलाई बढी माया पनि दिएपछि नेपाली साहित्यको लगनशीलता बढ्दै जाँदा जगदम्बा श्री लगायत उच्चस्तरीय पुरस्कार र सम्मान  पनि मैले  पाउँदै गएँ ।

तर, त्यसो भनेर भारतको सम्मान र पुरस्कार कम भएको भन्न मिल्दैन । मैले  पाएको पहिलो पुरस्कार नै पश्चिम बंगाल दार्जीलिङको सन् १९८३ मा पाएको दियालो (धुलिचन्द) पुरस्कार हो जो तीज शीर्षकको उत्कृष्ट निबन्धको निम्ति पाएको थिएँ । जो दियालो पत्रिकामा प्रकाशित छ ।

पश्चिम बंगाल नेपाली एकादेमी दार्जीलिङको भानु पुरस्कार पनि मेरो कथा सङ्कलन तीन दशक बीस अभिव्यक्तिको निम्ति मैले पाएको हो, जुन पुरस्कार पाउने पूर्वोत्तर भारत भनौँ पश्चिम बंगाललाई छोडेर समग्र भारतकै म पहिलो व्यक्ति हुँ । र, अन्तिम व्यक्ति पनि हुँ कि ? यो पुरस्कार पश्चिम बंगालभित्रै सीमित भएझैँ लाग्छ । भारतको राष्ट्रियस्तरको साहित्य अकादमी पुरस्कार पनि मैले पाएँ सन् १९८७ मा सिक्किम गान्तोकको अगम स्मृति  पुरस्कार र अन्य धेरै सम्मान पनि मैले पाएको हो । त्यसरी असमलगायत पूर्वोत्तर भारतबाट पनि धेरै पुरस्कार, सम्मान, अभिनन्दन पाएको छु । वाराणसीको मदन स्मारक सम्मान, कुबेतको अभिजमान ट्रष्टको पुरस्कार, नेपाली साहित्य सभा पुरस्कार आदि धेरै पुरस्कार र सम्मान मलाई प्राप्त भएको छ । यसरी भारतले दिएको माया पनि मेरा निम्ति अविस्मरणीय छ । अवश्य, मेरा पाठक र समीक्षक भने बढी नेपालमा छन् ।

बसाइँ त  एकभन्दा बढी अनुवादकले अंग्रेजीमा  अनुवाद गरे । त्यसको प्रतिफल के पाउनुभयो ? तपाईं कसरी सम्झना गर्नुहुन्छ ?

बसाइँका दुईवटा अंग्रेजी अनुवाद छन् । प्रथमचाहिँ अमेरिकाको सियाटल निवासी ल्यारी हार्टसेलले गरेका हुन् । यसको  शीर्षक ‘टु वार्डस् अन नोन होराइजन’ रहेको छ । यो मैले नै दिएको शीर्षक हो । विचरा हार्टसेलले उपन्यास मन पराएर अनुवाद गरे । तर, प्रकाशकको चाँजो मिलाउन सकेनन् । पछि मेरै आग्रहमा सिक्किम, गान्तोकबाट आँकुरा प्रकाशनद्वारा कविवर तुलसीराम कश्यपले प्रकाशन गरिदिए । बिक्री वितरणको दृष्टिले त्यति लाभान्वित भएन । तर, एउटा राम्रो कुरा के भयो भने भारतको राष्ट्रियस्तरको, राष्ट्रिय पुस्तक गुठीले नेशनल बुक ट्रस्ट अफ इन्डियाले बसाइँको कथासार दिएर यो अनुवादको पछिल्ला तीन अध्याय विभिन्न भाषाको अनुवाद कृति प्रकाशनको आफ्नो भीमकाय ग्रन्थमा समावेश गरेको छ र त्यस ग्रन्थमा नेपाली  साहित्यको पनि प्रतिनिधित्व भएको छ ।

बसाइँको दोस्रो अनुवाद लण्डन विश्वविद्यालयका प्राध्यापक  डा. माइकल जे हटले बेसारे रंगले रङ्गिएको पर्वत ‘माउन्टेन पेन्टेड विथ ट्युमेरिक’ शीर्षक दिएर गरेका छन् । उनले अनुवाद मात्रै गरेनन्, बरञ्च कोलम्बिया युनिभर्सिटी प्रेस न्यूयोर्क, अमेरिकाजस्तो ख्यातिप्राप्त प्रेसबाट प्रकाशनको चाँजो पनि मिलाए । साढे तीन प्रतिशतको दरले रोयल्टीवापत मैले पनि केही डलरका चेकहरू प्राप्त गरेको हो ।

वास्तवमा यी अनुवादले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्य संसारमा पुर्याएर उभ्याएको छ र मेरो परिचय पनि निकै फराकिलो  बनेको छ । अंग्रेजीबाहेक बसाइँको अनुवाद अन्य केही भाषा, जस्तै–असमीया, हिन्दी, चिनियाँ र थारूमा पनि भएको छ ।

कमल दीक्षितलाई तपाईं कसरी सम्झनुहुन्छ ?

कमल दीक्षितसित मेरो प्रथम परिचय सन् १९५६ तिर पत्राचारद्वारा  भएको हो । बसाइँ प्रकाशनसम्बन्धी उनीसित मेरो लामै पत्राचार भएको हो । बसाइँको  प्रकाशनपछि पनि हाम्रो पत्राचार र साहित्यिक आदान–प्रदान चलि नै रह्यो । उनीसित व्यक्ति परिचय भनौँ साक्षात्कार भने पत्राचार आरम्भ भएको झण्डै १० वर्ष पछिमात्र भयो । जब म सन् १९६६ मा पहिलोचोटि काठमाडौँ पुगेको थिएँ, मेरो पहिलो काठमाडौँ यात्रामा उनले मलाई धेरै ठाउँ डुलाएका थिए र धेरै साहित्यिकसित परिचय पनि गराएका थिए । अन्त्यमा उनले भनेको एउटा कुरा अझ म सम्झन्छु । उनले भनेका थिए– लीलबहादुरजी ! मैले  तपाईलाई त्यसै काठमाडौं डुलाएको होइन । यसमा मेरो स्वार्थ छ । तपाईंले अति चाँडै अर्को उपन्यास लेख्नुपर्छ र त्यस उपन्यासमा काठमाडौँको पनि झल्को आउनुपर्छ ।’ उनको यो भनाइले निश्चय नै मलाई कर्तव्यबोध गराएको हो र मैले ‘अतृप्त’ उपन्यास लेखेँ, जसमा काठमाडौँ पनि देखा पर्छ ।

असीम व्यक्तित्वका धनी कमल दीक्षित नेपाली भाषा र साहित्यलाई  ज्यादै माया गर्ने व्यक्ति हुन् । नेपाली भाषा र साहित्यका साधक दीक्षितजी एक विशिष्ट सोधकर्ता स्रष्टा र द्रष्टाका  रूपमा चिन्हित छन् । उनको जीवनकालमा  मसित उनको सम्बन्ध एक पारिवारिक सदस्यकै रूपमा विकसित भएको म अनुभव गर्दछु । उनी असम यात्रामा नबिराएर मेरो झुप्रामा पस्ने गर्थे । त्यसरी नै मेरो काठमाडौँ यात्रामा उनीसित भेट गर्ने कार्यक्रम अग्रिम बनिसकेको हुन्थ्यो ।

सन्  २ अक्टोबर  २०१६ को दिन मदन पुरस्कार गुठीको जगदम्बा श्री पुरस्कार कमलजीकै बाहुलीबाट मैले ग्रहण गरेको थिएँ, श्रद्धाले असमेली खास्टो ओढाएर मैले उनको अभिनन्दन  गरेको थिएँ । त्यसबेला के थाह कि कमल दीक्षितसित त्यो मेरो अन्तिम भेट थियो, त्यसको झन्डै तीन महिना भनौं, ८८ दिनपछि २९ दिसम्बर २०१६ को दिन उनको निधन हुन्छ । मदन पुरस्कार गुठीका विभिन्न एकाइ जीवित र सक्रिय रहुन्जेल उनी त जीवितै रहन्छन् । तर, उनको निधनले  नेपाली साहित्य संसारमा पारेको रिक्तताको खाल्डो भने सहजै पुरिने छैन ।

आफ्नो जीवनलाई  पछाडि फर्केर हेर्दा कति सार्थक भएको ठान्नुहुन्छ ?

प्रथम कुरो त जीवनलाई पछाडि फर्केर हेर्ने मेरो बानी छैन । केकेमा केके गरियोतिर नलागी आगामी केके हुनुपर्छतिर म लाग्छु । जीवनसम्बन्धी मेरो धारणा मैले एक-दुई ठाउँ व्यक्त गरेको छु र त्यसलाई  लिएर एक-दुई जनाले लेख पनि लेखेका छन् ।

जीवन मलाई लाग्छ एउटा गुजुल्टिएको, भनौँ जेलिएको, गाँठैगाँठा परेको धागोको डल्लो हो, जो सहजसित फुक्तैन । फुकाउने काम ज्यादै कष्टदायक हुन्छ । तर, जीवन बाँच्नका निम्ति, यसलाई भोग्नका निम्ति गुजुल्टिएको धागो फुकाउनैपर्छ । यो गुजुल्टो सम्पूर्ण फुकाउन जीवनभरि चेष्टा गरे पनि सम्भव हुँदैन । हामीले जति फुकाउन सक्यौँ, त्यति नै जीवनको उपलब्धि वा सार्थकता सम्झनुपर्दछ ।

साहित्यकारहरू जीवनको उत्तरकालमा आत्मकथा लेख्छन् । तपाईं पनि लेख्दै हुनुहुन्छ कि ?

साहित्यकार बनिसकेकाले आफ्नो जीवनी भनौं आत्मकथा लेख्नै पर्ने हो । किनभने, त्यसभित्र साहित्यकारको व्यक्तित्वसितै एउटा समाज एउटा समय, एउटा राष्ट्रको प्रतिविम्व फेला पर्छ । मलाई पनि किशोरावस्थामै एउटा लहड चलेको थियो जीवनी लेख्ने कता थालेजस्तो पनि लाग्छ मेरो पुर्ख्यौली थलोको वर्णनबाट । तर, जाँगर पुगेन । आँट आएन । समय पनि पुगेन ।  भूमिका, शुभकामना, फर्माइसी लेख, रेडियो प्रसारणका सामाग्री लेख्तालेख्तै । अब ता जीवनी वा आत्मकथाको कुरा सोच्दा मलाई छरपष्ट मेरा सिर्जनाको अगाध सागरबीच एउटा टापुमा उभिएजस्तो लाग्छ,  जुन सिर्जना सागरमा मेरा जीवनीका अंशहरू भनौँ पाटाहरू जताततै छरिएको फेला पर्छ । मेरो व्यक्तित्व र कृतित्वका आधारमा अहिलेसम्म शोध ग्रन्थ लेखेर विद्यावारिधिको उपाधि पाउने दुईजना निस्किएका छन् र अरू  चारजना जतिले त्यस दिशामा शोध कार्य गर्दैछन् ।

स्नातकोत्तर उपाधिका निम्ति शोध  प्रबन्ध लेख्नेहरूको संख्या मैले जानेकोमा १२ जति  पुगेको छ । ती शोध ग्रन्थमा के कस्ता सामाग्री  छन्, मलाई थाहा छैन । अब मलाई के लाग्छ भने म आत्मकथा  लेख्न सक्तिनँ र समय पनि रहेन । अवश्य कसैले मेरो जीवन लेख्ने इच्छा गरे सामाग्रीको अभाव छैन । तर, त्यो पाउनका निम्ति सम्पूर्ण मेरा छरपष्ट सिर्जना ग्रन्थ, संस्मरण, भूमिका संस्मरणादि, आख्यानात्मक कृति आदिको  गहिरो  दहमा डुब्न सक्नुपर्छ । तपाईंले  लिनुभएको यो अन्तर्वार्ता नै पनि यदि पूर्णरूपमा  प्रकाश भयो भने यहाँ मेरो आत्मकथा, भनौँ जीवनका केही पाटा, केही अंश फेला पर्दैनन् र ? यस्ता अन्तर्वार्ता झन्डै पचासको छेउछाउ छन् र हाल ग्रन्थाकारमा संकलन निकल्ने कुरा चल्दैछ ।

भारतमा नेपाली साहित्यको वर्तमान अवस्था कतिको सन्तोषप्रद पाउनुहुन्छ ?

भारतीय नेपाली साहित्यको अवस्था सन्तोषप्रद छ पनि, छैन पनि । अघि नेपालमा  राणाकालीन शासनताका नेपालका  साहित्यिक पनि नेपाली साहित्यको गतिशीलताको निम्ति भारतको दार्जीलिङतिर हेर्ने गर्थे । नेपाली साहित्यको प्रकाशन र पत्रपत्रिका उत्थानको उद्गम  थलो त्यसताका  वाराणसी थियो । दार्जीलिङका  सुधापा (सूर्य विक्रम ज्ञवाली, धरणधर कोइराला, पारसमणि  प्रधान) हरू नेपाली साहित्य साधकका रूपमा देखा परे र नेपाली साहित्यले दह्रो जरा गाड्ने मौका पायो । यसका हाँगाबिँगा फैलँदै गए । साहित्यिक पत्रिका पनि निकै देखा परे । यता पूर्वोत्तर भारत असममा पनि केही राम्रा कविहरू देखा परे । सन् १९३६ मै  साप्ताहिक पत्रिका गोर्खा सेवक शिलाङका बाबु मणिसिंह गुरूङको सम्पादनमा निस्केको हो ।

तर, अहिलेको स्थिति अर्कै छ । भारतीय नेपाली साहित्यको तुलनामा नेपालको  साहित्यिक गतिविधि धेरै अघि छ । उनीहरू अध्ययन, मनन चिन्तन गर्छन् र पाठक पनि राम्रै भएजस्तो लाग्छ । साहित्यमा नयाँ प्रयोग पनि भइरहेको छ । उत्तरआधुनिक धारले पनि नेपाली साहित्यलाई दह्रो गरी समातेकै देखापर्छ । यो गतिशीलताको कारण सरकारी टेवा पनि होला, जो भारतमा कम देखापर्छ ।

हाल दार्जीलिङको साहित्यक गतिविधि सिक्किमतिर सरेजस्तो लाग्छ, जहाँ सरकारी टेवा पर्याप्त पुगेको अनुमान हुन्छ । यता भारतको पूर्वाञ्चलमा नेपाली साहित्य घस्रिरहेको अनुभव हुन्छ । पठनपाठन प्रकाशन व्यवस्था ज्यादै दुर्बल परिलक्षित हुन्छ । असमव्यापी संगठन असम नेपाली साहित्य सभाले हाल केही सरकारी टेवा पाउने लक्षण देखा परेकाले केही आशा पलाएको छ ।

अब तपाईंको साहित्यिक महत्वाकांक्षा के हो ? बताइदिनुस् न ।

म साहित्यको क्षेत्रमा, भनौं कुनै पनि क्षेत्रमा त्यति  महत्त्वकांक्षी व्यक्ति होइन । म लेख्छु किनभने नलेखी बस्न सक्तिनँ । अनि, हो नलेखी बाँच्न पनि सक्तिनँ । म लेख्नमा अलि ढिलै छु र पनि धेरै लेखें भन्नुपर्छ । अहिलेसम्म मेरा चारवटा उपन्यास, चार कथा संकलन र चार–पाँचवटा निबन्ध संगालो, केही नाटक र एकांकी, कविता, गीतादि संकलन प्रकाशित छन् ।

यसबाहेक चारपाँचवटा ग्रन्थ बन्न सक्ने सामाग्री पत्र पत्रिकामा र मेरै फाइलमा पनि छरपष्ट छन् । सयवटा जति त अरूका कृतिमाथि भूमिका  शुभकामना लेखेँ । त्यसमध्ये ३२ वटा  भूमिकाको सङ्कलन, नेपाल चितवन भरतपुरका श्री डीआर पोख्रेलले सम्पादन गरी हाम्रो सिर्जना प्रकाशनद्वारा प्रकाश गरेका छन्, जो बजारमा उपलब्ध छ । त्यस  भूमिका संगालोको भूमिका डा. गोविन्दराज  भट्टराईले लेखेका छन् ।

मैले गुवाहाटी रेडियोलाई पनि अनगन्ती साहित्य सामग्री प्रसारणका निम्ति दिएको छु । अब नमरी बाँचे, दैवले साँचे, आगामी कालमा पत्रपत्रिकामा स्मृति ग्रन्थादिमा  छरपष्ट निबन्ध, जो पचासभन्दा बढी छन्, तिनैमध्येबाट छानेर किताबाकार अन्तर्वार्ता सङ्कलन छुट्टाछुट्टै पुस्तकाकारमा प्रकाश गर्ने आकांक्षा झुण्डिएको छ । हाम्रो ध्वनि पत्रिकाको एउटा विशेषाङ्कमा संकलित  मेरा पचास वटाभन्दा बढी कविता र गीत प्रकाशित छन् । पाठकहरूको आग्रहमा उक्त कविता र गीतहरूको दोस्रो संस्करण पनि निकाल्ने विचार छ ।

मेरा यी विचारहरू कुनै महत्त्वाकांक्षा होइनन्, वरञ्च पाठकहरूको आग्रह, जो जसले पूर्वाञ्चल भारतमा ओझेलिँदै गएका नेपाली साहित्यिक तथा सांस्कृतिक  गतिविधि पुनः प्रकाशमा आउने छ र नेपाली साहित्यलाई धेरै नयाँ तथ्यहरूको बोध हुनेछ ।

प्रतिक्रिया दिनुहोस