६ चैत्र २०७७, शुक्रबार || 19 Mar 2021, Friday

फर्किंदै पाहुना चरा

राराबाट निस्किने निकासखोला सुकेपछि तालको सतह घटेको अनुमान : रारा राष्ट्रिय निकुञ्‍ज

अहिले रारामा गहिराइ नाप्ने उपकरणसमेत छैन : पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया
राराबाट निस्किने निकासखोला सुकेपछि तालको सतह घटेको अनुमान : रारा राष्ट्रिय निकुञ्‍ज

 

चैत्र ५ गते २०७७
मुगु :- लामो खडेरी र जलवायु परिवर्तनको कारण प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पानीको सतह घटेको छ । राराबाट निस्किने निकासखोला सुकेपछि तालको सतह घटेको अनुमान गरिएको रारा राष्ट्रिय निकुञ्‍जले जनाएको छ ।

निकुञ्‍जका संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार राराबाट निस्किने निकासखोलामा अहिले पानी छैन । त्यहाँबाट पानी नबग्नु भनेको रारामा पानीको सतह तल खस्नु हो । ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको उनले जानकारी दिए । ‘अहिले राराको सतह करिब १० सेन्टिमिटर घटेको हाम्रो अनुमान रहेको छ, तर नाप्ने मेसिन नहुँदा कति घट्यो भन्ने एकिन थाहा हुन सकेको छैन,’ उनले भने, ‘गहिराइ नाप्नको लागि हामीले सम्बन्धित निकायसँग अनुरोध गरेका छौं ।’

समुद्री सतहदेखि २ हजार ९ सय २९ मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्दछन् । पर्याप्त हिमपात र वर्षा नहुादा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनारा पनि पहिलेभन्दा केही तह गएको बताए । ‘पुसदेखि राम्ररी हिउँ पनि परेको छैन, जेठसम्म त पानी अहिलेभन्दा अझ बढी घट्ने देखिन्छ,’ उनले भने, ‘तालको छाल (किनारा) तल सरेपछि पानी पनि घटेको हुनुपर्छ ।’

उनका अनुसार केही वर्षयता चुचुमारे लगायत अग्ला हिमालबाट बग्ने हिमनदीको पानी रारामा मिसिन छोडेको छ । चुचुमार, मुर्माटप, माथिल्लो मिलिचौर, ठाकुरज्यूला, लात्ताहानेको ढुंगालगायत लेकाली क्षेत्रमा बैशाखसम्म हिउँ जम्थ्यो । हिमनदीको पानी आउँदासम्म राराको सतह कहिल्यै नघटेको उनले बताए । ‘अहिले त आसपासका खोलासमेत खडेरीले सुके,’ उनले भने, ‘हिमालमा हिउँ देखिन छोडेपछि वन्यजन्तु र चराचुरुंगी पनि देखिन छाडेका छन् ।’

रारा मध्यवर्ती क्षेत्र विकास समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया जलवायु परिवर्तनको प्रभावले राराको पानी घटिरहेको बताउँछन् । जलवायू परिवर्तनके कारण बर्सेनि खडेरी हुने गरेको उनले बताए । अहिले रारामा गहिराइ नाप्ने उपकरणसमेत छैन । पञ्चायतकालमा ओखरबोट नजिकै पानीको सतह नाप्ने मिटर जडान गरिएको थियो । तर उक्त मिटर बिग्रिएपछि गहिराइ नाप्न समस्या भएको प्रमुख संरक्षण अधिकृत दाहालले बताए ।

 

निकासखोला सुक्दा संकट

राराको सतह घटेपछि तालबाट बगेर जाने निकासखोला सुकेको छ । खोलामा चैत नलाग्दै पानी सुकेको हो । साउनदेखि पुससम्म पानीको ठूलो बहाव हुने खोला सुकेपछि आसपासका किसान चिन्तित भएका छन् । खोला सुकेपछि स्थानीयलाई खेतबारीमा सिँचाइ गर्न समस्या भएको छ । रारा तालबाट निस्किने खोला सुकेपछि घट्ट पिस्न, नुहाउन र कपडा धुन समस्या भएको मुर्माका देविसिंह रोकायाले बताए । उनका अनुसार निकासखोला सुकेपछि खत्याड खोलामा पनि पानीको बहाव कम हुँदै गएको छ । ‘खोला सुकेपछि अधिकांश जलचर संकटमा परेका छन्,’ उनले भने, ‘आसपासका क्षेत्रमा सिँचाइको समस्यासमेत चुलिएको छ ।’

राराबाट बगेर गएको निकास खोला माँझघट्ट हँुदै खत्याड गाउापालिकाको सुकाढिकबाट हुम्ला कर्णाली नदीमा मिसिने गरेको छ । निकास खोला सुकेपछि गहुँ र जौबाली सुक्न थालेको स्थानीय टेकबहादुर बाँनियाले बताए । ‘खडेरीका कारण रारा आसपासका गाउँमा गर्मी हुन थालेको छ,’ उनले भने, ‘निकुञ्‍जका वन्यजन्तु संकटमा परेका छन् ।’ खडेरीका कारण मध्यवर्ती वन क्षेत्रमा आगलागीका घटना पनि बढिरहेका उनले बताए । उनका अनुसार एक साताअघि निकुञ्‍जमा लागेको ३ दिनपछि मात्र नियन्त्रणमा आएको थियो ।

फर्किंदै पाहुना चरा

गर्मी सुरु भएपछि विभिन्न देशबाट चिसो छल्न रारा आएका चराहरु फर्कन थालेका छन् । मंसिर पहिलो साता मानसरोवर, साइबेरिया, भारतको नैनिताललगायत ठाउबाट चिसो छल्न रारा आएका चराहरु उतै फर्कन थालेका हुन् ।

रारामा यो वर्ष खोयाहाँस, कर्‍याङकुरुङ, बकुटलगायत प्रजातिका चरा चिसो छल्न आएको निकुञ्‍जले जनाएको छ । प्रमुख संरक्षण अधिकृत दाहालका अनुसार यो वर्ष झण्डै २० प्रजातिका चरा विभिन्न देशबाट आएका थिए ।

‘झण्डै आधा चरा जहाँबाट आएका हुन् त्यही फर्किसकेका छन्,’ उनले भने, ‘चैत लागेसँगै रारा क्षेत्र रैथाने चराले भरिन थालेको छ ।’ उनले यो वर्ष सबैभन्दा धेरै साइबेरियाबाट खोयाहाास चिसो छल्न रारामा आएको जानकारी दिए ।  साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस