११ चैत्र २०७७, बुधबार || 24 Mar 2021, Wednesday

भूमिका र कर्मको समीक्षा गर्ने बेला

एमाले जोगाउने सूत्र

एमालेलाई समाप्त पार्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल योजनाबद्ध ढंगले लागेको स्पष्ट देखिन्छ
- ताराप्रसाद ओली

एमाले जोगाउने सूत्र

चैत्र १० गते २०७७

मुलुकको सबैभन्दा ठूलो पार्टी एमालेका नेताहरू अहिले न सम्बन्ध, न त सम्बन्ध विच्छेदको अवस्थामा छन्। तत्काल एमाले न फुट्न सक्छ, न जुट्न नै। पार्टीभित्र समानान्तर गतिविधि चलिरहेका छन्, जुँगाको लडाइँ जारी छ। अब माधव–झलनाथ पक्षले आफ्नो पोजिसन स्पष्ट पार्नुपर्ने बेला आएको छ। दुईवटा डुंगामा खुट्टा राखेर कतै पुग्न सकिँदैन। मन प्रचण्डतिर र तन एमालेतिर राखेर उहाँहरूको राजनीति जोगिँदैन।

एमालेमा अहिले न मन मिल्छ, न मत मिल्छ, न भावना मिल्छ, न त चाहना मिल्छ। जनताको बहुदलीय जनवादले समेत उहाँहरूलाई जोड्न सक्दैन भने जबर्जस्ती एउटै पार्टीमा रहनुभन्दा अलग बाटो समात्नु नै श्रेयस्कर हुन्छ। कम्युनिस्ट नेताहरूले विचार, सिद्धान्त, दर्शन र कार्यक्रमलाई तिलाञ्जली दिएर पद र प्रतिष्ठाको लडाइँ लड्न थालेको वर्षौं भइसकेको छ। पानीलाई जतिसुकै उमाले पनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किन्छ र चिसो हुन्छ। उहाँहरूको पदलोलुप चरित्र जतिसुकै ढाकछोप गर्न खोजे पनि उदांगो भइसकेको छ।

महाधिवेशनको तयारीमा जुटौं

नीति र नेताबारे छिनोफानो गर्ने सर्वोच्च र सार्वभौम थलो महाधिवेशन होस अर्याल होटल, हेरिटेज गार्डेन वा बालुवाटारको कोठे बैठक होइन। गुटगत भेला र आरोप–प्रत्यारोपले न पार्टी बन्छ, न त नेता नै बन्न सकिन्छ। अँध्यारो कुनामा षड्यन्त्रका तानाबाना बुनेर नेतृत्वमा पुग्ने सपना देख्न एमालेजनले छाड्नुपर्छ।

नोबेल पुरस्कार विजेता साहित्यकार अल्बर्ट कामुद्वारा लिखित कृति द मिथ अफ सिसिफसको कथा चर्चित छ। ग्रिक सभ्यताको पौराणिक कथामा एउटा सिसिफस भन्ने पात्र भेटिन्छ। जो साह्रै क्रूर, कपटी र धूर्त भएका कारण श्रापित हुन पुग्छ। उसलाई दिइएको श्रापअनुसार उसले सधैं एउटा ठूलो ढुंगोलाई बडो मुस्किलले उकालोतिर घचेट्दै डाँडाको टुप्पोमा पुर्‍याउनुपर्छ। जुन ढुंगा विस्तारै तलतिर गुड्छ। त्यही ढुंगोलाई डाँडाका टुप्पोमा पुर्‍याइरहनु सिसिफसको दैनिकी र नियति बन्न पुग्छ। एमाले नेताहरू पनि हिजोआज यस्तै उपलब्धिविहीन, निरर्थक र औचित्यहीन भेलामा व्यस्त छन्। सबै तिक्तता बिर्सेर महाधिवेशनको दिशामा अग्रसर हुनु नै सर्वोत्तम विकल्प हो।

हैसियतअनुसारको जिम्मेवारी

सर्वोच्च अदालतको आदेशपछि एमालेले पुनर्जीवन पाएको छ। लामो समयपछि क्रियाशील भएको पार्टीलाई गति प्रदान गर्न महाधिवेशनबाट निर्वाचित पदहरूलाई अक्षुण्ण राख्दै नयाँ कार्यविभाजन गर्नुपर्छ। बदलिएको परिवेशमा तीन वर्षपछि पनि सोही कार्यविभाजन लागु हुुनुपर्छ भन्ने अडान हलो अड्काएर गोरु चुटेसरह नै हो। माओवादी केन्द्र परित्याग गरेर जोखिम उठाएका नेताहरूलाई सम्मानजनक रूपले व्यवस्थापन गर्नुपर्छ। गुटतन्त्र हावी हुँदा परिश्रमी कार्यकर्ताले भरिएको एमाले परिक्रमीहरूको पार्टीमा रूपान्तरण हुने खतरा बढ्दै गएको छ। अवसरको न्यायोचित बाँडफाँडले मात्र पार्टीभित्रका अन्तर्विरोध हल हुन सक्छन्। अहिले प्राप्त हुने जिम्मेवारी तदर्थ प्रकृतिका हुन्। यसलाई ठुलो प्रतिष्ठाको विषय बनाउन जरुरी छैन्।

विधिको परिपालना

कुनै पनि पार्टी जीवन्त र क्रियाशील हुने माध्यम भनेको विधिको पालना नै हो। पार्टी विधिसम्मत, प्रक्रियासम्मत र संस्थागत रूपले सञ्चालन भएमा मात्र पार्टीभित्रका अन्तरद्वन्द्व हल भएर जान्छन्। अस्ट्रेलियन विद्वान् आल्फ्रेड आडलरको प्रसिद्ध भनाइ छ, ‘कुनै पनि व्यक्तिलाई सिद्धान्तका लागि लड्नुभन्दा त्यो सिद्धान्त परिपालना गर्न कठिन हुन्छ।’ एमालेका सबै नेताहरू विधि, विचार र विधानको घेराभित्र रहेर संघर्ष गर्न तयार हुनुपर्छ।
एमालेभित्र ओली ताजा बहुमतमा छन् र माधव पक्ष प्रस्ट अल्पमतमा छ। कम्युनिस्ट पार्टीमा अल्पमत बहमुतको अधीनस्थ रहन्छ। कम्युनिस्टको सांगठनिक सिद्धान्त यही हो, लोकतन्त्रको आधारभूत मान्यता पनि बहुमतको निर्णय र अल्पमतको सम्मान नै हो। बहुमतमा भएर पनि प्रधानमन्त्री ओलीले गत फागुन २८ गते गुटगत भेलाबाट निर्णय गरेर शान्त तलाउमा ढुंगा हान्ने काम गरेका छन्। बैठकपूर्व महासचिव नेतृत्वको सचिवालयले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको कार्यसूची तयार गर्ने एमालेको प्रचलनलाई पार्टी अध्यक्षले पालना गर्न जरुरी छ। दुवै पक्षका भेलाका निष्कर्षलाई बागमती नदीमा बगाएर नयाँ शिराबाट छलफलको थालनी गर्नुपर्छ। सहमतिका आधारमा केन्द्रीय बैठक र एजेन्डाको तय गर्दै पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्नुपर्छ। गुपचुप र अपारदर्शी कार्यशैलीले पार्टीलाई कमजोर बनाउँछ। नेताहरूले पूर्वाग्रह, इगो र बदलाभावले प्रेरित भएर विभाजनकारी गतिविधि गर्नुभन्दा पार्टी पुनर्गठन र पुनर्निर्माण अभियानमा जोडिनु सबैका लागि हितकर हुनेछ।

वामदेवको सक्रियता आवश्यक

कम्युनिस्ट एकताको अभियान छेडिरहेका उपाध्यक्ष वामदेव गौतमले मूकदर्शक र रमिते नबनी एमाले एकताका लागि मध्यस्थकर्ताको भूमिका खेल्नुपर्ने समय आएको छ। विभाजनको सबैभन्दा ठूलो पीडा भोगेका गौतमले एमालेभित्र भावनात्मक एकताका लागि हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने परिस्थिति सिर्जना भएको छ। नेपाली कम्युनिस्ट आन्दोलनको केन्द्र एमाले नै हो। कम्युनिस्ट आन्दोलनको मियो पार्टी टुक्राटुक्रा भए नेपाली कम्युनिस्ट आन्दोलन विसर्जन हुन्छ। जननेता मदन भण्डारीले कुनै बेला भनेका थिए, ‘वामदेवविनाको एमाले लुलो हुन्छ भने वामदेव नेतृत्वको एमाले धुलो हुन्छ।’ राजनीतिमा एउटा भनाइ छ, ‘डन्ट स्ट्यान्ड अन द डोर।’ कठिन घडीमा नेतृत्वको परीक्षण हुन्छ र कठिन समयले नै नेता जन्माउँछ। वामदेव गौतमको अगाडि ठूलो अवसरको घन्टी बजेको छ। यो अवसरको सदुपयोग गर्दै एमालेलाई एकीकृत बनाउने अभियानमा लाग्नु अपरिहार्य छ।

कार्यकर्ताको सचेत विद्रोह

राणा प्रधानमन्त्री जंगबहादुर राणासँग जोडिएको एउटा सन्दर्भ यहाँनेर सान्दर्भिक हुन्छ। कुनै दिन जंगबहादुर सैनिकहरूको फौजसहित चितवनको दक्षिणी भेगमा सिकार गर्न गएछन्। त्यसै समयमा उनले फौजका कमान्डरहरूको इमानदारी जाँच्नका लागि गजबको जुक्ति निकालेछन्। उनले जंगलमा सबैभन्दा धेरै बांगोटिंगो परेको रूखलाई देखाउँदै भनेछन्, ‘हेर त कमान्डरहरू हो, यो रूख कस्तो सर्लक्क परेको सीधा रहेछ। हो कि हैन रु भन त।’

उनको यस्तो कुरा सुनेर चाकरी गर्न खप्पिस कमान्डरहरूले हो मा हो मिलाउँदै भनेछन्, ‘महाराज, यो रूख त यहाँबाट झन् सीधा देखियो।’ अर्को कमान्डरले दुर्बिनले हेरेजस्तो गरेर भनेछ, ‘महाराज, यहाँबाट त झन्् सीधा देखियो। रानी साहेबहरूलाई डोली बोक्न काम लाग्छ।’ यसरी पालैपालो धेरैजनाले बांगो रूखलाई सीधा भएको भनेछन्।

एकजना कमान्डरले साहस जुटाएर भनेछन्, ‘हजुरका आँखा फुटेका हुन् कि मेरो गर्धन चिलाएको हो, यो रूख त ज्यादै बांगो पो छ महाराज।’ सत्य बोल्ने ती सैनिक कमाण्डर पुरष्कृत भएर थप दुई फुली हात पारे रे।

हरेक कार्यकर्ता आफ्नो पार्टीप्रति प्रतिबद्ध हुन्छन्, पार्टीप्रति उनीहरूको आस्था, विश्वास, जिन्दगी र भविष्य जोडिएको हुन्छ। जुन पार्टीमा आफ्नो लगानी, श्रम, संघर्ष र लगाव छ, त्यो पार्टी समाप्त र लथालिंग होस् भनेर कोही पनि चाहँदैनन्। एमाले पार्टीलाई फुट हुनबाट जोगाउने हो भने पार्टीका प्रायवाणु एवं खम्बा मानिने कार्यकर्ताले नेतृत्वमाथि प्रश्न गर्ने हिम्मत जुटाउनुपर्छ। गुटगत गतिविधिबाट टाढा रहेर एकताको वातावरण तयार गर्न भुमिका निर्वाह गर्नुपर्छ।

दम्भ र अहंकार त्यागौं

दक्षिण अफ्रिकाको एउटा चिडियाखानामा सिंहको डमरु तथा मृगको बच्चालाई सँगै हुर्काइएको थियो। डमरु बढेर सिंह भएपछि आफ्नो बालसाथी मृगलाई सिकार गर्नुको साटो ऊसँगसँगै खेल्न थाल्यो। त्यति मात्र होइन, जब त्यो ठुलो भएको सिंहलाई जंगलमा लगेर छाडियो, जंगलका मृगहरूलाई समेत त्यो सिंहले सिकार गरेन। एमाले नेताहरू सँगै बस्न नसक्ने कुनै कारण छैन।

कविशिरोमणि लेखनाथ पौडेलले मानवीय प्रवृत्तिलाई व्यंग्य गर्दै मार्मिक हरफ कोरका छन्। एउटा कवितामा उनी लेख्छन्, ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ, म बाचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू।’ पौडेलले यी शब्द निश्चय नै एमालेकै लागि भनेर कोरेका होइनन् तर आजका दिनमा एमाले पतनउन्मुख हुनुको मुख्य कारकतत्व भनेकै म खाऊँ, मै लाऊँ भन्ने प्रवृत्ति नै हो। एमालेमा लोभी, पापी, स्वार्थी तथा बिचौलियाको रजगज चल्न थालेको छ। पार्टीभित्र हावी हुँदै गएको व्यक्तिवादी चरित्र र मेरो गोरुको बाह्रै टक्का गर्ने अहंकारी प्रवृत्ति एकताको लागि वाधक छ।

धमिलो पानीमा माछा मार्ने दाउ

एमालेलाई समाप्त पार्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल योजनाबद्ध ढंगले लागेको स्पष्ट देखिन्छ। पछिल्लो समयमा सबथोक गुमाएर हारेको जुवाडेजस्तो अवस्थामा पुग्नुभएका प्रचण्डले एमालेलाई तहसनहस पारेर बलियो हुने खेल खेलिरहनुभएको छ। फुटाऊ र राज गर सिद्धान्तका सम्राट् कमरेड प्रचण्डले एमालेभित्र चर्को द्वन्द्व सिर्जना गराएर लाभ लिने कसरत गरिरहनुभएको तथ्य लुकेको छैन। कमरेड प्रचण्डले माधवकुमार नेपाललगायतका नेताहरूको राजनीतिक भविष्यको चिन्ता लागेर सहानुभूति प्रकट गर्नुभएको पटक्कै होइन। भुईंको टिप्न खोज्दा खल्तीको झरेपछि कमरेड प्रचण्ड निकै बेचैन हुनुहुन्छ। एमाले फुटाएर केही थान नेता–कार्यकर्तालाई पार्टीमा ल्याउने उहाँको योजना ओपेन सेक्रेटजस्तै छ।

माधव कमरेडहरू एमाले कब्जा गर्न जानुभएको हो। सके कब्जा गर्नुहुन्छ, नसके विद्रोह गर्नुहुन्छ। माधव नेपालहरूको कसरी उद्धार गर्ने चिन्ता छ भन्ने जस्ता अभिव्यक्ति दिएर एमालेभित्र अविश्वास र आशंकाको वातावरण सिर्जना गर्न प्रचण्ड लागिरहनुभएको छ। यति साधारण तथ्यको हेक्का माधव पक्षले नराख्ने हो भने उहाँको राजनीतिक जीवनमा निकै संकट पर्नेछ। राजनीतिक विचारक टमस हब्स मानिसलाई चरम स्वार्थी र असामाजिक प्राणी ठान्छन्। उनका अनुसार मानिस तीन कारणले झगडालु बन्छ, प्रतिस्पर्धा, पारिस्परिक अविश्वास र वैभव। मानिस स्वभावले नै प्रतिस्पर्धी प्राणी हो। आपसी मतमतान्तर नितान्त स्वाभाविक कुरा हुन्। पार्टी हितका लागि सबैले योगदान पुर्‍याउनुको विकल्प छैन।

केही समयपहिले राजनीतिमा एउटा शब्दको खुब प्रयोग हुन्थ्यो, सिंहावलोकन। सिंहले दुईचार पाइला हिँडेपछि त्यसपछि टक्क रोकिन्छ। पछाडि फर्किन्छ। दायाँबायाँ फर्किन्छ। कतैबाट खतरा छ कि छैन भन्ने हेरेपछि अगाडि बढ्छ। त्यसरी अगाडि बढ्ने क्रममा पछाडि फर्केर आफ्नो कामको मूल्यांकन गर्ने गरिन्छ। अब एमाले नेताहरूले पनि आफ्नो भूमिका र कर्मको समीक्षा गर्ने बेला आएको छ। सांगठनिक रूपमा बलियो र व्यवस्थित एवं वैचारिक रूपमा सुदृढ पार्टी एमाले विभाजित भए नेपाली कम्युनिस्ट आन्दोलन उठ्नै नसक्ने गरी थला पर्नेछ।

–ओली अधिवक्ता हुन्।
साभार अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस