२१ चैत्र २०७७, शनिबार || 03 Apr 2021, Saturday

नेपाली समाज र माटो सुहाउँदो एमाले

एमाले र माओवादीको सुखद डिभोर्स

वर्तमानमा ओली मात्रै समृद्ध नेपालको नेतृत्वदायी ब्रान्डिङ बन्न सक्छन भन्ने त व्यवहारतः पुष्टि नै भइसकेको छ
- राजेन्द्र मानन्धर

एमाले र माओवादीको सुखद डिभोर्स

 

चैत्र २० गते २०७७

पुनर्जन्म लिएर गत फागुन २३ को अपरान्ह सर्वोच्च अदालतको ढोकाबाट नेकपा एमाले निस्कँदा मुलुकको समग्र राजनीति एकाएक तरंगित भयो। पूर्वएमालेजन अदालतबाट ब्युँतिएको एमाले र सूर्य चिह्न सम्झँदै जहाँजहाँ थिए, त्यहींबाट पुलकित भएर उठे। प्रफुल्लताको सीमाको बाँध टुटेको अवस्थामा ‘हाइफाइ’ का लाखौं पञ्जा ठोक्किए। सामाजिक सञ्जालमा खुसीका शब्द थेगिनसक्नु आँधीसरह बग्न थाले। उमंगित जमात घरका आँगन र सडक चोकमा ओर्लिएर बत्ती बाल्दै पुनर्जीवित एमालेलाई स्वागत गर्न थाले। अपत्यारिलो तर वास्तविक एमाले आगमणको उत्साहले देशको सीमा नाघ्यो। परदेशी नेपालीजनले विभिन्न देशबाट जहाँजहाँ थिए, त्यहींबाट खुसी प्रकट गरे।

नेकपा एमालेको पूनर्जन्म आकस्मिक घटना मात्र थिएनसयो न्यायालयको बेन्चबाट ब्युँतिएको अत्यावश्यक शक्तिको पुनरोदय थियो। यसकारण कि एमाले नाम र सूर्यअंकित लोगो नेपालको राजनीतिको सर्वाधिक आशा र भरोसा गरिएको ब्रान्ड हो। नेपालीका काखमा हुर्किएको, देशीविदेशी शक्तिले हल्लाउन नसकेको एउटा सशक्त जनआधारसहितको दल हो।

खुसी र उल्लास छाइरहेकै बेला एमाले अदालतको मूल ढोकाबाट निस्कनेबित्तिकै कतिपयका निधार चिटचिटाए। कतिपयका रक्तचापको सुई उकालो चढ्यो। केहीका मथिंगल भाउन्नियो। कहिल्यै एमाले र सूर्य चिह्नको भलो नचाहनेहरू मात्र हैनस त्यहीं दल र चिह्नबाट पहिचान बनाएका पात्रहरू पनि अर्धचेतन मुद्रामा बर्बराउन थाले।

नागरिक समाजका ‘स्वघोषित सुपात्रहरू’, जो कम्युनिस्ट सत्ता भत्काइहाल्ने ‘अनागरिक’ गतिविधिमा थिए, उनीहरू दम सकिएको घडीजस्तै टक्क रोकिए। जन्मिएको घरबाहिर बसेर जग कोतर्न अहोरात्र योगदान गरिरहने पेटिठेकेदारहरूका ज्यावलहरू हातबाट भुईमा खसे। विश्व परिदृश्यबाट कम्युनिस्ट शब्दकै समूल अन्त्य गर्ने कसम खाने विदेशी मूल ठेकेदारहरू पनि एमाले ब्युँतिएकामा चकित भए।

एमालेको पुनर्जन्ममा किन खुसी र दुःखीका आँधी एकैसाथ चले ? किन मुस्कान र चीत्कारका आगो एकैपटक दन्किए ? किन उमंगका लहर र मुर्छित शरीरहरू एकैपटक सडकमा देखिए ? यी प्रश्नको जवाफ एकैपटक दिन सजिलो छैन तर यति भन्न सकिन्छ– जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारी ब्रान्ड हो एमाले। नेपाली समाज र माटोसुहाउँदो एमाले नामको राजनीतिक दल, सुव्यवस्थित राजनीतिक संगठन र सतिशालजत्तिकै अनुशासित कार्यकर्ताको पंक्तिले शोभायमान छ। जरादेखि हाँगाबिँगा र टुप्पोसम्म मिलेको सांगठनिक पद्धति छ एमालेसित। यी विशेषतासहितको समुच्च संरचना नै एमाले हो। र, यो पार्टीसित दक्षिण एसिया मात्र नभई विश्वकै ध्यानाकृष्ट गराउन सक्ने केपी शर्मा ओलीको ‘भिजनरी’र सुविचारित नेतृत्व छ।

एमालेको पुनर्जन्म अदालतका आँखामा कानुनी व्याख्यामात्रै हो। आरोप लगाइएजस्तो फैसलामा कुनै राजनीतिक सम्बन्ध छ भनिनु फगत बेतुकको चिच्याहट हो। फैसलाको सारलाई खिच्दै भन्नुपर्दा यो एमाले र माओवादी जोडीको सुखद डिभोर्स हो, जो पूर्वएमालेका लागि जरुरी थियो। किनभने यो सुखद डिभोर्सबाट मात्रै नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको रक्षा हुन पुग्यो। जनयुद्धको रकमी उपयोगवादी र छलकारी जुन चरित्रबाट प्रचण्डको उदय भएको थियोस त्यसको नियतीले अन्ततः पूर्वमाओवादीलाई सुनसान बाटोको एकल यात्री बन्न अभिशप्त पार्ने नै थियो। भयो।

अदालतको बेञ्चबाट एमाले ब्युँतनु नेपाली राजनीतिमा चौतर्फी अवसरले पर्दा उघ्रिनु हो। एउटा पंक्तिमा परिभाषित अदालतको व्याख्याले नेपालका राजनीतिक दलहरूलाई जुट्नु वा फुट्नु दुवै लाभदायक छैन भन्ने शिक्षा दिएको छ। दुई दशकअघि एमाले र माले फुटेर दुई दल हुनुले दुर्गति नै सावित गर्‍यो। कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिकको दुई दलीय अभ्यास पनि उक्त पार्टीका लागि फलिफापभन्दा विलाप सावित भयो। वामपन्थी दल, मधेसवादी दल र राष्ट्रिय प्रजातन्त्र पार्टीका फुट र पुनर्मिलनका अभ्यासले पनि ओरालै बाटो समातेको देखियो। विपरीत वैचारिक धारका एमाले र माओवादी जुट्ने बेलामै पनि एकताको कालगति प्रमाणित गरिसकेको थियो। अन्ततः पुष्टि भएरै छाड्यो। देश बलियो हुन लोकतन्त्र बलियो हुनुपर्छ। लोकतन्त्र बलियो हुन राजनीतिक दलहरू बलिया हुनुपर्छ। राजनीतिक दलहरू बलिया हुन त्यसको सिद्धान्त र संगठन बलियो हुनुपर्छ। वैचारिक धरातल समय र परिवेशसुहाउँदो हुनुपर्छ। आज आएर नेपाली कम्युनिस्ट इतिहासमा नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट वाम आन्दोलनमा स्वर्ण ढोका उघारिएको प्रमाणित हुँदै छ। जनताको बहुदलीय जनवाद अंगीकार गरेपछि एमाले अब्बल र बलियो दलका रूपमा स्थापित भएको प्राप्त जनमतका आधारमा उक्त तर्कका आधारहरू बनेका हुन्। त्यसैले एमालेको पुनर्जन्ममा खुसीका बिगुल बजेका हुन् र अर्कातिर बलीन्द्र अश्रुधारा रोदनको चीत्कार प्रकट भएका हुन्।

२०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएको नेकपा एमालेका लाखौं संगठित सदस्यहरूको पुनर्जन्म भएको छ। जुझारु नेपाली युवा र बयस्कहरू समाहित हजारौं कमिटी पुनः सञ्चालित भएका छन्। सूर्य चिह्नमा स्वस्तिक छाप लगाएका करोडौं नेपाली बालिग मतदाता फेरि एमालेकै झन्डा बोकेर हिँड्न थालेका छन्। जहाँ, जतापट्टिबाट जागे पनि एमालेकै संगठन बनिरहेको छ। एमालेकै कमिटीहरू रक्तसञ्चारित भएका छन्। अरू त अरू, एमाले ब्यँताउने गरी भएको अदालतको फैसलामाथि पुनरावलोकनको डम्फु बजाइरहेकाहरूको गतिविधिले पनि अन्ततः एमालेकै प्रचारलाई बलियो बनाइरहेको छ। त्यसैले एमालेजनहरू आत्तिनुपर्ने देखिँदैन। एमालेको छाता ओढ्न र सूर्य चिह्न छातीमा टाँसेर हिँड्नेलाई आगामी राजनीतिक गन्तव्य कठिन पनि काहींबाट देखिँदैन।

पछाडि फर्केर गम्दा, एमाले र जनताको बहुदलीय जनवाद छाडेर एकताका नाममा गुज्रिएका ती दिन कालो दिन सावित भएको प्रतीत हुन्छ। एमालेको नाम विस्थापन गरिनु र नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादलाई दराजमा थन्क्याउनु नेपाली कम्युनिस्ट राजनीतिमा दशाग्रह निम्त्याउनुसरह नै थियो। ती दिनमा न संठगन बने, न त सरकारले नै ‘कम्फरटेबल’ रूपमा अघि बढ्ने मौका पायो। बरु अरू नै शक्तिकेन्द्रलाई ‘कम्फरटेबल’ हुने गरी सरकार ढाल्ने कलुषित कोसिस भए। किचलो, झगडा, अवरोध, ईष्र्या र बेइमानीपूर्वक गतिविधिको षड्यन्त्रात्मक ब्युह रचिएस जुन इतिहासमै कलंकित सावित हुनेछन्।

नेपालमा कम्युनिस्ट सरकार बनेयता विश्व पुँजीवादका गिद्देदृष्टि नेपाली राजनीतितर्फ तेर्सिनै रहेको थियो। संविधान जारी गरिनु, नेपालको चुच्चे नक्सा छापिनुजस्ता राष्ट्रवादी कार्यले दक्षिणी छिमेकीमा ‘नन्कम्फर्टेबल’ अवस्था बन्यो। एमसीसीका सन्दर्भमा पनि अमेरिका बेखुसी नै रह्यो। चर्चित अमेरिकी विचारक नोम चोम्स्कीको भनाइ यहाँ सम्झनलायक छ। अमेरिकी सरकार कम्युनिस्ट राज भएका देशहरूमा सत्ताविरुद्ध जनतालाई भट्काउँछ, कम्युनिस्ट सडकमा भएका देशहरूमा सरकारलाई कम्युनिस्टमाथि दमन गर्न उक्साउँछ।’ एमसीसीका सन्दर्भमा पनि नेपालमाथि अमेरिकी नीति त्यस्तैत्यस्तै देखिन्छ। विश्वका अरू मुलुकमा भएको अभ्यासलाई हेर्ने हो भने पनि एमसीसीको अन्तर्य यही देखिन्छ।

अदालतको आदेशले एमाले त पुनर्जीवित गर्यो। तर, अब नेपाली अर्थ–राजनीतिको ब्रान्डिङ कसरी गर्ने त ? यो आजको अहम सवाल हो। विकास र समृद्धिको सैद्धान्तिक ब्रान्डिङ जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्छ। राष्ट्रिय पुँजी निर्माणका लागि नवउदारवादी स्वरूपको विश्व पुँजीवादसित जुध्ने यो एउटा वैचारिक हतियार पनि हो। यो लोकतान्त्रिक छ र बहुलवादका पक्षमा छ। दोस्रो ब्रान्डिङ हो– सूर्य चिह्न र एमाले। जबजको असली अंशियार र व्याख्याता भएको नाताले नेकपा एमालेले मात्रै अबको समृद्ध नेपालको अभिभारा बोक्न सक्छ। तेस्रो ब्रान्डिङ हो– ओली। सही विचार, सिद्धान्त र कार्यदिशाको कार्यान्वयन सही नेतृत्वले मात्रै गर्न सक्छ। वर्तमानमा ओली मात्रै समृद्ध नेपालको नेतृत्वदायी ब्रान्डिङ बन्न सक्छन भन्ने त व्यवहारतः पुष्टि नै भइसकेको छ। पछिल्ला दिनमा नेकपा एमालेको प्लेटफार्म फराकिलो बन्दै जानुमा पनि ओलीकै योगदान बढी देखिन्छ।

काठमाडौं बागबजारको साढे दुईतले साँघुरो घरबाट बल्खुस्थित आफ्नै ठूलो घर, त्यसपछि धुम्बाराहीको कम्पाउन्ड समेतको भव्य घर हुँदै अब मानव रोबटजडित अत्याधुनिक महलमा सर्दै छ एमाले। एमालेले परम्परागत प्रशासन, सांगठानिक ढाँचा र तौरतरिकालाई अटोमेसन गर्दै डिजिटल फ्रेमवर्कमा रूपान्तरण हुने तहमा छ। वाद, विचार र संगठन र नेताका तौरतरिकालाई डिजिटलाइज गर्ने क्रममा छ।

ओली सोच र चिन्तनको यानमा सहयात्रा गर्न केही दिनदेखि व्यापारी, बुद्धिजीवी र सर्वसाधरण एमाले प्रवेश गर्न लामबद्ध छन्। राजनीति विधाबाट टाढा बस्ने अदृश्य पात्र पनि तुलानत्मक दृष्टिमा केपी ओली नै ठीक छन् भन्ने अवस्थामा पुगेका छन्। चिया पसलदेखि केही जमघटमा नेता त बरु केपी ओली नै ठीक हो भन्ने बहस चलिरहेको छ। त्यसैले हिजोको इतिहास, आजको परिवेश र भोलिको भविश्यको आकलन गर्दा नेपालमा आगामी दिनमा फाप्ने कम्युनिस्ट पार्टी एमाले र चिह्न सूर्य नै हो भन्ने आसन्न चुनावले पनि परिपुष्ट गर्नेछ। साभार अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस