कार्तिक १७ गते २०८२
बाँके र बर्दिया जिल्लाका किसानले हालसम्म ८० प्रतिशतभन्दा बढी धान बाली काटेर भित्र्याइसकेका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खड्क बस्नेतले जिल्लाका आठ वटै पालिकामा किसानले ८० प्रतिशतभन्दा बढी धान बाली काटेर धान भित्र्याइसकेको बताउनुभयो । उहाँले जिल्लाका किसानले मोटो धान करिब करिब शतप्रतिशत भित्र्याइसकेको जनाउँदै मध्यम र मसिनो धान पनि ८० प्रतिशत जति भित्र्याइसकेको बताउनुभयो ।
नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले पालिकामा ८० प्रतिशतभन्दा बढी धान भित्र्याइसकेको र वर्षा पनि धेरै नभएकाले क्षति नभएको बताउनुभयो । राप्तीसोनारी गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक चन्द्राकुमारी शाहीले पनि वर्षाले गर्दा धेरै क्षति भएको जानकारी नआएको बताउनुभयो ।
डुडुवा गाउँपालिकाका कृषि प्राविधिक सहायक हनुमान यादवले पनि ८० प्रतिशत धान भित्र्याइसकेको र होचो जमिनमा लगाइएको मसिनो जातको धान पाक्न बाँकी रहेकाले क्षति हुन नपाएको बताउनुभयो ।
किसान धान काटेर भित्र्याउन व्यस्त रहेका बेला दुई/तीन दिन मौसम खराब भएर वर्षासमेत भएकाले धान बाली काट्ने कार्य प्रभावित भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत बस्नेतले बताउनुभयो । जिल्लामा वर्षा सामान्य भएको र अधिकांश धान किसानले भित्र्याइसकेको हुँदा यस पटक धानबालीमा वर्षाले क्षति नभएको आठ वटै पालिकाबाट जानकारी आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले बर्दियामा पनि ८० देखि ८५ प्रतिशतभन्दा बढी धान बाली भित्र्याइसकिएको जानकारी गराउँदै वर्षाले धान बालीमा ठुलो क्षति गरेको जानकारी नआएको बताउनुभएको छ ।
यद्यपि स्थानीय तहबाट जानकारी लिने काम भइरहेको जनाउँदै उहाँले धेरै क्षति भएको जानकारी कुनै पालिकाबाट आएमा मात्रै क्षतिको विवरण सङ्कलन गरिने बताउनुभयो । गोरखापत्र बाट
