बैशाख १० गते २०८३ राजेश आचार्य
कोहलपुर- बैशाख १२ गते हुने भेरी शीत भण्डार सहकारी संस्था लिमिटेड, कोहलपुरको निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ।
बाँके, बर्दिया र दाङ जिल्लाका कृषकहरूको साझा र महत्वपूर्ण संस्थाको रूपमा परिचित यस सहकारीको नेतृत्व चयनका लागि दुई बलिया समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ।
यसपटकको निर्वाचनमा बलराम भट्टराई र युबराज पौडेल नेतृत्वका दुई छुट्टाछुट्टै प्यानल मैदानमा उत्रिएका छन्। दुवै पक्षले आफ्ना उम्मेदवारसहित व्यापक घरदैलो, छलफल तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्, जसले गर्दा चुनाव थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।
भट्टराई समूहको प्यानल
बलराम भट्टराईको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको टिमले अनुभवी तथा सहकारी क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई समेटेको दाबी गरेको छ।
यस समूहबाट उपाध्यक्षमा अमर बहादुर खड्का,सञ्चालक सदस्यहरूमा गौरीकान्त आचार्य, सन्तबिर सुनार, चन्द्र बहादुर घर्ती र भिम बहादुर डागी तथा लेखा संयोजकमा बिष्णु कुमारी चौधरीलाई अघि सारेको छ ।
भट्टराई समूहले सहकारीको संस्थागत मजबुती, पारदर्शिता र कृषकको उत्पादनलाई बजारसँग जोड्ने दीर्घकालीन योजना अघि सारेको बताइएको छ।
पौडेल समूहको प्यानल
यता, युबराज पौडेल नेतृत्वको टिम पनि प्रतिस्पर्धामा उत्तिकै सशक्त देखिएको छ।
यस समूहबाट उपाध्यक्षमा मोहन रिजाल , लेखा संयोजकमा हेमकान्त लामिछाने सदस्यहरूमा सिताराम थारु र अर्जुन थारुलाई चुनावी मैदानमा उठाएको छ । पौडेल समूहले कृषकको हितलाई केन्द्रमा राख्दै सेवा विस्तार, भण्डारण क्षमता वृद्धि र सहकारीलाई अझ प्रभावकारी बनाउने एजेण्डा प्रस्तुत गरेको छ।
भेरी शीत भण्डार सहकारी संस्था लामो समयदेखि कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपजको सुरक्षित भण्डारण गर्दै आएको छ। यसले कृषकलाई उचित मूल्य पाउन सहयोग पुर्याउँदै आएकोले क्षेत्रीय अर्थतन्त्रमा यसको भूमिका महत्वपूर्ण मानिन्छ।
विशेषगरी, उत्पादनको उचित व्यवस्थापन र बजार अभावका कारण हुने क्षतिलाई कम गर्न शीत भण्डारले ठूलो योगदान दिएको छ। त्यसैले यस संस्थाको नेतृत्व कसले सम्हाल्छ भन्ने विषय कृषक समुदायका लागि चासोको केन्द्र बनेको छ।
यसपटकको निर्वाचनलाई कृषकहरूले केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई सहकारीको भावी दिशा तय गर्ने अवसरका रूपमा लिएका छन्।
संस्थागत विकास, पारदर्शिता, कृषकलाई राहत, उत्पादन वृद्धि तथा बजार सुनिश्चितता जस्ता मुद्दाहरू मतदाताका प्रमुख प्राथमिकतामा परेका छन्। मतदाताहरूले सक्षम, इमानदार र दूरदृष्टि भएको नेतृत्व रोज्ने अपेक्षा गरिएको छ। दुवै पक्षले आफूलाई परिवर्तनको संवाहकको रूपमा प्रस्तुत गरिरहेका छन्।
भेरी शीत भण्डार सहकारीको आगामी निर्वाचन प्रतिस्पर्धात्मक मात्र नभई अर्थपूर्ण पनि बनेको छ। कृषकहरूको भविष्य, उत्पादनको मूल्य र सहकारीको दिगोपनसँग प्रत्यक्ष जोडिएको यो निर्वाचनले नयाँ नेतृत्वमार्फत संस्थालाई कुन दिशामा लैजान्छ भन्ने कुराले व्यापक चासो पैदा गरेको छ।
