२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

२२ जनाले रक्तदान गरे

खजुरामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान, २९० जना लाभान्वित

नेपाल प्रहरी र स्वास्थ्यकर्मीबीचको सहकार्यले समुदायमा स्वास्थ्य सचेतना र सामाजिक सेवाको भावना थप मजबुत : बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसी
खजुरामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान, २९० जना लाभान्वित

जेठ १७ गते २०८३

गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमबाट २९० जना लाभान्वित भएका छन् ।

इलाका प्रहरी कार्यालय खजुरा–धनौलीसँगको सहकार्यमा लाइफ लाइन जनरल अस्पताल ले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरेको शिविरमा २९० जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधिसमेत प्राप्त गरेका छन् ।

अस्पतालका सञ्चालक तथा वरिष्ठ दन्त चिकित्सक डा। प्रतिक श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकका लागि विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच, औषधी वितरण तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार शिविरमार्फत २९० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ भने रगत परीक्षण तथा विभिन्न प्रयोगशाला सेवासमेत निःशुल्क उपलब्ध गराइएको छ ।

लाइफ लाइन जनरल अस्पतालका प्रबन्ध निर्देशक तथा फिजिसियन एवम् मिर्गौला रोग विशेषज्ञ डा। पारस श्रेष्ठका अनुसार शिविरमा ९० जनाको आँखा परीक्षण तथा ८५ भन्दा बढी बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण गरिएको थियो ।

नेपालगन्जमा उपचारका लागि बाहिरी जिल्लाबाट समेत बिरामी आउने र रगतको अभाव हुने अवस्थालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

परिवर्तन समूहका सचिव तथा कार्यक्रम संयोजक सौरभ कर्माचार्यले रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीलगायतले रक्तदान गर्नुभएको थियो । उहाँले नेपाल प्रहरी र स्वास्थ्यकर्मीबीचको सहकार्यले समुदायमा स्वास्थ्य सचेतना र सामाजिक सेवाको भावना थप मजबुत हुने बताउनुभयो । कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ललगायतको उपस्थिति रहेको थियो ।

शिविरमा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. विपिन आचार्य, फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठ, दन्त शल्यचिकित्सक डा. प्रतिक श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञ डा. क्रिस्टिन श्रेष्ठ, अर्थोपेडिक सर्जन डा. राहुल मिश्र, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. कपिल शाही, दन्त तथा मुख–जबडा शल्यचिकित्सक डा. विवेक महत, थाइराइड, मधुमेह तथा उच्च रक्तचाप रोग विशेषज्ञ डा. प्रकाश नाग, मूत्ररोग विशेषज्ञ डा. प्रवीन गुप्ता, फिजिसियन डा.सङ्कल्प सिग्देल, फिजियोथेरापिस्ट डा. विहानी श्रेष्ठ तथा आँखा रोग विशेषज्ञ डा. विक्रम थापालगायतका चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बाँकेका विभिन्न अस्पतालमा कार्यरत करिब १२ जना चिकित्सक, १४ जना नर्सिङकर्मी तथा तीन जना प्रयोगशालाकर्मीको सहभागिता रहेको थियो । साभार गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस