२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

स्वास्थ्य पोर्टल

निःशुल्क स्वास्थ्य पोर्टलबाट १२०० भन्दा बढी विपन्न नागरिक लाभान्वित

सरकारद्वारा सञ्चालनमा ल्याइएको अनलाइन प्रणालीमार्फत निःशुल्क शय्या र स्वास्थ्य सेवाको पहुँच बढ्दै, अस्पताल अनुगमनका लागि विशेष समिति परिचालन
निःशुल्क स्वास्थ्य पोर्टलबाट १२०० भन्दा बढी विपन्न नागरिक लाभान्वित

काठमाडौं — विपन्न तथा लक्षित वर्गलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ प्रभावकारी बन्दै गएको छ। पोर्टल सुरु भएको छोटो अवधिमै १ हजार २०० भन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शय्यासम्बन्धी सूचना उपलब्ध गराउने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको थियो। संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य उपचारको हकलाई व्यवहारमा कार्यान्वयन गर्ने लक्ष्यसहित सुरु गरिएको यो प्रणालीबाट आर्थिक रूपमा कमजोर तथा विपन्न वर्ग प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

पोर्टलमार्फत देशभरका अस्पतालमा तत्काल उपलब्ध शय्याको संख्या, निःशुल्कका लागि छुट्याइएका शय्या, प्रयोगमा रहेका निःशुल्क शय्या तथा बाँकी रहेका शय्याको अद्यावधिक विवरण हेर्न सकिने व्यवस्था गरिएको छ। मन्त्रालयले निकट भविष्यमा अस्पतालमा उपलब्ध अन्य सेवासम्बन्धी जानकारी पनि यही प्रणालीमार्फत उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले लक्षित वर्गले कानुनले सुनिश्चित गरेको सुविधा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको बताइन्। उनका अनुसार विगतमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच अस्पतालको इच्छामा निर्भर हुने अवस्था रहेकाले त्यसलाई अन्त्य गर्न यो प्रणाली प्रभावकारी माध्यम बनेको छ।

मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार तोकिएका १० अस्पतालले विपन्न वर्गका लागि अनिवार्य रूपमा १० शय्या छुट्याउनुपर्ने व्यवस्था छ। ती शय्यामा भर्ना भएका बिरामीलाई अस्पतालमा उपलब्ध सबै सेवा निःशुल्क प्रदान गर्नुपर्नेछ। साथै निःशुल्क शय्यासम्बन्धी सम्पूर्ण विवरण पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्ने गरी सार्वजनिक गर्नुपर्ने प्रावधान पनि राखिएको छ।

पोर्टलको प्रभावकारी कार्यान्वयन तथा अस्पतालहरूले व्यवस्था पालना गरे नगरेको अनुगमन गर्न सरकारले ६ वटा समिति गठन गरेको छ। ती समितिहरू हाल देशभरका ११ संघीय अस्पतालमा खटिएर अनुगमन गरिरहेका छन्।

सरकारले निःशुल्क स्वास्थ्य पोर्टललाई स्वास्थ्य सेवामा पारदर्शिता, पहुँच र उत्तरदायित्व बढाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ। मन्त्रालयका अनुसार आगामी दिनमा प्रणालीलाई थप विस्तार गर्दै स्वास्थ्य सेवासम्बन्धी अन्य सूचना तथा सुविधासमेत एकीकृत गरिनेछ।

प्रतिक्रिया दिनुहोस