साउन ५ गते २०८३ / निराजन वि.क
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर फिर्ता लिई लागु नगरिने निर्णय गरेको बताउनु भएको छ ।
प्रधानमन्त्री बालेनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताउनु भयो ।
उहाँले दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु उद्देश्य रहे पनि जनतामा थप निराशा पैदा हुने र जनताको व्यापक गुनासोको कदर गर्दै समता कर लागु नगर्ने निर्णय गरिएको बताउनु भयो ।
प्रधानमन्त्री बालेनले कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहने समेत बाचा गर्नु भएको छ ।
उहाँले विपन्न र गरिव नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
