२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

मुलुकभर तीन लाख सुकुमवासी, अहिलेसम्म २९ परिवारले मात्रै पुर्जा पाए

काठमाडौंका सुकुमवासीलाई जिल्ला पठाउँदै सरकार, दुई दिनमा पठायो ४६ परिवार

काठमाडौं उपत्यकाभित्र हालसम्म दुई हजार ६०८ घरपरिवार भूमिहीन सुकुमवासी प्रमाणित
काठमाडौंका सुकुमवासीलाई जिल्ला पठाउँदै सरकार, दुई दिनमा पठायो ४६ परिवार

साउन ७ गते २०८३

सरकारले काठमाडौं उपत्यकाभित्रका नदीकिनारबाट हटाइएका भूमिहीन सुकुमवासीलाई जिल्ला पठाउन थालेको छ । नागरिकतामा उल्लेखित वतनका आधारमा उनीहरूलाई सम्बन्धित जिल्ला पठाउन थालेको हो ।

सरकारबाट गठित भूमि समस्या समाधान समितिका अनुसार मंगलबार २९ परिवारलाई सर्लाही, सुनसरी, रौतहट, ताप्लेजुङ, चितवन, मोरङ, धनकुटा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, महोत्तरी, भोजपुर, सुनसरी, धनुषा, झापा र कास्की पठाइएकोमा बुधबार १७ परिवारलाई सम्बन्धित जिल्ला पठाइएको छ ।

‘काठमाडौं उपत्यकाभित्रका नदीकिनारबाट हटाइएका सुकुमवासीलाई उनीहरूकै जिल्ला पठाउन थालिएको छ । नागरिकतामा उल्लेखित भएको जिल्ला पहिचान गरी सम्बन्धित जिल्लामा पठाइएको हो,’ भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले भने, ‘मंगलबार २९ र बुधबार १७ परिवारलाई पठाइएको छ । यो क्रम जारी छ ।’

समितिका अनुसार काठमाडौं उपत्यकाभित्र हालसम्म दुई हजार ६०८ घरपरिवार भूमिहीन सुकुमवासी प्रमाणित भएका छन् । केही परिवारलाई भक्तपुरको खरिपाटी र बोडे तथा बनेपाको रेडक्रस तालिम केन्द्रमा राखिएको छ । ४० परिवारलाई तारकेश्वरको इचंगुनारायणस्थित आपर्टमेन्टमा राखिएको छ ।

अधिकांश आफैँ डेरा खोजेर तथा आफन्तको शरणमा पुगेका छन् । सरकारले गत १२ वैशाखदेखि काठमाडौं उपत्यकाभित्रका नदीकिनारमा बसेका सुकुमवासी बस्ती हटाएको थियो । त्यसपछि सरकारले नै उपलब्ध गराएको सेल्टरमा बस्दै आएकामा पछिल्लो समय २५ हजारका दरले दिएर आफैँ बासको व्यवस्था गर्नू भन्दै निकालेको थियो ।

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि खरिपाटी र बोडे पुर्‍याइएका परिवारको अवस्था अहिले पनि बिजोग छ । खुला चौरमा टाँगिएको टेन्टमा राखिँदा जीवन अस्तव्यस्त बनेको छ । उनीहरूलाई स्वच्छ खानेपानीको अभाव छ । शौचका लागि ट्वाइलेटको अभाव छ । लुगा धुने, नुहाउने, भाँडा माझ्ने उपयुक्त स्थान छैन । यो समस्याले विशेष गरी किशोरीहरूलाई ठुलो मर्कामा पारेको छ । अस्वस्थकर खाना खानुपरेको चिन्ता पनि जनाएका छन् । सुकुमवासी परिवारका बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

बोडे सेल्टरमा बस्दै आएका प्रवेश राइगाई त सुकुमवासीको सूचीमै नपरेपछि तनावमा रहेको बताउँछन् । ‘मेरो परिवारको सुकुमवासी सूचीमा नाम नै निस्किएन । म तनावमा छु । सुकुमवासीलाई जिल्ला पठाउने काम सुरु भएको छ । अब के गर्ने हो मैले त केही सोच्नै सकेको छैन,’ उनले भने, ‘जिल्ला पठायो र राम्रो बन्दोबस्त भयो भने त ठिकै होला । नत्र त झन् बिजोग हुने भो ।’

मुलुकभर तीन लाख सुकुमवासी, अहिलेसम्म २९ परिवारले मात्रै पुर्जा पाए

भूमि समस्या समाधान समितिका अनुसार हालसम्म मुलुकभर तीन लाख भूमिहीन सुकुमवासी रहेको पाइएको छ । जसमध्ये भूमिहीन दलित मात्रै एक लाख आठ हजार घरपरिवार छन् । भूमिहीन सुकुमवासी भने ८५ हजार घरपरिवार रहेका छन् । बाँकी एक लाख सात हजार घरपरिवारमध्ये अन्य समुदायका भूमिहीनहरू छन् ।

तर, सरकारले हालसम्म बर्दियाका २९ भूमिहीन परिवारलाई मात्रै धनीपुर्जा दिन सकेको छ । त्यसबाहेक झापामा २९ र चितवनको इच्छाकामना गाउँपालिका ३८ घरपरिवारलाई अबको केही दिनभित्रै धनीपुर्जा वितरण हुने समाधान समितिका अध्यक्ष बास्तोलाले बताए ।
‘मुलुकरभर झन्डै तीन लाखको हाराहारीमा भूमिहीन सुकुमवासी रहेको हाम्रो आँकडा छ ।

त्यसमध्ये २९ घर परिवारले धनीपुर्जा पाए । झापामा २९ र चितवनको इच्छाकामना गाउँपालिका ३८ घरपरिवारलाई अबको केही दिनभित्रै धनीपुर्जा वितरण हुँदै छ । काम क्रमशः अघि बढ्दै छ,’ उनले भने । नयाँ पत्रिका दैनिक बाट

प्रतिक्रिया दिनुहोस