२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

कृषि प्राविधिकको सिफारिस बिना स्याउ निर्यात गर्न नपाइने गरी निर्णय

सुर्खेत–नेपालगञ्ज लैजाँदै गरेको १८० कार्टुन काँचो स्याउ प्रहरी नियन्त्रणमा

काँचो निर्यात हुन लागेको स्याउमा पनि दुईवटा सिफारिस, एउटा सिफारिसमा ६० कार्टुन ,अर्कोमा ४० कार्टुन, तर स्याउ १८० कार्टुन
सुर्खेत–नेपालगञ्ज लैजाँदै गरेको १८० कार्टुन काँचो स्याउ प्रहरी नियन्त्रणमा

साउन १८ गते २०८३

जुम्ला — सुर्खेत र नेपालगञ्जका सहरमा निकासी भइरहेको काँचो जुम्ली स्याउ रारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । काँचो स्याउ जिल्ला बाहिर निर्यात गर्न नदिने निर्णयबमोजिम नपाकेको अवस्थामा लैजान लागेको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको स्याउको गुणस्तर र गुलियोपनाको अवस्था परीक्षण गरिएको छ ।

कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका कृषि शाखा, तिला गाउँपालिका कृषि शाखा, प्रहरी प्रशासन र स्थानीय कृषक व्यापारी लगायत सरोकारवालाको रोहवरमा स्याउको नमुना परीक्षण गरिएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले जानकारी दिए ।

सूचना अधिकारी धामीले भने, ‘स्याउ नपाक्दै निर्यात हुन थालेपछि प्रहरीले रोकेको हो ।’ उनका अनुसार रिफ्र्याक्टोमिटरमार्फत् स्याउको गुलियोपना परीक्षण भएको थियो । १५० कार्टुन स्याउमा गुलियोपना १२ प्रतिशतभन्दा माथि रहेको थियो । ९ कार्टुन स्याउ तथा केही स्थानीय जातका रेड डेलिसियस र रोयल डेलिसियस जातका स्याउको गुलियोपना ७ देखि ८ प्रतिशत मात्रै देखिएको थियो ।

पटकपटक स्याउको गुणस्तर खस्किने भन्दै पाकेको स्याउ मात्र जिल्ला बाहिर निर्यात गर्न भनिएको थियो । तर स्याउ किसान र व्यापारीले नपाकेको स्याउ नै लैजान थालेपछि कडा निगरानी थालिएको छ । बजार निकासीका लागि कम्तीमा पनि ११ प्रतिशत वा त्यसभन्दा माथि गुलियोपना भएको स्याउ उपयुक्त मानिने गर्छ । प्रहरीले नियन्त्रणमा लिएकोमध्ये १५० कार्टुन स्याउमा मापदण्डअनुसार गुलियोपना देखिएकाले स्याउको निकासी र बजार व्यवस्थापनका लागि समन्वय गरेर पठाउने निर्णय भएको सूचना अधिकारी धामीले बताए ।

नपाकेको र मापदण्डअनुसार गुलियोपना नभएको स्याउ प्रहरी प्रशासन, कृषि प्राविधिक, व्यापारी र स्थानीय किसानको रोहवरमा सवारीसाधनबाट उतारेर भण्डारमा राखिने भएको छ । उनले भने, ‘आवश्यक परिपक्वता र गुणस्तर प्राप्त गरी बजारमा पठाउन योग्य नभएसम्म निकासी नगर्ने निर्णय भएको छ ।’

रारा प्रहरी चौकीले कार्टुन हेर्दा काँचो स्याउ देखियो । जिल्लाको निर्णयअनुसार स्याउ रोकियो । जिल्ला प्रशासन कार्यालय जुम्लाले स्याउको अवस्था बुझ्न कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीको नेतृत्वमा कृषि प्राविधिक टोली खटाएको थियो । सो अवसरमा काँचो स्याउ चन्दननाथ नगरपालिका–८ र ९ बाट गएको देखिएको कृषि प्राविधिकहरूले बताए । टोलीले प्रत्येक कार्टुनको स्याउ हेरेर गुलियोपनाको परीक्षण गरेको थियो ।

अब कृषि प्राविधिकको सिफारिस बिना स्याउ निर्यात गर्न नपाइने गरी निर्णय हुन थालेको छ । स्थानीय तहले मनोमानी सिफारिस दिने भएकाले हरेक वर्ष काँचो स्याउ बजारमा जाने गरेको छ । स्याउको निर्यात सिफारिसमा स्याउको मात्रा लुकाउने गरेको देखियो । जसले यहाँको उत्पादनको मात्रा निकाल्न पनि समस्या भयो,’ सूचना अधिकारी धामीले दुखेसो पोखे ।

काँचो निर्यात हुन लागेको स्याउमा पनि दुईवटा सिफारिस दिइएको भेटिएको थियो । एउटा सिफारिसमा ६० कार्टुन थियो । अर्कोमा ४० कार्टुन, तर स्याउ १८० कार्टुन जाँदै थियो । स्थानीय सरकार र जनप्रतिनिधिलाई समेत जिम्मेवार भएर सिफारिस दिन आग्रह गरिएको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । साभार कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस