भाद्र ३ गते २०८३ / निराजन वि.क
कर्णाली प्रदेशको सल्यान बाट प्रतिनिधि सभामा निर्वाचित सांसद नेपाली कम्युनिष्ट पार्टीका नेता रमेश मल्लले बालश्रमको मुख्य कारण गरिबी रहेको भन्दै करिब सवा २ लाख बालबालिका जोखमपुर्ण काममा रहेको बताउनु भएको छ ।
सरकारले बाल श्रम ऐन २०५६ संशोधन गर्न ल्याएको विद्येयक माथिको छलफलमा बोल्दै सांसद मल्लले सदनमा यस्तो तथ्यांक प्रस्तुत गर्नु भएको हो । बालश्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा आवद्ध रहेको भन्दै सांसद मल्लले ११ लाख बालश्रमिकहरु रहेको दावी गर्नु भयो ।
बालश्रमलाई श्रम व्यवस्थापनको विषयमात्र नभई बालअधिकार, शिक्षा, सामाजिक न्याय र गरिबी न्यूनीकरणसँग जोडिएको विषयका रूपमा हेर्न आवश्यक रहेको सांसद मल्लको भनाइ थियो ।
विधेयकमाथि प्रतिनिधिसभामा बोल्दै सांसदहरूले नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्थाअनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउनु भएको छ ।
