भाद्र ४ गते २०८३ / रामगोपाल वि.क
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनु भएको छ । उहाँले दलिय सहमति बमोजिम ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । केन्द्रको निर्णय अवज्ञा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि सरकारमा सहभागी भएको छ ।
नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री, नेकपा एमालेबाट भरत केसी भौतिक तथा पूर्वाधार मन्त्री र ज्ञानबहादुर तामाङ विना विभागीय मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजु विष्ट खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री, राजेन्द्र प्रजापति उधोग पर्यटन श्रम तथा रोजगार मन्त्री, गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुले प्रदेशप्रमुख देवकोटा सामु पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।
नेपालको संविधानको धारा १६८(२) अनुसार बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नियुक्तिलगत्तै प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री किरण थापा मगरलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गरिएकामा बुधबार दाबी पेश गरिए अनुसार नै थापा नियुक्त हुनु भएको हो । १०४ जना सभासद रहेको बागमतीमा थापाले तीन दलका ६३ जनाको समर्थनमा बुधबार दाबी पेस गर्नु भएको थियो ।
सपथ ग्रहण कार्यक्रम बागमती प्रदेश उपसभामुख अप्सरा चापागाइ, पूर्वमुख्यमन्त्री डारमणि पोेडेल, प्रदेश प्रमुख सचिव कमलप्रसाद भट्टराई, पुर्व मुख्यमन्त्री शालिकराम जमरक्कटेल, प्रदेश सभा सचिव रामकुमार पौडेल, प्रदेश महान्यायाधिवक्ता अप्सरा बस्नेत, नेकपा एमाले प्रदेश इन्चार्ज महेष बस्नेत, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगनाथ थपलिया, सुरक्षा निकायका प्रदेश स्तरिय प्रमुखहरु, सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो ।

