२०८३ भाद्र ९ || 25 Aug 2026, Tuesday

सबैभन्दा बढी पीडित ११–१६ वर्षका बालिका

१ वर्षमा १० वर्षमुनिका २५० बालिका बलात्कृत

१० वर्षभन्दा कम उमेरका बालिका पूर्ण अशंक्त, अपांगता भएका वा ७० वर्ष माथिका महिलालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था
१ वर्षमा १० वर्षमुनिका २५० बालिका बलात्कृत

भाद्र ९ गते २०८३

प्रहरी प्रधान कार्यालयको  पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक केलाउँदा सरदर एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत भएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा १० वर्ष मुनिका २६८ बालिका बलात्कृत भएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा यो संख्यामा थोरै कमी आएर २५९ मा झरेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा पनि थोरै कमी हुँदै २५२ मा झरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा २१७ जना १० वर्ष मुनिका बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष २०८२/८३ मा भने यो संख्या बढेर फेरि २२१ पुगेको छ ।

प्रहरीमा आएर मुद्दा दर्ता भएका घटनाको विवरण मात्रै प्रहरीको रेकर्डमा रहन्छन् । तर बलात्कारका केही घटना त सार्वजनिक नै नगरी गुपचुप रूपमा दुई पक्षबीच मिलापत्र गराउने प्रवृत्ति पनि देखिन्छ । यी सबै घटनाहरू सार्वजनिक हुने हो भने बलात्कारको दर अझै बढी हुने देखिन्छ ।
बलात्कारबाट पीडित १० वर्षमुनिका बालिकाको संख्या वार्षिक सरदर २५० हुँदा १० वर्ष मुनिका पीडक बालकको संख्या भने न्यून देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा बलात्कार आरोपमा ७ जना १० वर्षमुनिका बालक पक्राउ परेर मुद्दा चलेको प्रहरीको तथ्यांक छ ।
२०८१/०८२ मा भने जम्मा २ जना १० वर्षमुनिका बालकविरुद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको रेकर्ड छ । त्यस्तै, २०८०/८१ मा १६ जना, २०७९/८० मा २ जना, २०७८/७९ मा ३ जना १० वर्ष मुनिका बालकविरुद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको तथ्यांक छ ।

बारा घटनाले एउटा पाठ सिकाएको अपराधशास्त्रमा स्नात्तकोत्तर गरेका नेपाल प्रहरीका पूर्वएसएसपी दिनेशराज मैनाली बताउँछन् ।
पीडितमात्रै नभएर अपराध गर्ने व्यक्ति पनि नाबालक रहेकोले उनको हुर्काइदेखि संगतबारे समेत परिवार सचेत नभएको बुझाइ उनको छ ।

‘हाम्रा बच्चालाई लालनपालन कसरी भइरहेको छ । समाज कसरी गाइडेड भएको छ । बच्चाले सही दिशा लिएको छ कि छैन । यसको विशेष ख्याल परिवारले गर्नुपर्छ,’ मैनाली भन्छन्, ‘सेक्सुअल अग्र्यान सम्बन्धीको शिक्षा अलि खुलेरै अध्ययन गराउनुपर्ने देखिन्छ । हामी धेरै कुरा लुकाउँदै बस्छौं । लुकाएर मात्रै समस्याको सामाधान हुँदैन ।’

सबैभन्दा बढी पीडित ११–१६ वर्षका

सबैभन्दा बढी बलात्कार पीडितको उमेर केलाउने हो भने ११–१६ वर्ष उमेर समूहको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा यो उमेर समूहका ९६३ बालिका बलात्कृत भएको प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०७९/८० मा यो उमेर समूहका ९४४ बालिका बलात्कृत भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा यो उमेर समूहका १ हजार ९ बालिका बलात्कार भएको प्रहरीको रेकर्ड छ । आर्थिक वर्ष २०८१/८२ मा ९३१ र आर्थिक वर्ष २०८२/८३ मा ९६६ बालिका बलात्कृत भएको प्रहरी प्रवक्ता काफ्ले बताउँछन् ।

किशोर उमेर समूह रहेकोले उनीहरू सहजै प्रलोभनमा पर्ने, सहजै विश्वास गरिहाल्ने भएकाले यो उमेर समूहका बालिकाहरू बढी बलात्कारको सिकार बन्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

किशोर उमेरमै हुने यस्ता विभत्स अपराधलाई सामाजिक, मनोवैज्ञानिक र मानसिक स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने वरिष्ठ मनोचिकित्सक डा। अनन्तप्रसाद अधिकारीको बुझाइ छ।

‘अहिलेका बच्चाहरूको व्यक्तित्व विकासमै विकार आएको देखिन्छ । डिजिटल प्लेटफर्ममा उपलब्ध सामग्री हेर्ने, त्यसबाट सिक्ने र नयाँ–नयाँ टेस्ट गर्ने, रिस्क व्यवहार देखाउने, जे कुराको पनि अनुभव लिइहालौं भन्ने गलत मनोवृत्ति हावी भएको देखिन्छ,’ अधिकारी भन्छन्, ‘यसैको असर अहिले किशोर अवस्थामै बलात्कार तथा हत्यामा संलग्न भएको देखिन्छ ।

यसका साथै पारिवारिक बिखण्डनको असरदेखि बच्चाको हुर्काइ, समाज, शिक्षा लगायतका विषयहरू पनि जोडिएर आउने उनको तर्क छ । ‘एन्टी सोसियल पर्सनालिटी विकास हुँदै जाने र समाजको मान्यता नमान्ने, किशोरावस्थामा मुड डिसअर्डर हुने अनि जे पायो त्यही गर्न मन लाग्ने हुन्छ,’ उनी भन्छन् ।

प्रत्येक वर्ष करिब २४ सय बलात्कृत, अधिकांश पीडित १८ वर्ष मुनिका

बलात्कार जस्तो जघन्य अपराधको दर निकै डरलाग्दो छ । सरदर प्रत्येक वर्ष करिब २४ सय जना बलात्कारबाट पीडित भएका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३९५ जना बलात्कृत भएका थिए । जसमध्ये १८ वर्षभन्दा कम उमेर समूहका बालिकाको संख्या मात्रै १ हजार ५१० छ । १८ वर्षभन्दा माथिका महिलाको संख्या भने ८८५ छ ।

आर्थिक वर्ष २०८१/८२ मा बलात्कार पीडितको संख्या २ हजार २६२ थियो । जसमध्ये १८ वर्ष उमेर मुनिका मात्रै १ हजार ४३७ छ । ८२५ जना १८ वर्ष माथिका महिला छन् ।

आर्थिक वर्ष २०८०/८१ मा २ हजार ५१४ जना बलात्कृत भएका थिए । जसमध्ये १८ वर्ष मुनिका १ हजार ५९२ बालिका र ९२० जना १८ वर्ष माथिका महिला छन् ।

कानुनी व्यवस्थामा बलात्कारी लाई के सजाय हुन्छ ?

विद्यमान कानुनमा भने मृत्युदण्डबारे केही उल्लेख छैन । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा जबरजस्ती (बलात्कार) कसुर र सजायबारे उल्लेख गरिएको छ ।

जहाँ १० वर्षभन्दा कम उमेरका बालिका पूर्ण अशंक्त, अपांगता भएका वा ७० वर्ष माथिका महिलालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था छ ।

१० वर्षभन्दा माथि र १४ वर्षसम्मका बालिका बलात्कार गरेमा १८ वर्षदेखि २० वर्षसम्म कैद र १४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ वर्षदेखि १४ वर्षसम्म कैद हुने व्यवस्था छ ।

१६ वर्षदेखि १८ वर्षसम्मकालाई बलात्कार गरेमा १० देखि १२ वर्ष कैद र १८ वर्षभन्दा माथि उमेर समूहका महिलालाई बलात्कार गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
तथ्यांक श्रोत अनलाईन खबर समाचार

 

प्रतिक्रिया दिनुहोस