२०८३ आश्विन ३० || 16 Oct 2026, Friday

प्रहरीको पोसाकसमेत च्यातेको आरोप

वडाध्यक्ष केशरमान विकलाई हिरासतमा कुटपिट भएको विषय छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन : कर्णाली प्रदेश प्रहरी

कुटपटिबाट वडाध्यक्ष विकको आँखालगायत शरीरका विभिन्न भागमा चोट लागेको परिवारको दाबी
वडाध्यक्ष केशरमान विकलाई हिरासतमा कुटपिट भएको विषय छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन : कर्णाली प्रदेश प्रहरी

असोज २२ गते २०८३

वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई हिरासतमा कुटपिट भएको विषय छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।

घटनाबारे प्रहरी र वडाध्यक्ष पक्षबाट फरक–फरक दाबी सार्वजनिक भइरहेका बेला प्रदेश प्रहरीले बिहीबार छानबिन समिति गठन गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटाले एसपी रामप्रसाद घर्ती मगरको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिनु भयो । उहाँले समितिमा एक इन्सपेक्टर र एक जना असई पनि रहेको बताउनु भएको छ। समितिलाई घटनाबारे सत्यतथ्य बुझेर १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

वडाध्यक्ष विकलाई रुकुम पश्चिम प्रहरीले मंगलबार पक्राउ गरेको थियो । प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न गएको प्रहरी टोलीसँग वडाध्यक्षले विवाद गरेको भन्दै प्रहरीले उहाँलाई समेत पक्राउ गरेको जनाएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गोपाललाई पक्राउ गर्न खोज्दा वडाध्यक्ष विकले प्रहरीको काममा अवरोध गर्नुका साथै हातपात गरेको तथा प्रहरीको पोसाकसमेत च्यातेको आरोप लगाएको छ ।

यता विकको परिवार तथा नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले भने उहाँलाई छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखी कुटपिट गरेको आरोप लगाएको छ ।

कुटपटिबाट वडाध्यक्ष विकको आँखालगायत शरीरका विभिन्न भागमा चोट लागेको परिवारको दाबी छ ।
विकलाई हिरासतमा राखिएको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान करिब ३ बजे थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस