२०८३ आश्विन ३० || 16 Oct 2026, Friday

स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न ४ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट

बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान : आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल
सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट

असोज २५ गते २०८३

बजेटविहीन भएको झण्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र८४ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेटकै आकारमा नयाँ सरकारले बजेट ल्याएको हो । बजेटसम्बन्धी विवाद र सरकार परिवर्तनका कारण अघिल्लो बजेट पारित हुन सकेको थिएन ।

आइतबारको प्रदेशसभा बैठकले अघिल्लो सरकारले पेस गरेका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेपछि नयाँ बजेट प्रस्तुत गरिएको हो ।

मन्त्री मल्लले प्रस्तुत गरेको बजेटमा चालु र पुँजीगत खर्चतर्फको छुट्टाछुट्टै रकम भने खुलाइएको छैन ।

बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँडबापत १० अर्ब २४ करोड ९२ लाख ६५ हजार, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख, समपूरक अनुदानबाट ३८ करोड ८० लाख, ससर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख, विशेष अनुदानबाट ५२ करोड ७६ लाख र रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

मन्त्री मल्लले गत वर्षको बचत ९ अर्ब ६५ करोड रुपैयाँ रहेको उल्लेख गर्नु भएको छ । तर, आर्थिक मामिला मन्त्रालयका अनुसार यथार्थ बचत ४ अर्ब ७४ करोड रुपैयाँ मात्रै छ । यसले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा स्रोत व्यवस्थापनसम्बन्धी प्रश्न उठाएको छ ।

यसैगरी, प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न ४ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको मन्त्री मल्लले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस