असोज २८ गते २०८३
लुम्बिनी प्रदेशमा ‘स्क्रब टाइफस’ र डेङ्गुको सङ्क्रमण बढ्दै गएको बेला परीक्षणका लागि आवश्यक किट पर्याप्त नहुँदा रोग पहिचान तथा नियन्त्रणमा चुनौती देखिएको छ । प्रदेशभरिमा यो रोगको सङ्क्रमण देखिएकाले रोग नियन्त्रणका लागि परीक्षण, निगरानी र सावधानीका गतिविधि प्रभावकारी बनाउनुपर्ने स्वास्थ्य अधिकारीले बताएका छन् ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार पछिल्लो नौ महिना (जनवरी–सेप्टेम्बर) मा प्रदेशका १२ जिल्लामा ‘स्क्रब टाइफस’ सँग मिल्दोजुल्दो लक्षण देखिएका दुई हजार ७८० जनाको परीक्षण गर्दा २३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसै गरी डेङ्गुसँग मिल्दोजुल्दो समस्या देखिएका ८४६ जनामध्ये ८२७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
‘स्क्रब टाइफस’ को सङ्क्रमण सबैभन्दा धेरै दाङमा देखिएको छ । दाङमा लक्षण देखिएका ६२४ जनाको परीक्षण गर्दा ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पाल्पामा ३९६ जनाको परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखिएको छ । बर्दियामा ३२४ जनामा लक्षण देखिएकामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्क छ ।रुपन्देहीमा लक्षण देखिएका २१६ जनामध्ये १४ जनामा ‘स्क्रब टाइफस’ पुष्टि भएको छ ।
बाँकेमा १७८ जनामा लक्षण देखिएकामा पाँच जनामा र पश्चिम नवलपरासीमा ६९ जनामध्ये चार जनामा सङ्क्रमण देखिएको छ । कपिलवस्तुमा ४८ जनाको परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसै गरी रोल्पामा २९३, गुल्मीमा २६१, अर्घाखाँचीमा २४९, रुकुमपूर्वमा ७५ र प्युठानमा ४७ जनामा ‘स्क्रब टाइफस’ सँग मिल्दोजुल्दो समस्या देखिएको निर्देशनालयको विवरणमा उल्लेख छ ।
स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ताराबहादुर कार्कीले ‘स्क्रब टाइफस’ बाट जोगिन घरवरपरका झाडी र घाँस सफा राख्न तथा खेतबारी र झाडी क्षेत्रमा काम गर्दा सावधानी अपनाउनुपर्ने बताउनुभयो । सङ्क्रमित किर्नाको टोकाइबाट सर्ने यो रोगमा ज्वरो आउने, टाउको र शरीर दुख्ने तथा अत्यधिक कमजोरी हुने जस्ता लक्षण देखिन सक्ने भएकाले समयमै परीक्षण र उपचार आवश्यक हुने उहाँको भनाइ छ ।
‘स्क्रब टाइफस’ सँगै प्रदेशमा डेङ्गुको सङ्क्रमण पनि देखिएको छ । निर्देशनालयको तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमण पाल्पामा सबैभन्दा धेरै पुष्टि भएको छ । पाल्पामा २५१ जनामा सङ्क्रमण देखिएको छ । दाङमा लक्षण देखिएका १७८ जनामध्ये १६३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा १२८, गुल्मीमा ६५ र पश्चिम नवलपरासीमा ६३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सार्ने लामखुट्टेको प्रजनन रोक्न घर तथा कार्यालयपरिसरमा पानी जम्न नदिने, पानी राख्ने भाँडा छोप्ने र लामखुट्टे बस्न सक्ने स्थान नियमित सफा गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
केन्द्रका निर्देशक डा. राजेन्द्र गिरीले जिल्ला स्वास्थ्य कार्यालयमार्फत सङ्क्रमण बढी देखिएका क्षेत्रमा ‘स्क्रब टाइफस’ र डेङ्गु परीक्षणका किट पठाइएको बताउनुभयो । उहाँले सम्बन्धित निकायसँग समन्वय गरी किट पठाइए पनि आवश्यकता अनुसार पर्याप्त नभएको बताउनुभयो । गोरखापत्र दैनिक बाट
