असोज २८ गते २०८३ / रामगोपाल विश्वकर्मा
स्वास्थ्य सेवा कार्यालय सल्यानले मंगलबार सम्म स्क्रब टाइफस रोगका सङ्क्रमितको सङ्ख्या ७५६पुगेको जनाएको छ । स्वास्थ्य सेवा कार्यालयको असोज ११ गतेदेखि असोज २७ गते मङ्गलबारसम्मको विवरण अनुसार ५९३ जना महिला र १६३ जना पुरुष गरेर ७५६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको हो ।
यस बिचमा २१६७ जना महिला तथा ११३१ पुरुष गरेर जम्मा ३२९८ जना बिरामीको जाँच गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
संक्रमणबाट दार्मा गाउँपालिकामा आठ र छत्रेश्वरी गाउँपालिकामा एक गरी नौ जनाको मृत्यु भइसकेको छ । परीक्षण गरिएकामध्ये महिलामा संक्रमणको दर बढी देखिएको छ । संक्रमितमध्ये करिब ७८ प्रतिशत महिला छन् । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लामा सङ्क्रमण पुष्टि भएका महिलाको सङ्ख्या पुरुषको तुलनामा ४३० ले बढी छ ।
सङ्क्रमण नियन्त्रण, रोग पहिचान र उपचारका लागि संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
शिविर मार्फत ज्वरो आएका बिरामीको परीक्षण, सङ्क्रमितको पहिचान र उपचारलाई प्राथमिकता दिइएको छ । स्वास्थ्यकर्मीको सक्रियता र परीक्षणको दायरा बढेसँगै पछिल्लो समय ज्वरोका बिरामी तथा नयाँ सङ्क्रमितको सङ्ख्या पहिलेको तुलनामा घट्दै गएको देखिन्छ ।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले ज्वरो आएमा बेवास्ता नगरी नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन, झाडी तथा घाँसे क्षेत्रमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन र घरवरपरको वातावरण सफा राख्न सुझाव दिनु भएको छ ।
