२०८३ कार्तिक २ || 18 Oct 2026, Sunday

सुर्खेतको बुलबुले तालमा दुई लाख ९४ हजार ४०१ जना र प्रदेश शहीद पार्कमा एक लाख ४० हजार ३०० जनाले भ्रमण गरे

कर्णालीमा साढे पाँच लाख पर्यटक, पूर्वाधारमा करोडौँ लगानीको प्रतिफलको खोजी

कर्णालीमा साढे पाँच लाख पर्यटक, पूर्वाधारमा करोडौँ लगानीको प्रतिफलको खोजी

कार्तिक १ गते २०८३

कर्णाली प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा सात आर्थिक वर्षको अवधिमा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको कर्णालीमा पर्यटकको आकर्षण बढ्दै गए पनि पर्यटकीय पूर्वाधार निर्माणका केही बहुवर्षीय आयोजना भने सुस्त गतिमा अघि बढिरहेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशले उपलब्ध गराएको तथ्याङ्कअनुसार सुर्खेतको बुलबुले तालमा दुई लाख ९४ हजार ४०१ जना र प्रदेश शहीद पार्कमा एक लाख ४० हजार ३०० जनाले भ्रमण गरेका छन् ।

मुगुको रारातालमा २४ हजार ९३१, सल्यानको कुपिण्डे दहमा करिब ११ हजार, डोल्पाको शे–फोक्सुण्डो तालमा सात हजार २२८ र सुर्खेतको काँक्रेविहारमा पाँच हजार ४६८ जनाले भ्रमण गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै, हुम्लामा हवाई मार्गबाट चार हजार ५८९ जना पुगेका छन् भने सुर्खेतको बयलकाँडामा २१५ जनाले प्याराग्लाइडिङ गरेका छन् । यी तथ्याङ्कले कर्णालीका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक तथा दर्शकको आकर्षण रहेको देखाउँछन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले लगानी गरिरहेको बताइन् । पर्यटकीय स्थलको संरक्षण, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उनले बताइन् ।

पर्यटन गुरुयोजनामा १० जिल्लाका गन्तव्य

कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७/७८–२०८६/८७) ले प्रदेशका १० वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटेको छ ।

गुरुयोजनाले पर्यटन उत्पादनको विकास तथा स्तरोन्नति, पूर्वाधार विकास, सामुदायिक सहभागिता, लगानी प्रवर्द्धन, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, संस्थागत संरचना तथा जनशक्ति विकास र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

गुरुयोजनाअनुसार सल्यानको कुपिण्डे दह, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र बाला त्रिपुरासुन्दरी धार्मिक क्षेत्र, जुम्लाको सिंजा सभ्यता तथा दुडुल स्तुपा र हुम्लाको लिमी उपत्यका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

मुगुको राराताल तथा रारा–शे–फोक्सुण्डो पदयात्रामार्ग, कालिकोटको पचाल झरना, जाजरकोटको खलङ्गा दरबार क्षेत्र र दैलेखको पञ्चकोशी धार्मिक क्षेत्र पनि पर्यटन विकासका सम्भावनायुक्त स्थल हुन् ।

त्यसैगरी, सुर्खेतको काँक्रेविहार, देउती बज्यै, मदन आश्रित पार्क, जजुरादह, पञ्चपुरी क्षेत्रका गुसी ताल तथा मादले, शिव गुफा र गिद्धे डाँडा तथा रुकुम पश्चिमको गोतामकोट–चित्रिपाटन साहसिक पदमार्गलाई पनि गुरुयोजनामा समेटिएको    छ ।

हिमाली पदयात्रामार्गबाट पर्यटन विस्तारको लक्ष्य

कर्णालीमा साहसिक पर्यटन विकासका लागि ग्रेट हिमालयन ट्रेलअन्तर्गत उपल्लो, मध्य र तल्लो कर्णालीका पदयात्रामार्ग पहिचान गरिएको छ । यी मार्गले डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट र रुकुम पश्चिमका हिमाली तथा पहाडी क्षेत्रलाई जोड्छन्।

रारातालदेखि शे–फोक्सुण्डो तालसम्मको पदयात्रा, शे–फोक्सुण्डो हुँदै धो ताराप र मुस्ताङको सीमासम्म पुग्ने मार्ग तथा रुकुम पश्चिमदेखि जाजरकोट र कालिकोट हुँदै खप्तड राष्ट्रिय निकुञ्जसम्म जोडिने तल्लो कर्णालीको मार्ग साहसिक पर्यटनका सम्भावित आधार हुन् ।

यस्ता पदमार्गको विकासले पर्यटकको बसाइ अवधि बढाउनुका साथै स्थानीय होटल, होमस्टे, यातायात, पथप्रदर्शक र स्थानीय उत्पादनको बजार विस्तार गर्न सक्ने सम्भावना छ । तर, पदमार्गको नियमित मर्मत, सुरक्षित आवागमन, सञ्चार सुविधा, उद्धार सेवा र पर्यटकका लागि आधारभूत पूर्वाधार आवश्यक छन् ।

पूर्वाधार निर्माणमा करोडौँको लगानी

मन्त्रालयको विवरणअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न बहुवर्षीय आयोजनामा करोडौँ रुपैयाँ लगानी गरिएको छ । तर, आयोजनाको भौतिक तथा वित्तीय प्रगतिबीच अन्तर देखिएको छ ।

सुर्खेतको काँक्रेविहार वरिपरि कम्पाउन्ड वाल निर्माणको भौतिक प्रगति ५५ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ। २०७८ चैत १२ गते सम्झौता भएको यस आयोजनाको सम्झौता रकम एक करोड १८ लाख ५४ हजार रुपैयाँभन्दा बढी छ । विवरणअनुसार यसको म्याद तीन पटक थप गरिएको छ ।

मुगुको रारा पर्यटकीय पूर्वाधार निर्माणमा चार करोड ५२ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सम्झौता भएको छ ।
आयोजनाको भौतिक प्रगति २० प्रतिशत हुँदा वित्तीय प्रगति ३२ प्रतिशत पुगेको छ । २०८३ असार मसान्तसम्मको अवधि उल्लेख गरिएको यस आयोजनामा म्याद थपको प्रक्रिया चलिरहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

रुकुम पश्चिमको खारा जनयुद्ध संग्रहालय निर्माणका लागि एक करोड २८ लाख ९६ हजार ७९३ रुपैयाँको सम्झौता भएको छ । यसको भौतिक प्रगति ५८ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ ।

२०८२ असार मसान्तमा म्याद समाप्त भएको विवरणमा उल्लेख छ भने आयोजनाको म्याद दुई पटक थप गरिएको छ ।
सुर्खेतको चौहान पार्क निर्माणका लागि दुई करोड २८ लाख ९७ हजार रुपैयाँभन्दा बढीको सम्झौता भएको छ ।

आयोजनाको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत छ । यसको अवधि २०८४ असार मसान्तसम्म रहेको विवरणमा उल्लेख छ ।

विशेषगरी राराजस्तो प्रमुख पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणमा भौतिक प्रगति कम हुँदा पर्यटकलाई उपलब्ध गराइने सुविधाको विस्तारमा समस्या देखिएको छ ।

कुपिण्डे संरक्षण र पर्यटन प्रवर्द्धनमा बजेट

सल्यानको कुपिण्डे क्षेत्रको जलाधार संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि तीन करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त कार्यक्रमको काम सुरु गर्ने तयारी रहेको उल्लेख छ ।

त्यस्तै, पर्यटक तथा दर्शकसम्बन्धी कार्यक्रम सञ्चालनका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री खड्काले बताइन् ।

पर्यटन क्षेत्रमा बजेट विनियोजन गर्नुका साथै त्यसको कार्यान्वयन, खर्चको प्रभावकारिता र प्रतिफलको मूल्याङ्कन पनि महत्त्वपूर्ण हुन्छ । तर, आयोजनाको प्रगति भने सन्तोषजनक नभएको पाइएको छ ।

पर्यटकको संख्या बढाउने मात्र होइन, स्थानीय लाभ बढाउनुपर्ने

कर्णालीमा पर्यटकीय गन्तव्यको विविधता र सम्भावना भए पनि पर्यटनलाई प्रदेशको अर्थतन्त्रसँग जोड्न पूर्वाधार विकास, सम्पदा संरक्षण र व्यावसायिक व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।

पर्यटन गुरुयोजनाले पहिचान गरेका गन्तव्यमा लगानी विस्तार, स्थानीय समुदायको सहभागिता, दक्ष जनशक्ति उत्पादन तथा प्रभावकारी प्रचारप्रसार हुन सके कर्णालीको पर्यटनले प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले बताए ।

निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, बजेटको प्रभावकारी उपयोग गर्ने र पर्यटकीय गन्तव्यमा आवश्यक सेवा तथा सुविधा विस्तार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

साभार अनलाइन खबर डट कम

प्रतिक्रिया दिनुहोस