एउटा बिरुवा रोप्न सय, हुर्काउन थप दुई सय अनुदान
प्रदेश ५ सरकारले पूर्व–पश्चिम राजमार्गलाई सुन्दर बनाउन बिरुवा रोप्ने कार्यक्रम ल्याएको छ । स्थानीय पालिकाहरूमार्फत राजमार्ग छेउछाउमा बिरुवा रोप्न प्रदेश सरकारले एक करोड २० लाख अनुदान दिने व्यवस्था गरेको छ ।
प्रदेशमा भएको पूर्व–पश्चिम राजमार्गको सौन्दर्यीकरण गर्न दुवैतर्फ बिरुवा रोप्न प्रतिबिरुवा एक सय रुपैयाँ अनुदानका रूपमा स्थानीय पालिकालाई उपलब्ध गराइने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलका अनुसार त्यसरी रोपेको बिरुवा हुर्काएपछि पालिकाहरूले थप अनुदान पाउने व्यवस्थासमेत गरेको छ ।
कम्तीमा ४० हजार बिरुवा रोपिने
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले स्थानीय तहसँग समन्वय गरी राजमार्ग किनारमा बिरुवा रोप्ने कार्यक्रम अघि बढाउने बताए । उनका अनुसार एउटा बिरुवा रोप्दा सय रुपैयाँ र त्यसलाई हुर्काउँदा थप दुई सय रुपैयाँ अनुदान दिइने गरी कार्यक्रम अगाडि सारिएको छ । राजमार्गमा यात्रा गर्दा रमणीय देखियोस् र वातावरणमा समेत सकारात्मक प्रभाव पारोस् भनेर यो कार्यक्रम अगाडि सारिएको भन्दै उनले बिरुवा रोप्दा राजमार्गको दुवै किनारमा क्रमबद्ध रूपमा रोपिने बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बिरुवा रोप्ने कार्यक्रम छिटै अगाडि बढाउने गरी मन्त्रालयले तयारी गरेको बताए । आवश्यक कार्यविधि बनाएर काम सुरु गर्ने उनको भनाइ छ । उनका अनुसार बजेट कार्यान्वयन इकाइहरू स्थापनाको काम भइरहेको र त्यसपछि बिरुवा रोप्ने कार्यक्रम अघि बढाउनेछ ।
बर्दघाटदेखि चिसापानीसम्म बिरुवा रोप्ने तयारी
प्रदेश सरकारले यस आर्थिक वर्षमा विनियोजित गरेको बजेट एक करोड २० लाख रुपैयाँबाट पूर्व–पश्चिम राजमार्गका नवलपरासीको बर्दघाटदेखि पश्चिममा चिसापानीसम्मको सडक किनारामा बिरुवा रोप्ने मन्त्री गिरीले बताए ।
बर्दघाटदेखि चिसापानीसम्मको सडकमा पर्ने स्थानीय तहहरूसँग समन्वय गरेर बिरुवा रोप्ने काम अगाडि बढ्ने मन्त्री गिरीले बताए । ‘सरकारको सोच आर्थिक वर्ष सुरु भएसँगै साउनबाटै बिरुवा रोप्ने थियो, वर्षायाममा बिरुवा रोप्दा राम्रो पनि हुने थियो, तर विविध कारणले ढिलाइ भएको छ, अब एक–दुई महिनाभित्रै बिरुवा रोप्ने काम अगाडि बढ्छ,’ मन्त्री गिरीले भने । जंगल भएको क्षेत्रमा भन्दा अन्य क्षेत्रमा बिरुवा रोप्ने कामलाई प्रभावकारी बनाउने उनले बताए । बिरुवा रोप्ने कार्यक्रमले वातावरणमा धेरै राम्रो प्रभाव पार्ने तथा सडकको सुन्दरता बढाउने विश्वास छ । प्रदेश सरकारको यस कार्यक्रमप्रति स्थानीय तहहरूले समेत रुचि देखाएका छन् ।
