भाद्र ८ गते २०८३ / निराजन वि.क
स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप साँझ करिब पौने ६ बजे उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिनु भयो ।
उहाँले दुर्घटनामा परेर मृत्यु हुनेमा गल्याङ नगरपालिका–८ की करिब २५ वर्षीया निशा पचभैया र गल्याङ नगरपालिका–९ का करिब ६० वर्षीय यमबहादुर बिक रहेको बताउनु भयो ।
घाइतेमध्ये १५ जनाको नगर अस्पताल गल्याङमा उपचार भइरहेको र केही सामान्य अवस्था रहेकाहरू उपचारपछि घर फर्किएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताउनु भयो ।
उहाँले गम्भीर घाइते रहेका दुई जनालाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जानकारी दिनु भएको छ ।
