२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित सबै ५७ सांसदले मतदान

विपक्षी दलहरुको बहिष्कारबिच मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

मुख्यमन्त्री किरण थापा मगरले एमालेका २५, नेकपाका २६ र राप्रपाका ७ सांसदको समर्थन प्राप्त गर्नु भएको हो
विपक्षी दलहरुको बहिष्कारबिच मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

भाद्र ९ गते २०८३

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाका विपक्षी दलहरूको बहिष्कारबीच विश्वासको मत प्राप्त गर्नु भएको छ । आज बागमती प्रदेशमा विपक्षी दलहरूले प्रक्रिया नै असंवैधानिक भएको आरोप लगाउँदै बैठक बहिष्कार गरेका थिए । सत्तापक्षीय सांसदहरूको मतबाट मुख्यमन्त्री थापाले विश्वासको मत हासिल गर्नु भएको हो।

मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित सबै ५७ सांसदले मतदान गर्नु भयो । प्रस्तावको विपक्ष वा तटस्थमा कुनै मत परेन।

१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन कम्तीमा ५३ मत आवश्यक पर्छ। मुख्यमन्त्री थापाले आवश्यक बहुमतभन्दा चार मत बढी प्राप्त गर्दै विश्वासको मत सुरक्षित गर्नु भएको हो।

विश्वासको मतका क्रममा प्रदेश सभामा सत्तारूढ गठबन्धनका सांसदहरू मात्र उपस्थित थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टीका २ सांसदले बैठक बहिष्कार गरेका हुन्। सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसद पनि बैठकमा अनुपस्थित नै रहेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका ७ सांसदको समर्थन प्राप्त गर्नु भएको हो। एमालेका २६ सांसदमध्ये उपसभामुख अप्सरा चापागाईंले बैठकको अध्यक्षता गरेका कारण मतदानमा सहभागी हुनुभएन। संविधानअनुसार बैठकको अध्यक्षता गर्ने व्यक्तिले मत बराबर भएको अवस्थामा बाहेक मतदान गर्न मिल्दैन।

विपक्षी दलहरूले मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दा उच्च अदालत पाटनको हेटौँडा इजलासमा विचाराधीन रहेकाले विश्वासको मत लिनु संविधानको भावनाविपरीत भएको दाबी गर्दै बैठक बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस