असार १७ गते २०८२ / रासस
सेभिया(स्पेन) — संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागी भई उक्त विषयको ‘राउण्ड टेबल’मा आफ्ना विचार प्रस्तुत गरे ।
आजै प्रधानमन्त्री ओलीले अल्पविकसित र साना टापु भएका मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गरी सम्बोधन गरेका छन् भने ‘राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको पहलमा खानेपानी र सरसफाइ क्षेत्रमा लगानी’सम्बन्धी उच्चस्तरीय छलफललाई सम्बोधन गरे ।
विकास सहायता र विश्व साझेदारीको ऐक्यबद्धतामा नयाँ सोचबारे नेपालको स्पष्ट धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विश्वमा कोही पनि पछाडि नपरुन् भन्ने सोचका साथ विकास सहायतालाई ‘च्यारिटी’ का रुपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमतावृद्धिका लागि उपयोग गर्दै दिगो शान्ति र विकासका लक्ष्य हासिल गर्न साझा पहल हुनुपर्ने धारणा व्यक्त गरे ।
उस्तै किसिमका सानासाना विकास परियोजनाहरू सरकार र गैरसरकारी क्षेत्रबाट समानान्तर रुपमा सञ्चालन गर्ने प्रवृत्ति पनि देखिएको छ । त्यसरी छरिएको सहायताबाट समतामूलक विकासले गति लिँदैन, प्रधानमन्त्री ओलीले भने, विकास साझेदारहरु निश्चित च्यानलबाट सहायताका लागि अग्रसर हुनुपर्छ । यस कुरालाई सेभिया–प्रतिबद्धताले पनि हामीलाई उप्रेरित गरेको छ । हामी सबै त्यस बाटोबाट अघि बढौँ ।
उनले सम्पन्न मुलुकले बोलीमा नभई व्यवहारमा आफ्ना सहयताका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै वास्तवमै जनताको जीवनमा अर्थपूर्ण परिवर्तनका लागि प्रभाव पर्ने क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले विकास साझेदारहरूलाई सेभिया (सेभिल्ला) प्रतिबद्धतालाई पूर्ण र इमानदारीपूर्वक सम्मान गर्न आग्रह गए ।
यसैगरी घरेलु स्रोत परिचालनलाई बलियो बनाउन, निजी लगानीसहित मिश्रित वित्त प्रणालीलाई बढवा दिन, राष्ट्रिय कार्यक्रमहरूमा थप अनुदान र आधिकारिक विकास सहायता (ओडिए) लाई औपचारिक निकायबाट परिचालन गर्न पनि सम्बद्ध पक्षसँग उनले अनुरोध गरे ।
प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनको शक्तिलाई सदुपयोग गर्दै पूर्वाधार निर्माण, पहुँच विस्तारसहित हाम्रा जनताको जीवनस्तर सुधारका पक्षमा साझा सङ्कल्पसहित समग्र विश्व एकहुनुपर्नेमा जोड दिए ।
सेभिया प्रतिबद्धताले हामी सबैलाई आशा र भरोसासहित निष्पक्ष, समृद्ध तर दिगो भविष्य निर्माण गर्ने मौका दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सही वित्तीय विश्लेषणका आधारमा लगानी बढाउँदै गरिबीसँग लड्न, कार्यक्षमता अभिवृद्धि गर्न र दिगो अवसर सिर्जना गर्न एक भई अघि बढ्नुपर्नेमा जोड दिए ।
रासस
