भाद्र १० गते २०८३
भोटेकोसी बाढीका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा गरी ५५ जनाको शव फेला पारेको जनाएको छ । प्रहरीका अनुसार चितवनमा १८, धादिङमा १६, नुवाकोटमा ११, गोरखामा ९ र रसुवामा १ जनाको शव भेटिएको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि नेपाल वा तिब्बतकै कुनै क्षेत्रमा हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ । विभागले रसुवा बाढीबारे विशेष अपडेट दिँदै रसुवा क्षेत्रमा मंगलबार र बुधबार ठूलो पानी नपरेको जनाएको छ । त्यस्तै आज पनि पानी पर्ने सम्भावना नरहेको र बिहीबारदेखि मात्र पानी पर्ने बादल देखिएको जानकारी दिएको छ ।
रसुवाको भोटेकोशीमा एक्कासी आएको बाढीले ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन् ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनका अनुसार बेपत्ता सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए ।
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् ।
नेपाल प्रहरीका अनसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, बेत्रावतीमा चार जना, त्रिशूली–काठमाडौँमा तीन जनाको उद्धार गरेको छ ।
रसुवा बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन छन् ।
तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली आसपास विभिन्न बैंकका ८ शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् । नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।
बैंकका शाखाहरू पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा रहेको उनले बताए । ‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका शाखामा क्षति पुगेको छ, सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका छन्,’ उनले भने । सोही क्षेत्रका विकास बैंकहरूमा भने कुनै क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।
तिब्बतबाट रसुवा भोटेकोशी नदीमा आएको बढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् । बाढीका कारण क्षति पुगेका बैंकका शाखा ९ वटा रहे पनि सम्पर्कमा नआएका कर्मचारी ८ शाखाका छन् ।
बाढीले प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुर्याएको शर्माले बताए ।
संसद बैठक अनिश्चितकालका लागि स्थगित
प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान १ बजेका लागि बैठक राखेका थिए । तर पछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना आएको छ । हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।
भोटेकोशी बाढीले २२ वटा पक्की पुल, ५ वटा बेलिब्रिज बगायो : सडक विभाग
भोटेकोशीमा आएको बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्मका २२ वटा पक्की पुल बगाएको छ । रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा २२ वटा पक्की पुल, ५ वटा बेलीब्रिज बगाएको सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्यौपानेले बताए । त्रिशूली, बेत्रावती, तादी खोला, गल्छीलगायतका पक्की पुल बगाएको उनले सुनाए ।
नुवाकोटको बेत्रावतीदेखि रसुवागढी नाका जोड्ने सडक बाढीले क्षति गरेको हो । ‘बेत्रावतीदेखि रसुवागढी नाकासम्मको ४० किलोमिटर सडक बाढीले पूर्णरुपमा क्षति गरेको जानकारी पाएका छौं, त्यस क्षेत्रका ठाउँ–ठाउँमा रहेका पक्की पुल पनि बाढीले बगाएको छ,’ उनले भने, ‘यो प्रारम्भिक विवरण हो । थप क्षतिको विवरण लिइरहेका छौं ।’
जोखिमका कारण मुग्लिन-नारायणगढ सडक बन्द गरेको समेत उनले बताए ।
