पुष ७ गते २०८२ / अग्नि सापकोटा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय ‘पार्टी एकता सन्देश सभा’ प्रभावकारी ढंगले सम्पन्न भएका छन् । गत १२ मंसिरमा धनगढीबाट सुरु भएर ५ पुसमा काठमाडौंसम्म आइपुग्दा यसले सबै प्रदेश, स्वदेश र विदेशमा समेत बहुआयामिक सन्देश दिएको छ । देश अहिले संकटग्रस्त अवस्थामा छ । यो संकटभित्र समाधान छ र त्यसको स्पष्ट मार्गचित्र नेकपासित छ भन्ने सन्देश जनतामा राम्रोसित प्रवाहित भएको छ ।
जेन–जी आन्दोलनपछि जनता अन्योल, छटपटी र उकुसमुकुसमा थिए । देश अराजकतातिर जाने हो कि भन्ने चिन्ता थियो । सन्देशसभामार्फत नेकपाले जनतालाई आश्वस्त मात्र पारेको छैन, विश्वासमा पनि लिएको छ । जनताको अभूतपूर्व उत्साह र लहर पैदा भएको छ । अहिलेको एक मात्र विकल्प निर्वाचन नै हो भन्ने सन्देश दिएको छ ।
ताजा जनादेशमा जानुको विकल्प छैन । पुरानै संसद् पुनर्स्थापना गरेर यसैमा गोलचक्कर मारेर जाँदा देश थप संकटमा पर्छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सबै दलको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई पनि जगेर्ना गर्ने र निकास पनि दिने भनेर निर्वाचनको वातावरण बनाउन पहलकदमी लिनुभयो । त्यसअनुसार अन्तरिम सरकार बन्यो । त्यसैले पनि अब सबै चुनावको वातावरण बनाउनतिर लाग्नुपर्छ । जब पार्टीहरूले दृढतापूर्वक चुनावमा जाने प्रतिबद्धता व्यक्त गर्छन्, अरू सबै पक्ष पनि सकारात्मक हुँदै जान्छन् ।
अहिले राष्ट्र अभूतपूर्व संकटमा छ । राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता खतरामा छ । जनताको अधिकार खोसिन सक्ने जोखिम छ । यी सबै समस्या समाधानका लागि पनि चुनावमा जानैपर्छ । राजनीतिक दलहरूले चुनावको वातावरण बनाउन सकेनन् भने देश भूराजनीतिक भूमरीमा पनि पर्छ । त्यसकारण संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा, विकास र समुन्नतिका लागि पनि निर्वाचन अपरिहार्य छ ।
पुनर्स्थापना विकल्प होइन
संसद् कुनै पनि देशको सर्वोच्च जनप्रतिनिधिमूलक थलो हो । संसद् लोकतन्त्रको मेरुदण्ड पनि हो । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि संसद् निकै महत्वपूर्ण थलो हो । यही संसद् निकम्मा भएको हुनाले पनि देशमा यति ठुलो संकट पैदा भयो । संसद्बाट सिंगो राष्ट्रको आवाज मुखरित हुनुपर्ने हो । तर, संसद्मा विचार, सिद्धान्त, राजनीतिक छलफल, बहस, नीति, दृष्टिकोणमा कहिल्यै छलफल भएन ।
खालि आरोप–प्रत्यारोपमा समय बित्यो । त्यही निकम्मापनले गर्दा पनि जनतामा, विशेषगरी युवामा, गम्भीर खालको निराशा पैदा भयो । त्यसैबाट असन्तुष्टि र आक्रोश उत्पन्न भयो । त्यसकारण अब पुरानो संसद्ले काम चल्दैन । यो पुरानो संसद्ले अब जनताको विश्वास जित्न पनि सक्दैन । जेन–जी आन्दोलनपछि जनतामा नयाँ चेतना जागृत भएको छ । नयाँ चेतनाको विवेकमा खडा भएर नागरिकले मतदान गर्नेछन् । त्यसरी आएको संसद्ले मात्र जेन–जीका माग सम्बोधन गर्न सक्छ । साथै, मुलुकको थुप्रै समस्या समाधान पनि गर्न सक्छ ।
हाल चामत्कारिक ढंगले प्रविधिको विकास भइरहेको छ । ती सबैलाई सम्बोधन गर्ने गरी जानुपर्छ । मुख्यतः नवयुवाहरूको भावनालाई समेटेर, उनीहरूलाई पनि निर्वाचनमा सहभागी गराएर अगाडि बढ्नुपर्छ । संसद् पुनर्स्थापना हुँदा जेन–जी युवाको प्रतिनिधित्व हुँदैन ।
पुरानाहरू नै फर्किने हुन् । अब संसद्मा युवाको प्रतिनिधित्व अनिवार्य छ । युवाको प्रतिनिधित्व नभई देशले निकास पाउँदैन । युवालाई निर्वाचनमा भाग लिन सबैभन्दा बढी उत्प्रेरित गर्नुपर्छ । र, सबै पार्टीले ४० वर्षमुनिका युवालाई (चाहे प्रत्यक्षमा होस् वा समानुपातिकमा होस्) टिकट दिनुपर्छ । उनीहरूलाई पार्टी संगठनमा पनि संगठित र प्रशिक्षित गर्नुपर्छ । युवाका नयाँ चेतना, योग्यता र क्षमतालाई पार्टी निर्माण, विकास, विस्तार र देशको उन्नतिमा सदुपयोग गर्नुपर्छ । राजनीतिक दलका नेताको लामो अनुभव र नवयुवाको ऊर्जा ‘स्पिरिट’लाई कायम राखी अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
संकटसँगै अवसर
वास्तवमा जेन–जीहरूको मुख्य माग भ्रष्टाचार नियन्त्रण र सुशासन हो । त्यसका लागि जल्दाबल्दा युवा र अरू पनि नयाँ ढंगले परीक्षामा जानुपर्छ । नयाँ वातावरण, नयाँ परिवेशमा जेन–जी आन्दोलनले ठुलो धक्का दिएको छ । एक हिसाबले भन्ने हो भने यो संकट हो । तर, संकटभन्दा पनि अवसर नै बढी छ । भनिन्छ नि, जहाँ संकट हुन्छ, त्यहाँ समाधान पनि सँगै हुन्छ । त्यसकारण यो अवस्था पार्टीका नेताका लागि एउटा अवसर पनि हो । त्यसका लागि सबै पार्टीमा शुद्धीकरण र रूपान्तरण हुनुपर्छ । पार्टीमा मात्रै होइन, राज्यमै रूपान्तरण हुनुपर्छ । त्यति मात्रै नभई आन्दोलनको पनि रूपान्तरण हुनुपर्छ । अब परम्परागत आन्दोलन, परम्परागत जनपरिचालनले मात्र पुग्दैन । जेन–जी आन्दोलनले २४ घण्टामै उलटफेर गर्यो । जनतासँग, विशेषगरी युवासँग, कति धेरै तागत छ भन्ने हामीले प्रत्यक्ष देख्यौँ । त्यसबाट पनि हामीले शिक्षा लिनुपर्छ ।
इतिहासले पाठ सिकाउँछ । तर, इतिहासले पाठ सिक्न बाध्य गर्दैन । यदि, हामीले पाठ सिकेनौँ भने नराम्रोसँग बजारिन्छौँ । त्यसकारण यसबाट शिक्षा लिएर हामी अगाडि बढ्नुपर्छ । जनता नै इतिहासका निर्माता हुन्, सञ्चालक हुन् । त्यसकारण जनतालाई निर्णय गर्न मौका दिनुपर्छ । जनताको फैसला नै अन्तिम हुन्छ । राष्ट्रपतिले एकप्रकारले पहल लिनुभयो र अहिले कमसेकम संविधान ‘कोमा’मै भए पनि जीवित छ ।
अब संविधानलाई कोमाबाट निकाल्नुपर्छ । त्यसका लागि जनतामै जानुपर्छ । ताजा जनादेशअनुसार संविधान, व्यवस्था र लोकतन्त्रलाई उन्नत बनाउनुपर्छ । जबजब संकट पर्छ, त्यतित्यति वेला जनतामा जानुपर्छ । २१ फागुनको निर्वाचनपछि नयाँ परिस्थिति बन्नेछ, सुशासन कायम हुनेछ, भ्रष्टाचार अन्त्य हुनेछ र देश नयाँ शिराबाट अगाडि बढ्नेछ भन्ने आशा, अपेक्षा जनताले गरेका छन् । हामीले यसलाई अनेक बहानाबाजी गरेर बरालिने वातावरण बनायौँ भने देश ठुलो संकटमा फस्नेछ । देश, जनता, परिवर्तन र अग्रगमनका लागि अहिले एक मात्र विकल्प निर्वाचनमा हो भन्ने कुरा करोडौँ जनतामाझ स्पष्ट रूपमा पुगेको छ ।
हाम्रो पार्टी एकता सन्देशसभाको राष्ट्रिय रूपमा मात्रै होइन, राष्ट्रिय राजनीतिको घेरा तोडेर अन्तर्राष्ट्रिय जगत्मा समेत चर्चा–परिचर्चा भइरहेको छ । राष्ट्रियस्तरका साथै अन्तर्राष्ट्रिय जगत्ले पनि गम्भीरतापूर्वक हेरेको छ । निकै राम्रो वातावरण बनेको छ ।
साझा राष्ट्रिय दृष्टिकोण
हाम्रो राष्ट्र, राष्ट्रियता, स्वाभिमान, आत्मनिर्णयको अधिकार खतरामा रहेकाले हामीले राष्ट्रिय एकता कायम गर्नुपर्छ । त्यसका लागि सबै राजनीतिक दलले साझा राष्ट्रिय दृष्टिकोण बनाउन जरुरी छ । राष्ट्रिय सहमति कायम गर्दै विश्व दृष्टिकोण पनि बनाउन जरुरी छ । विगतमा कम्युनिस्ट पार्टीको गठबन्धन गर्दा मात्रै पनि जनताले झन्डै दुईतिहाइ बहुमत दिएका थिए । त्यसपछि हाम्रो पार्टी एकता पनि भयो । तर, पार्टी एकतालाई हामीले रक्षा गर्न सकेनौँ । कहाँकहाँ कमजोरी भयो, त्यसको गम्भीर समीक्षा गरेर कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्छ ।
अहिले १६ वटा दलबिच एकता भएको छ । तर, यतिले पुगेको छैन । अझै धेरै कम्युनिस्ट पार्टीहरू बाहिरै छन् । कम्युनिस्ट पार्टीको पुनर्गठन र बृहत् वामपन्थी मोर्चाका साथसाथै देशभक्तहरूको मोर्चा सिन बनाउनु आवश्यक छ । जहाँ पार्टीहरूसँगै संघसंस्था, संगठन र समूहहरू पनि हुन्छन् । सबैलाई संगठित गरी तीन करोड नेपाली जनतालाई एकताबद्ध गरेर मात्रै देशको रक्षा गर्न सकिन्छ । त्यसका लागि सबै पार्टीहरू आफ्ना संकीर्ण स्वार्थभन्दा माथि उठेर देश र देशको हितमा केन्द्रित हुँदै साझा दृष्टिकोणसाथ अगाडि बढ्नुपर्छ ।
वैज्ञानिक समाजवाद
हाम्रो संविधानको प्रस्तावनामा लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद भनिएको छ । त्यसैगरी प्रारम्भिकीमा समाजवादउन्मुख राज्य व्यवस्था भनिएको छ । अहिले दुनियाँमा यो सानदार रूपमा प्रमाणित भइसकेको छ कि समाजवाद नै दुनियाँको सर्वोत्कृष्ट, सुसभ्य र सुसंस्कृति राज्य व्यवस्था हो । तर, समाजवाद जतिजति लोकप्रिय हुँदै गयो, सबैले समाजवाद भन्न थाले । हामीले भनेको समाजवाद ‘वैज्ञानिक समाजवाद’ हो । जहाँ न्याय, निष्पक्षता, समृद्धि, लोकतन्त्र, शिष्टता, सद्भाव, स्वतन्त्रता, समानता, कानुनी राज्य, देशभक्ति, समर्पण, इमानदारी, मित्रतासहितको नेपाली शैलीको समाजवाद हुन्छ । हाम्रो तात्कालिक कार्यनीति २१ फागुनको चुनाव नै हो । यो चुनावमा हामी सम्पूर्ण रूपले केन्द्रित भइरहेका छौँ । पार्टी एकताको सन्देशका साथसाथै हामीले चुनावको पनि तयारी गरिरहेका छौँ ।
हाम्रो रणनीतिक लक्ष्य भनेको वैज्ञानिक समाजवाद हो । त्यो समाजवाद हाम्रो नेपाली शैलीको हुनेछ । कृषि, उद्योग, राष्ट्रिय सुरक्षा र विज्ञान–प्रविधिमा आधुनिकीकरण गरेर हामी अगाडि जानेछौँ । हाम्रो अहिलेको जिम्मेवारी नेपाली धर्तीमा माक्र्सवादलाई लोकप्रिय बनाउने र मार्क्सवादका सर्वसम्मत कथनलाई ‘हाइलाइट’ गर्ने हो । यो भूमण्डलको अहिले पनि सबैभन्दा ऊर्जाशील, समस्या समाधानका लागि अचुक ‘रामवाण’ भनेको मार्क्सवाद नै हो । मार्क्सवादलाई गहिराइमा गएर बुझ्ने, व्याख्या गर्ने मात्रै होइन, माक्र्सवादमा हजारौँ सत्य छन्, तिनलाई व्यवहारमा लागू गर्ने हो । सबैभन्दा मुख्य सत्य दुनियाँलाई बुझ्नु र व्याख्या गर्नु हो । त्योभन्दा कैयन् गुना महत्वपूर्ण कुरा दुनियाँ बदल्नु हो ।
अहिलेसम्मका कमी–कमजोरी सच्याउँदै कुनै हालतमा कमजोरी नदोहोर्याउने संकल्पसाथ हामी अगाडि बढेका छौँ । हामी अब जनतालाई बेवास्ता गर्नेछैनौँ । ती महान् सहिदहरू, बेपत्ता व्यक्तिका परिवार र त्यो तल्लो वर्ग, महिला, आदिवासी, जनजाति, दलित, मजदुर, किसानका समस्यामा हामीले कतै न कतै नजरअन्दाज या बेवास्ता गरेकै हुनाले जनतासितको सम्बन्ध कमजोर भयो । अब जनतासँगको सम्बन्धलाई मजबुत बनाउनु हाम्रो संकल्प हो । हामीले राम्ररी बुझेका छौँ, जनताको चित्त बुझ्यो भने, त्यसले संसार जित्छ, जनताको चित्त दुख्यो भने देश समाप्त हुन्छ ।
जनताको चित्त दुखाउने काम गरेका कारण देशमा समस्या र चुनौती आए । हामीले गरेका कमी–कमजोरीको गम्भीर समीक्षा गर्दै अन्तस्करणदेखि नै जनताबिच आत्मालोचना गरिराखेका छौँ । जनतालाई हेप्ने, अपमान गर्ने, जनताका कुरा नसुन्ने, जनताको विश्वास नजित्ने पार्टीको एक दिन अवसान निश्चित छ । त्यही सत्य बुझेर हामी जनतामाझ गइराखेका छौँ र साझा संकल्प गरेका छौँ– अब हामी रूपान्तरित हुन्छौँ । शुद्धीकरण अभियान चलाउँछौँ । जनतालाई शीर्षस्थानमा राखेर हामी अगाडि बढ्छौँ । जनताको आदेशअनुसार नेपाली कम्युनिस्ट पार्टी चल्छ ।
(लेखक -अग्नि सापकोटा नेपाली कम्युनिष्ट पार्टीका नेता हुन्)
