२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

नियमित, पारदर्शी र परिणाममुखी अनुगमनको अभावले नगरपालिकाको भूमिकामाथि नै प्रश्नचिन्ह खडा

कोहलपुरमा स्वास्थ्य सेवामा बेथिति : मापदण्ड बिनै सञ्चालनमा क्लिनिक र निजी अस्पताल, अनुगमन फितलो

दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण, स्वीकृत भवन संरचना, सरसफाइ तथा आपतकालीन सेवा—समेत पूरा नगरी सेवा दिइरहेको आशंका
कोहलपुरमा स्वास्थ्य सेवामा बेथिति : मापदण्ड बिनै सञ्चालनमा क्लिनिक र निजी अस्पताल, अनुगमन फितलो

चैत ११ गते २०८२ / राजेश आचार्य

बाँकेको कोहलपुर नगरपालिका भित्र स्वास्थ्य सेवा क्षेत्र गम्भीर बेथितिको चपेटामा परेको पाइएको छ। नगर क्षेत्रमा सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक तथा निजी अस्पतालहरूको वास्तविक अवस्था हेर्दा मापदण्डअनुसार सञ्चालनमा कति छन् भन्ने प्रश्न अझै अनुत्तरित छ। सम्बन्धित निकायले स्पष्ट तथ्यांक सार्वजनिक नगर्दा सेवाग्राहीहरू अन्योलमा परेका छन् भने अवैध र कमजोर सेवाले ज्यानमै जोखिम बढाएको छ।

स्थानीय स्रोतका अनुसार कोहलपुर क्षेत्रमा दर्जनौं क्लिनिक तथा केही निजी अस्पताल सञ्चालनमा छन्। तर, तीमध्ये धेरैले आधारभूत मापदण्ड—जस्तै दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण, स्वीकृत भवन संरचना, सरसफाइ तथा आपतकालीन सेवा—समेत पूरा नगरी सेवा दिइरहेको आशंका गरिएको छ। कतिपय क्लिनिकहरू त दर्ता प्रक्रियासमेत पूरा नगरी खुलेआम सञ्चालनमा रहेको आरोप छ।

कोहलपुर नगर स्वास्थ्य शाखा ले अनुगमन भइरहेको दाबी गर्दै आए पनि वास्तविकतामा त्यो प्रभावकारी देखिएको छैन। अनुगमन टोली कहिलेकाहीँ पुग्ने, औपचारिक कागजपत्र हेर्ने र चेतावनीमै सीमित रहने प्रवृत्तिले समस्या झन् गहिरिएको स्थानीयहरूको गुनासो छ। नियमविपरीत सञ्चालनमा रहेका संस्थामाथि कारबाही भएको उदाहरणसमेत विरलै भेटिन्छ।

झन् चिन्ताजनक कुरा के छ भने, सेवाग्राहीहरूलाई आकर्षित गर्न केही क्लिनिकहरूले ‘सस्तो र छिटो सेवा’को नाममा गुणस्तरहीन उपचार दिइरहेका छन्। यसले गलत उपचार, ढिलो पहिचान र जटिलता बढाउने जोखिमलाई निम्त्याइरहेको छ। आर्थिक रूपमा कमजोर नागरिकहरू यस्तो सेवामा बढी निर्भर हुँदा उनीहरू नै सबैभन्दा बढी प्रभावित भइरहेका छन्।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही स्वीकार्य नहुने भन्दै सरोकारवाला र नागरिक समाजले कडा प्रश्न उठाउन थालेका छन्। नियमित, पारदर्शी र परिणाममुखी अनुगमनको अभावले नगरपालिकाको भूमिकामाथि नै प्रश्नचिन्ह खडा गरेको छ।

अब नगरपालिकाले कति स्वास्थ्य संस्था मापदण्डअनुसार सञ्चालनमा छन् भन्ने स्पष्ट विवरण सार्वजनिक गर्नुका साथै मापदण्ड विपरीत सञ्चालन हुने संस्थामाथि कडा कारबाही गर्नुपर्ने देखिन्छ। अन्यथा, कोहलपुरको स्वास्थ्य सेवा क्षेत्र झन् अव्यवस्थित बन्दै जाने र त्यसको सिधा असर सर्वसाधारणको जीवनमा पर्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस