२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

विजेता सहारा क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित आठ लाख रुपैयाँ हात पार्‍यो

सहारालाई कोहलपुर गोल्डकपको उपाधि

विधागततर्फ कोहलपुर रेसिङ सहाराका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर प्लेअर अफ टुनामेन्ट बन्दै ५१ हजार रुपैयाँ हात पारे
सहारालाई कोहलपुर गोल्डकपको उपाधि

बैशाख २६ गते २०८३

चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहारा क्लबले जितेको छ । कोहलपुर-२ स्थित कोहलपुर रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि हात पारेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पहिलो हाफको पाँचौं मिनेटमै सहाराका चेतन चौधरीले गोल गरेका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गरे । ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

पेनाल्टीमा समेत नतिजा बराबर भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा सहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दीप केसी र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जीव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए ।

विजेता सहारा क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित आठ लाख रुपैयाँ हात पार्‍यो । उपविजेता नेपाल पुलिस क्लबले मेडल, प्रमाणपत्रसहित चार लाख रुपैयाँमै चित्त बुझायो । विधागततर्फ कोहलपुर रेसिङ सहाराका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर प्लेअर अफ टुनामेन्ट बन्दै ५१ हजार रुपैयाँ हात पारे ।

सहारा क्लबका प्रशिक्षक जनक केसीले उत्कृष्ट प्रशिक्षक बन्दै मेडल, प्रमाणपत्र र दश हजार रुपैयाँ प्राप्त गरे । सहारा क्लबका चेतन चौधरी वेष्ट डिफेन्डर र सहाराकै लक्ष्मण राना मगर राइजिङ प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद १०/१० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल पुलिस क्लबका शत्रुधन चौधरी बेष्ट गोलकिपर, नेपाल पुलिस क्लबका रामवाजी वेष्ट मिडफिल्डर र नेपाल पुलिस क्लबका आशिष थारु वेष्ट फरवार्ड उच्च गोलकर्ता बन्दै समान १०र१० हजार रुपैयाँ प्राप्त गरे ।

वैशाख १९ गतेदेखि सुरु भएको चौथो कोहलपुर गोल्डकपमा आठ टिम सहभागी थिए । साभार कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस