२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

हैदराबाद-विजय

हैदराबादको शानदार जित, चेन्नईलाई हराउँदै प्लेअफमा स्थान पक्का

इशान किशन र हेनरिक क्लासेनको उत्कृष्ट ब्याटिङमा हैदराबाद पाँच विकेटले विजयी, चेन्नईको शीर्ष चार यात्रा संकटमा
हैदराबादको शानदार जित, चेन्नईलाई हराउँदै प्लेअफमा स्थान पक्का

इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई पाँच विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । जितसँगै हैदराबाद प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो भने चेन्नईको सम्भावना निकै कमजोर बनेको छ ।

चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । टोलीको जितमा इशान किशनले शानदार प्रदर्शन गर्दै ४७ बलमा ७० रनको महत्वपूर्ण इनिङ खेले । उनले इनिङ सम्हाल्दै टोलीलाई सहज अवस्थामा पुर्‍याएका थिए ।

हेनरिक क्लासेनले पनि आक्रामक ब्याटिङ गर्दै २६ बलमा ४७ रन बनाए । अन्तिमतिर सलिल अरोराले अविजित १० रन तथा आर. स्मरनले पाँच रन जोड्दै टोलीलाई जितसम्म

पुर्‍याए ।

चेन्नईका बलरमध्ये मुकेश चौधरीले दुई विकेट लिए । अकील हुसेन, नूर अहमद र अंशुल कम्बोजले समान एक–एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रन बनाएको थियो । टोलीका लागि सञ्जु सामसनले १३ बलमा २७ रन बनाए भने कार्तिक शर्माले १९ बलमा ३२ रनको योगदान दिए ।

डेवाल्ड ब्रेभिसले २७ बलमा ४४ रन बनाएर टोलीलाई मजबुत अवस्थामा पुर्‍याएका थिए । शिवम दुबेले २६ रन जोडे । ब्रेभिस र शिवमबीच पाँचौँ विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी भएको थियो ।

हैदराबादको बलिङतर्फ कप्तान प्याट कमिन्स उत्कृष्ट देखिए । उनले चार ओभरमा २८ रन खर्चेर तीन विकेट लिए । शकिब हुसेनले दुई विकेट लिए भने इशान मालिंगा र प्रफुल हिङ्गेले समान एक–एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस