२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

शुभमन गिल, साई सुदर्शन र जोस बटलरको विस्फोटक ब्याटिङपछि सिराज–रबाडाको घातक बलिङ, गुजरात शीर्ष दुई नजिक

गुजरातको शानदार प्रदर्शन, चेन्नई ८९ रनले पराजित हुँदै आईपीएलबाट बाहिरियो

गुजरात हाबी
गुजरातको शानदार प्रदर्शन, चेन्नई ८९ रनले पराजित हुँदै आईपीएलबाट बाहिरियो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत अहमदाबादमा सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनले पराजित गर्दै प्लेअफ यात्रालाई थप मजबुत बनाएको छ । यो हारसँगै पाँच पटकको च्याम्पियन चेन्नई आधिकारिक रूपमा प्रतियोगिताबाट बाहिरिएको छ ।

नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको २३० रनको विशाल लक्ष्य पछ्याएको चेन्नई १४० रनमै समेटियो । सुरुवातदेखि दबाबमा परेको चेन्नईका शीर्ष ब्याटरहरू टिक्न नसक्दा टोली खेलमा फर्किन सकेन ।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाड, म्याथ्यु सर्ट र कार्तिक शर्माले छोटो योगदान दिए पनि ठूलो साझेदारी बन्न सकेन । शिवम दुबेले १७ बलमा आक्रामक ४७ रन बनाउँदै केही आशा जगाएका थिए । तर उनको विकेट पतन भएपछि चेन्नईको इनिङ छिट्टै समाप्त भयो ।

गुजरातको बलिङमा मोहम्मद सिराज, कागिसो रबाडा र राशिद खानले समान तीन–तीन विकेट लिए । सिराजले सुरुआती ओभरमै चेन्नईलाई ठूलो झट्का दिएका थिए । उत्कृष्ट प्रदर्शनका लागि सिराज ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले तीन ओभरमा २६ रन खर्चेर तीन विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा विशाल २२९ रन बनाएको थियो । कप्तान शुभमन गिलले आक्रामक सुरुआत दिलाउँदै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए । साई सुदर्शनले सर्वाधिक ८४ रन बनाए भने जोस बटलरले पनि अर्धशतक पूरा गर्दै टोलीलाई विशाल योगफलसम्म पुर्‍याए ।

गिल र सुदर्शनबीच शतकीय साझेदारी भएको थियो । त्यसपछि बटलर र सुदर्शनले पनि उत्कृष्ट समन्वय गर्दै चेन्नईका बलरमाथि लगातार दबाब बनाएका थिए ।

चेन्नईका बलरहरूले सुरुवातदेखि नै लय समात्न सकेनन् । स्पिनर नूर अहमद प्रभावहीन देखिए भने तीव्र गतिका बलरहरूले डेथ ओभरमा रन रोक्न सकेनन् । गुरजपनीतले केही नियन्त्रण कायम राखे पनि टोलीलाई राहत दिन पर्याप्त भएन ।

जितपछि गुजरात १८ अंकसहित शीर्ष दुईमा रहँदै प्लेअफ नजिक पुगेको छ । उत्कृष्ट रनरेटका कारण उसको शीर्ष दुईमा रहने सम्भावना अझ बलियो बनेको छ ।

खेलपछि कप्तान शुभमन गिलले टोलीले निरन्तर राम्रो क्रिकेट खेलेको भन्दै यही लय कायम राख्नुपर्ने बताए । उनले प्लेअफअघि टोली आत्मविश्वासले भरिएको पनि उल्लेख गरे ।

यता चेन्नईका कप्तान ऋतुराज गायकवाडले गुजरातले सबै विभागमा आफूहरूलाई पछि पारेको स्वीकार गरे । उनले चोटका कारण टोलीको सन्तुलन बिग्रिएको र महत्त्वपूर्ण खेलाडीहरूको अनुपस्थितिले असर परेको बताए । साथै उनले युवा खेलाडीहरूको प्रदर्शन भविष्यका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए ।

अब आईपीएलमा अर्को महत्वपूर्ण खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलले शीर्ष दुई टोलीको समीकरण लगभग टुंगो लगाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस