असार २७ गते २०८३
दाङको एक विद्यालयमा निर्वाचन गराउन विद्यालयको गेटमै पुगेका घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि एक जनप्रतिनिधिले मोबिल छ्यापेका छन् ।
घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) ले पद्मोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउन गएका निर्वाचन अधिकृतसमेत रहेका बोहरामाथि शनिबार बिहान मोबिल छ्यापेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार बिहान साढे ७ बजेतिर उक्त घटना भएको हो । मोबिल छ्याप्ने वडा सदस्य बुढाथोकी अहिले फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
विद्यालयभित्र निर्वाचन सुरक्षाका लागि प्रहरीसमेत खटाइएको थियो । तर, बुढाथोकीलाई भने नियन्त्रणमा लिन प्रहरी असफल भएको छ । घटना पद्मोदय माध्यमिक विद्यालयको गेटमै भएको हो ।
निर्वाचन रोक्न वडा सदस्यको दबाब
वडा सदस्य बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न पटक–पटक दबाब दिँदै आएका थिए । उनले घोराही उपमहानगरपालिकामा समेत पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए ।
उनले दिएको निवेदनमा हाल सञ्चालन भइरहेको निर्वाचन प्रक्रियामा आवश्यक रीत र प्रक्रिया पूरा नभएको दाबी गरिएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐनले विद्यालय सञ्चालनको अधिकार पालिकालाई दिएको भए पनि उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी स्पष्ट कार्यविधि अझै तयार नगरेको अवस्थामा विद्यालयले कुन कार्यविधिमा टेकेर निर्वाचन प्रक्रिया अगाडि बढाएको हो भन्ने कुरा स्पष्ट नभएको उनको निवेदनमा उल्लेख छ ।
उनले २०८३ जेठ ११ गते कोरम नपुगेको अभिभावक भेलाबाट विद्यालय सहयोग समिति गठन गर्ने निर्णय गरिएको बताएका छन् । त्यसपछि असार १५ गते बोलाइएको अर्को भेलामा समेत ५.१ प्रतिशत अभिभावकको मात्र उपस्थिति रहेको र यस्तो न्यून उपस्थितिका बीच निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको उनको आरोप छ ।
विद्यालयले भेला बोलाउनुभन्दा तीन दिनअघि अभिभावकको नामावली सार्वजनिक गर्नुपर्ने तथा निर्वाचन सहयोग समिति गठन गरेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने परम्परागत र कानुनी मान्यतालाई समेत बेवास्ता गरिएको उनको दाबी थियो ।
यही विषयलाई लिएर उनले शिक्षा अधिकृत बोहरामाथि मोबिल छ्यापेको बताइएको छ । उनले प्रमुख प्रशासकीय अधिकृतलाई समेत यसरी नै मोबिल छ्याप्ने धम्की दिँदै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । साभार नयाँ पत्रिका
