साउन ४ गते २०८३ /राजेश आचार्य
पाल्पा — लुम्बिनी प्रदेशका १२ जिल्लामा ८०.६४ प्रतिशत रोपाइँ भएको लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ । धान उत्पादनमा महत्वपूर्ण योगदान गर्ने लुम्बिनी प्रदेशमा साउन १ सम्म २० प्रतिशत रोपाइँ बाँकी रहेको बताइएको छ ।
लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको बताएको छ । प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले अहिलेसम्म २ लाख ४३ हजार ४१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको बताउनु भयो ।
कुलो, सिँचाइका संरचना बनेका जिल्लामा धान रोपाइँ सतप्रतिशतसम्म भइसकेको निर्देशनालयले जनाएको छ । रुपन्देहीमा ९५, पश्चिम नवलपरासीमा ९७.५, दाङमा ७७, बर्दियामा ९५, कपिलवस्तुमा ६०, बाँकेमा ६० प्रतिशत रोपाइँ सकिएको निर्देशनालायले जनाएको छ । पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ७६ प्रतिशत रोपाइँ भएको छ । पाल्पामा ८५, अर्घाखाँचीमा ८०, रोल्पामा सतप्रतिशत, रुकुमपूर्वमा ९६ र प्युठानमा ९६ प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार रुपन्देहीमा कुल ६३ हजार ५५० हेक्टर मध्ये ६० हजार ३७३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले पठाएको तथ्यांक अनुसार नवलपरासीमा २० हजार ८८७ हेक्टरमध्ये २० हजार ३६३ हेक्टरमा, कपिलवस्तुमा ६६ हजार २६५ मध्ये ४० हजार २६९ हेक्टरमा, पाल्पामा ७ हजार २८७ मध्ये ६ हजार १९४ हक्टरमा, गुल्मीमा ६ हजार ५४१ मध्ये ४ हजार ९७१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
अर्घाखाँचीमा ६ हजार ७६० मध्ये ५ हजार ४०८ हेक्टरमा, रोल्पामा ३ हजार ७३ मध्ये ३ हजार ७३ मै रोपाइँ सम्पन्न भएको छ । दाङमा ३६ हजार २ सय मध्ये २७ हजार ८७४ हेक्टरमा, बाँकेमा ३३ हजार ७८० मध्ये २० हजार २६८ हेक्टरमा, प्युठानमा ६ हजार ५२५ मध्ये ६ हजार २६४ हेक्टरमा, रुकुम (पूर्व) ३ सय ५४ हेक्टरमध्ये ३ सय ४० हेक्टरमा र बर्दियामा ५० हजार १५० मध्ये ४७ हजार ६४३ हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले समयमै वर्षा नभएको र सिंचाइ सुविधा नपुगेको स्थानमा रोपाइँ ढिला भएको जानकारी दिनु भयो ।
