२०८३ भाद्र ९ || 25 Aug 2026, Tuesday

प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परे

एमबीएस प्रश्नपत्र लिक प्रकरण, यसरी बाहिरिएको थियो ह्वाट्सएपबाट

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइसकेको छ
एमबीएस प्रश्नपत्र लिक प्रकरण, यसरी बाहिरिएको थियो ह्वाट्सएपबाट

साउन १० गते २०८३

ह्वाट्सएप ग्रुप – एमबीएस फर्स्ट सेम, सेक्सन सी ।

सदस्य संख्या – एक हजार २३ जना ।

ग्रुपको उद्देश्यमा लेखिएको छ – हेल्प इच अदर । अर्थात्, एकअर्कालाई सहयोग गरौँ ।

दिउँसो १२:०५ मिनेटमा ग्रुपमा एउटा पीडीएफ फाइल आउँछ । ‘सुलभ सर’ भन्ने ह्वाट्सएपबाट आएको उक्त फाइलमा प्रश्नपत्र हुन्छ । साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिन्छ । त्यसपछि सामाजिक सञ्जालमा छताछुल्ल भएको उक्त विषय अहिले छानबिनको विषय बनेको छ ।

उक्त प्रश्नपत्र आउनेबित्तिकै विद्यार्थीहरूले ह्वाट्सएप ग्रुपमा छलफल गर्न थालेको देखिन्छ । ‘सर सोलुसन नि पठाइदिनुन,’ एक विद्यार्थीले प्रश्नपत्र ग्रुपमा आएको एक मिनेटमै रिप्लाइ गर्छन् । यसको जवाफमा सुलब सरले भन्छन् – हस् ।

त्यसपछि ती विद्यार्थीले ‘पेपर–वाइज’ भन्दै रिप्लाई गर्छन् । अनि अडियो मेसेज पनि त्यसमा आएको देखिन्छ । विद्यार्थीहरुबीच अनेक जिज्ञासामा सवालजवाफ हुन्छ । एक विद्यार्थीले उत्साही हुँदै ३० मिनेट ढिलो गर्दा परीक्षा हलमा छिर्न दिने/नदिने व्यवस्थाबारे जिज्ञासा राख्छन् । यदि यस्तो कसैले गरेको भए रिप्लाई दिन अनुरोध गर्छिन् ।

लगत्तै अर्की विद्यार्थीको जवाफ आउँछ – डिपेन्ड्स अपन सेन्टर जस्तो लाग्छ । अर्थात्, परीक्षा केन्द्रअनुसार फरक पर्नसक्ने संकेत उनले दिन्छिन् ।

यसरी विद्यार्थीबीच गन्थन चल्दै गर्दा सुलब सरले केही फोटोहरु फर्वाड गर्छन् । केही समयमा फर्वाड गरेको उक्त फोटोमा विद्यार्थीले मागेअनुसार प्रश्नका उत्तरहरु हुन्छन् । त्यसपछि उत्साही विद्यार्थीलाई के चाहियो रु अर्का एक विद्यार्थीले तुरुन्तै रिप्लाई गर्दै लेख्छन् – अब इको(अर्थशास्त्र) मा ढिला जानुपर्ला सर । क्वेसन (प्रश्न) हाल्दिनु होला त यसरी ।’

प्राप्त स्कृनसटमा सुलब सरले विद्यार्थीलाई प्रश्नपत्र लिक गराउने भूमिका खेलेको स्पष्ट देखिन्छ । उनले ग्रुपमा ‘राती ११ बजे आउँछ’ भन्दै महत्तवपूर्ण प्रश्नहरु पठाउने आश्वासन नि दिएका छन् । त्यसलगत्तै विद्यार्थीहरुले ‘आज पनि तपाईंले भन्नुभएकै आयो । तर, बिर्सेँ मैले,’ भन्दै जवाफ दिन्छन् ।

त्यसपछि सुलब सर लेख्छन् – इको (अर्थशास्त्र) को पनि दिन्छु । राम्रोसँग हेर्नुहोला ।’

‘हुन्छ,’ विद्यार्थीको रिप्लाइ छ ।

विद्यार्थीहरु एकदम खुसी र उत्साही देखिन्छन् । एकजना विद्यार्थी लेख्छिन्, ‘थ्यांक्यू । हामी जब होल्डर्सको लागि बेस्ट ग्रुप भयो यो त ! सेलेक्टिभ क्वेसन्स पढ्दा नि आज ९५ गरेँ मैले ।’

यसरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सेमेस्टरको प्रश्न पत्र बाहिरिएको खुलेपछि सामाजिक सञ्जालमा यो विषय चर्चामा छ ।

‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुप नै परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र पठाउने र त्यसपघि पनि महत्वपूर्ण प्रश्नहरु र सोलुसन्न पठाउने देखिएको छ ।

प्रश्नपत्र बाहिरिएपछि विभिन्न विद्यार्थी संगठन र त्रिविसम्बद्ध ग्रुपहरुले यसमा आपत्ति जनाएको थियो । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले त साइबर ब्युरोलाई पत्राचार नै गर्‍यो । सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई आधिकारिक रूपमा पत्राचार गरेका थिए । प्रश्नपत्र बाहिरिएको विषयबारे डिन कार्यलयको ध्यानाकर्षण भएको बताउँदै साइबर ब्युरोमा छानबिनको लागि अनुरोध गरिएको थियो ।

पत्रचारमा उल्लेख छ, ‘एमबिएस प्रथम सेमेस्टरको अर्गनाइजेशनल बिहेबियर विषय परीक्षाको प्रश्नपत्रको सम्बन्धमा विभिन्न ह्वाट्सएप समूहहरूमा साझा गरिएकोसम्बन्धी आएकाले, यस व्यवस्थापन संकाय डीनको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्कृनसर्टबारे खुलाउँदै यस सम्बन्धमा अवश्यक व्यक्ति, संस्थारपरीक्षा केन्द्रको पहिचान गरी हदै सम्मको कानूनी कारबाही गर्न पत्राचार गरेको थियो ।

आइतबार नै परीक्षा नियन्त्रण महाशाखा पनि यसमा सक्रिय भयो । एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिनको लागि छानबिन समितिसमेत गठन गर्‍यो ।

त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न समिति बनाएको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा संचालन समितिले समिति बनाएको हो ।

‘परीक्षा संचालनकै क्रममा विभिन्न सामाजिक संजालमार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको हो ।

अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्रा.डा महेशराज ओझालाई सदस्यको तोकिएको छ । उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

योसँगै शिक्षा मन्त्रालय र प्रहरी संयन्त्रले शनिबारबाटै सक्रिय रुपमा यसको छानबिन थालेको छ । ‘हामीले हिजैबाट गम्भीर भएर छानबिन थालिसक्यौँ । सम्बन्धित निकायबाट कारबाही हुन्छ । मन्त्रीज्यू लागि परिरहनुभएको छ,’ शिक्षा मन्त्रालय सचिवालय स्रोतले भन्यो ।

दुई जना पक्राउ

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए ।

छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत विषयमा छलफल गरेका थिए ।

 

साभार अनलाइन खबर

प्रतिक्रिया दिनुहोस