साउन २४ गते २०८३
सल्यानबाट आर्थिक बर्ष २०८२र०८३ मा २ अर्व २४ करोड ६९ लाख रकम बराबरको कृषि र पशुजन्य उत्पादन जिल्ला बाहिर निकासी भएको छ । ३ लाख ५७ हजार २ सय ३२ मेट्रिकटन तरकारी तथा फलफुल र पशुजन्यमा ३० हजार ६ सय २० खसीबोका, बंगुर र राँगाभैसी निकासी भएको हो ।
जिल्लाका १० वटै स्थानीय तहबाट कपुरकोट, कालिमाटी र सल्लीबजार हुँदै ३ लाख ५७ हजार २ सय ३२ मेट्रिकटन कृषिजन्य बस्तु निकासी हुँदा १ अर्ब ६३ करोड र ३० हजार ६ सय २० बोकाबाख्रा, बंगुर र राँगाभैंसीबाट ५६ करोड ६९ लाख रकम जिल्लामा भित्रिएको छ ।
यसबाट जिल्लाका ५४ हजार घरधुरी कृषक लाभान्वित भएका छन् । फस्टाउँदै गएको कृषि र पशुजन्य ब्यवसायबाट कृषकहरु आत्मनिर्भर बन्दै गएका छन् । कृषि तथा पशुपालन व्यासायबाट धेरैको दैनिक गुजारासँगै जीवनस्तरमा सुधार भइरहेको छ । विगतमा रोजगारीका लागि भारतका विभिन्न स्थानमा जान बाध्य हुँदै आएकाहरु पनि गाउँमै रोजगारी पाउृन थालेका छन् ।
जिल्लाबाट ४ करोड ९६ लाखको १ हजार ५ सय ५० मेट्रिकटन मकै, १ करोड ३२ लाखको ७० मेट्रिकटन कोदो, ४९ करोड ७६ लाखको ८ हजार ४ सय ८७ मेट्रिकटन ताजा तरकारी, ३९ करोड ९२ लाखको ४ हजार ५ सय ८४ मेट्रिकटन सुन्तला र किवी, १ करोड ९४ लाखको ३ लाख २५ हजार ५ सय ५० फलफुलका बेर्ना, ४० करोड २० लाखको ८ हजार ४ सय ६५ मेट्रिकटन अदुवा, २२ लाख ५० हजारको ९५ मेट्रिकटन बेसार निकासी भएको छ ।
यस्तै ४० लाखको अलैंची, २३ करोड ५० लाखको ८ हजार २ सय ५० मेट्रिकटन आलु, ९० लाखको ९ मेट्रिकटन मह र २० लाख बराबरको १ सय ७० मेट्रिकटन तिल, भांगो, बोडी, भटमास निकासी भएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । उत्पादित कृषिजन्य बस्तु दाङ, नेपालगन्ज, काठमाडौं हुँदै भारतका विभिन्न सहर र अदुवा फ्रान्ससमेत पठाइएको उनले बताए ।
उनका अनुसार विगतमा सामान्य रुपमा नुन, तेलको जोहो र बिहान बेलुकीको गुजारा चलाउन मात्र फलफुल, तरकारी, अदुवालगायत अन्य बाली लगाउँदै आएका किसान कार्यालयले दिँदै आएको विभिन्न किसिमको सहयोगमा ब्यावसायिक रुपमा लागेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी कृषिजन्य बस्तु बाग्चौर नगरपालिका, कपुरकोट गाउँपालिकाबाट निकासी हुने गरेको उनको भनाई छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठले ०८२र०८३ मा सल्यानका १० वटै स्थानीय तहबाट ५३ करोड ७१ लाखको २९ हजार ८ सय ४० खसीबोका, २ करोड ४ लाखको ६ सय ८० बंगुर, ८४ लाखको १ सय २० राँगाभैंसी जिल्ला बाहिर निकासी भएको उनले बताए ।
उनका अनुसार विगतमा जिल्लाबासीले नुन, तेल र सामान्य खर्चको जो हो गर्न पशुपालन गर्थे । पछिल्लो समयमा ब्यावसायिकतामा लागेपछि जीविकोपार्जनमा सहज भएको छ । पशुपालनबाट आम्दानी गरेको रकमबाट घर खर्च जुटाउने मात्र नभई छोराछारीलाई उच्च शिक्षा दिलाउन सक्षम भएका छन् । जिल्लाका किसानले पालेका स्थानीय जातका खसीबोकाको माग बढ्दै गएपछि बाख्रापालन ब्यवसायलाई धेरैले प्राथमिकता दिएका छन् । जिल्लाका ७० प्रतिशत घरमा पशुपालन हुने गरेको उनले बताए ।
कान्तिपुर बाट
