भाद्र २१ गते २०८३ / निराजन वि.क
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन देउवा पक्षधर अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताउनु भयो ।
उहाँले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गर्नुभयो। नेता लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्न सकिने समेत दावी गर्नुभयो ।
लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको भन्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताउनु भयो। त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए उहाँले आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत दिएको नेता लेखकले बताउनु भयो ।
निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा ‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन तसर्थ अहिले पनि उपाय छ , आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ भन्दै नेता लेखकले अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले आधिकारिकता सम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेकाले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा नलिन आग्रह गर्नुभयो । लेखकले पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया सुरु गर्ने पक्षले लिनुपर्ने चेतावनीसमेत दिनुभएको छ ।उहाँले सभापति गगन थापा नेतृत्वले आगामी असोज १६-१९ गते पार्टीको १५औं महाधिवेशनको मिति तोकेता पनि तर संस्थापन इतर समूहले भने यसलाई स्वीकार गर्न नसकिने भन्दै महाधिवेशन मंसिरमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको बताउनु भयो।
