भाद्र २८ गते २०८३ /निराजन वि.क
धर्मशास्त्रविद् प्रा.तोयराज नेपालले आज भाद्र द्वितीया दर खाने दिन रहेको र आज बाट चारदिने तीज पर्व शुरु भएको बताउनु भएको छ । तीजको दरमा दुध बाट बनेका परिकारहरु,घ्यु रोटी खाने प्रचलन छ ।
आज टाढा टाढा भएका दिदीबहिनीहरु माइत आउने,बाआमा दाजुभाईले छोरीचेली,दिदीबहिनी लाई दर खुवाउने प्रचलन कायमै रहको छ । कर्मघर गएका चेलीहरु जन्म घर फर्कने सुखदुख साटासाट गर्ने पर्वको रुपमा पनि तीज पर्व जीवन्त बनिरहेको छ ।
पछिल्ला बर्षहरुमा तीज एक महिना अघि देखि लाग्ने,भडकिलो बनाउदै लगिएको विषयमा आलोचना समेत बढ्न थालेको छ ।
आज दर खाएर भोली सोमबार अविवाहितहरुले असल श्रीमानको कामना र विवाहितहरुले सौभाग्यको कामना गरेर ब्रत बस्ने परम्परा रहि आएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले आइतबार बेलुकी दर खाने तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिने जानकारी दिनुभयो ।
उहाँले यस वर्ष भदौ ३० गते मंगलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरि गणेश चौथी पर्व विहान नै मनाइने बताउनु भयो ।
हरितालिका तीज कहिले बाट र किन मनाउन थालियो ?
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाउनु भएको थियो । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा उल्लेखगरिएको पाइन्छ ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।
हरितालिका तीज पर्वको अवसरमा बाँकेका शिवालय देखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको आराधना पुजा गर्न छोरीचेली नारीहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।
