कार्तिक २ गते २०८३
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार गत असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण कुल २२९.३३ हेक्टर धान खेती गरिएको क्षेत्रफल प्रभावित भएको छ । जसकारण, करिब चार सय ३८ मेट्रिक टन धान उत्पाददनमा ह्रास आएको छ ।
मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी डा. मणिरत्न अर्यालका अनुसार हालसम्म प्राप्त विवरणअनुसार धानबालीमा आएको ह्रासबाट दुई करोड एक लाख ७३ हजारको आर्थिक नोक्सानी भएको छ ।
सबैभन्दा बढी क्षति बाँके जिल्लामा करिब १०९.१० हेक्टर क्षेत्रफमा भएको तथ्याङ्क छ । यसैगरी, सबैभन्दा कम स्याङ्जा जिल्लामा ०।८४ हेक्टर क्षेत्रफलमा क्षति भएको मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेश अन्तर्गत २.१४ हेक्टर क्षेत्रफलमा ४.४५ मेट्रिक टन धान उत्पादनमा ह्रास आएको छ । जसबाट तीन लाख २० हजार रुपियाँ बराबर आर्थिक क्षति भएको छ ।
गण्डकी प्रदेशअन्तर्गत गोरखा, तनहुँ, बागलुङ, स्याङ्जामा १६।७८ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । उक्त क्षेत्रफलमा ७४.५८ मेट्रिक टन धान उत्पादनमा ह्रास आएको छ । जसबाट ४३ लाख ९४ हजार रुपियाँ बराबरको आर्थिक क्षति भएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत बाँके, दाङ जिल्लामा २०५.०७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । सो क्षेत्रमा ३५९.८० मेट्रिक टन धान उत्पादनमा ह्रास आएको छ । जसबाट एक करोड ५४ लाख ५८ हजार ६८० रुपियाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क छ ।
सो समयमा परेको भारी वर्षाका कारण सबैभन्दा बढी असर धानबालीमा परेको देखिन्छ । मन्त्रालयको तथ्याङ्कअनुसार धानबालीमा ५७.१७ प्रतिशत नोक्सानी भएको छ ।
तरकारी बालीमा १०.४० प्रतिशत, मकैमा १९.६० प्रतिशत, फलफूलमा ७.८५ प्रतिशत, कोदोमा ०.२६ प्रतिशत, अलैँचीमा ४.५९ प्रतिशत र फूलमा ०.१३ प्रतिशत नोक्सानी भएको मन्त्रालयको तथ्याङ्क छ । साभार गोरखापत्र दैनिक
