२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

सेवा बुधबारदेखि नरैनापुर गाउँपालिकाको आन्तरिक राजस्व शाखामार्फत उपलब्ध हुने

नरैनापुरमा बुधबारदेखि आन्तरिक राजश्वको सेवा थपिँदै

अन्तःशुल्क इजाजतपत्र आवश्यक पर्ने व्यवसायका लागि आवश्यक कागजात मिलान गरी आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा सिफारिस गर्ने तथा इजाजतपत्र प्राप्त गर्ने प्रक्रियामा सहजीकरण गरिने :
no-image

असोज १३ गते २०८३

नेपालगन्ज — बाँकेको दुर्गम मानिने पूर्वी सीमानामा पर्ने नरैनापुर गाउँपालिकामा आन्तरिक राजस्वसम्बन्धी सेवा संचालन हुने भएको छ । कर सम्बन्धी सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र नरैनापुर गाउँपालिकाबीच समझदारी भएको हो ।

यससँगै नरैनापुर क्षेत्रका बासिन्दा तथा व्यवसायीले करसम्बन्धी सेवा लिन अब हरेकपल्ट नेपालगन्जस्थित कर कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ । सरकारले २०८२ कात्तिक १७ मा गरेको करदाता सेवा कार्यालय खारेज गरी स्थानीय तहमार्फत सेवा संचालन गर्ने निर्णय कार्यान्वयन गर्दै स्थानीय तहमा आन्तरिक राजस्वसम्बन्धी सेवा विस्तार गरिएको जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जबाट हुँदै आएको सेवा बुधबारदेखि नरैनापुर गाउँपालिकाको आन्तरिक राजस्व शाखामार्फत उपलब्ध हुने भएको हो । यसअघि पान नम्बर लिनुका साथै अन्य आन्तरिक राजस्वसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आन्तरिक राजस्वसम्बन्धी सेवाले पालिकावासीलाई सहज हुने बताए । यो सेवा संचालनले स्थानीय तहले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर प्राप्त गर्न सहजीकरण हुनेछ ।

त्यसैगरी, अन्तःशुल्क इजाजतपत्र आवश्यक पर्ने व्यवसायका लागि आवश्यक कागजात मिलान गरी आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा सिफारिस गर्ने तथा इजाजतपत्र प्राप्त गर्ने प्रक्रियामा सहजीकरण गरिने उनले बताए ।

मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ताका लागि आवेदन दिने व्यक्ति तथा व्यवसायका आवश्यक कागजात मिलान गरी आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउन सहजीकरण गर्ने व्यवस्था गरिने पनि समझदारीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस