असोज ३१ गते २०८३
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
बडादसैँका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पुर्याएको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गर्नुभएको छ ।
दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्व रहेको बताउनुभएको छ ।
साथै, देशका विभिन्न भागमा आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव बाट विजयादशमी, २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताउनुभएको छ ।
विजयादशमी, २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने युगीन सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने बताउनुभएको छ ।
“विजया दशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउँछ”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल बाट विजयादशमी, २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बडादसैँ–२०८३ का अवसरमा शनिबार शुभकामना दिँदै उहाँले यसपर्वले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भनी शुभेच्छा प्रकट गर्नुभएको छ ।
उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
