आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि चाहिने आवश्यक भौतिक पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । भिआइपी प्याराफिटको मात्रै निर्माण कार्य पूरा भएको छैन, यसमा पनि प्याराफिट ठडाउने काम मात्र बाँकि रहेकाले ८० प्रतिशत काम सम्पन्न भैसकेको र अब १० दिन भित्रै उक्त कार्य पनि सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले वताएका छन् । नेपालगञ्जमा मात्रै आठौंले गर्दा एक अर्वको लगानीमा भौतिक संरचना निर्माण भएको बताउँदै राखेप सदस्य सचिव विष्टले नेपालगञ्जको इतिहासमै यति ठूलो लगानीमा पहिलो पटक प्रतियोगिता हुन लागेको प्रतिक्रिया दिए । चैत्र २५ गतेसम्म सम्पूर्ण पूर्वाधारको काम सकिने मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश नम्बर ५ का अध्यक्ष भिम वलीले जानकारी दिए । अध्यक्ष वलीले खेल प्रतियोगिता आयोजना हुने स्थानको सत् प्रतिशत पूर्वाधार निर्माण भैसकेको बताए । खेल मैदान निर्माण भैरहेको स्थानमा भेटिएका सदस्य सचिव विष्टले भने– ‘पछिल्लो प्रगति देखेर हामी निकै हौसिएका छौं, यही चैत्रमै प्रतियोगिता गर्न अब पूर्वाधार निर्माण नभए रोकिने छैन, यसमा सबैले साथ दिन जरुरी छ ।’ चैत्र २७ गते आयोजना गर्ने गरी तयारी वृहत् रुपमा भैरहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । बाँके, बर्दियामा आयोजना हुने स्थानहरुमा स्थानीय तहहरु आठौँ राष्ट्रिय खेलकुदका लागि सरसफाई तथा स्वागतद्वार बनाउने र रङ्गरोगन गर्न्तिर लागिसकेका छन् । स्थानीय तहसँग समन्वय गरी विभिन्न उप समितिहरु पनि निर्माण गर्ने काम भैरहेको छ ।
नेपालगञ्जका स्थानीयहरुमा उल्लासपूर्ण अवस्था रहेकाले सबैले २०७५ भित्र नै प्रतियोगिता आयोजना होस् भन्ने चाहेका मध्यपश्चिम खेलकुद विकास प्रदेश नम्बर ५ का उपाध्यक्ष नरेन्द्र थापाले बताए । यस बिच आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी खजुरा गाउँपालिका २ सितापुरमा रहेको शुक्र माध्यमिक विद्यालय के गाउँको खेल मैदानलाई विहिबार सरसफाई गरीएको छ । आठौँको महिला हक्कि प्रतियोगिता सञ्चालन गर्नका लागी सितापुरको शुक्र माध्यमिक विद्यालयको खेल मैदान छनोट भएपछि त्यसलाई मर्मत तथा सरसफाई गरीएको हो । सितापुर युनाइटेड कल्वका स्थानिय युवाको अगुवाइ तथा सहभागितामा सरसफाई गरीएको हो । खजुराका स्थानियहरु आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको केहि खेल आफ्नै घर नजिक हुने भएपछि उत्साहित समेत भएका छन । स्थानियहरु स्वस्फुर्त रुपमा खेल मैदान सँगै गाउँको सरसफाइमा समेत जुटुको सितापुर युनाइटेड कल्वका अध्यक्ष गान्धी हमालले जानकारी दिए । खजुरा गाउँपालिका २ का वडाध्यक्ष देविलाल शर्मा सितापुरमा आउने पाहुनाको स्वागत गर्नका लागी सम्पुर्ण स्थानियहरु आतुर भएको प्रतिक्रिया दिएका छन । खेल अवलोकन गर्न , खेल्न र खेलाउनका लागी आउने पाहुनाको स्वागतका निमित्त स्वागत गेट बनाउने जिम्मेवारी पनि बाडफाड भैसकेको वडाध्यक्ष शर्माले बताए । स्थानियले प्रतियोगिताको मिति तल्काल तोक्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह समेत गरेका छन ।
