आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा आज बुधबारदेखि शुरु हुँदैछ । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ वटा खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । वृहत राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा पहिलोपटक राष्ट्रिय खेलकुद हुन लागेको हो । खेलको उद्घाटन र समापन दुवै प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम छ । समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् । ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि भिडन्त हुने आयोजकले जनाएको छ ।
बुधबारदेखि शुरु हुने ५ वटा खेलमध्ये ४ वटा खेलको प्रतिस्पर्धा प्रदेश ५ मा हुँदैछन् । प्रदेश ५ का अध्यक्ष भिम वलीका अनुसार बुटवलको देवीनगरमा लनटेनिसको उदघाटन ५ नं प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, दाङको घोराही कभर्डहलमा टेबलटेनिसको उदघाटन पुर्वखेलकुद मन्त्री दलजित श्रीपाईली, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्तीको उदघाटन् खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा नेपालगञ्जको मंगलप्रसाद उमाविमा पुरुष हक्कीको उदघाटन संघिय शहरी विकास मन्त्री इृस्तियाक राइ र ललितपुरको सातदोबाटोमा स्क्वास खेलको उदघाटन संचारमन्त्री गोकुल वास्कोटाले गर्न कार्यक्रम रहेको छ । महिला हक्की भने नेपालगञ्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि शुरु हुनेछ ।
उद्घाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ वैशाख ५ अघि नै सकिने छ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । वृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।
बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपीएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष/महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षक भूषण वज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा ९थाइल्यान्ड० ले प्रतिस्पर्धा गर्नेछन् । स्क्वासमा प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष/महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ ।
हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित ९ टिमले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । फाइनल वैशाख ४ गते हुनेछ । महिला हक्की भने चैत ३० गतेदेखि नेपालगञ्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमहरुमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रियमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल वैशाख ५ गते हुनेछ ।
कुस्तीमा पुरुष/महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय ९आर्मी/प्रहरी० गरी ९ टिमले भाग लिनेछन् ।टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय(आर्मी/प्रहरी/एपीएफ) बाट १ सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष/महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धा समावेश छन् ।
