२०८३ कार्तिक ५ || 21 Oct 2026, Wednesday

१३५ स्वर्ण, ७७ रजत र ६६ काश्य सहित नेपाली सेना विजेता

कार्यवाहक राष्ट्रपतिले आठौं राष्ट्रिय खेलकुद समापन गरे

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ सालको फागुन २० देखि २७ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्ले निर्णय
कार्यवाहक राष्ट्रपतिले आठौं राष्ट्रिय खेलकुद समापन गरे

प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबार सकिएको छ । नेपालगञ्ज रंगशालामा आयोजित समापन समारोहमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गरे ।
समापन कार्यक्रममा बोल्दै उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कमी कमजोरी नवौं प्रतियोगितामा नदोहोर्रुयाउन सुझाव दिए । आफ्नै प्रदेशमा भएको आठौं खेलकुदले सबैलाई एक बनाएको भन्दै गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता झनै भब्य हुने उनले कामना गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ सालको फागुन २० देखि २७ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्ले निर्णय गरिसकेको छ । उनले भने, विशेषगरी बाँके र दाङमा भएको यो आठौं राष्ट्रिय खेलकुदले सबैलाई एक बनाएको छ । यहाँबाट प्रतिभावान खेलाडीको जन्म पनि भएको छ । म बधाई दिन चाहन्छु राष्ट्रिय कीर्तिमान बनाउने खेलाडी तथा पदक विजेतालाई ।

उपराष्ट्रपति पुनले आफू राष्ट्रिय प्रतियोगितामा सानोमा छनोट हुन नपाउँदा एकदमै दुख लागेको सुनाउँदै खेलाडीलाई झनै हौसलाको साथ खेल्न आग्रह गरे । उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न हुने आशा पनि व्यक्त गरे । उनले भने, म विश्वस्त बनाउन चाहन्छु कि नेपालमा हुने १३ औं साग तोकिएकै समयमा हुनेछ । अब त्यसको तयारीमा लाग्नुहोस् । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता यही डिसेम्बरमा काठमाडौं र पोखरामा हुदैछ ।
आर्मीको अग्रता  नेपाली सेना विजेता बन्न सफल भएको छ । सेनाले १३५ स्वर्ण, ७७ रजत र ६६ काश्य पदक सहित विजेता बन्न सफल भएको हो ।

यसैगरी दोश्रो स्थानमा रहेको एपिएफले ५१ स्वर्ण, ६५ रजत र ७० काश्य पदक प्राप्त गरेको छ । नेपाल पुलिस क्लबले ४९ स्वर्ण,५५ रजत र ४४ काश्य पदक प्राप्त गरेको छ । प्रदेश नम्बर ३ ले २२ स्वर्ण, २३ रजत र ३९ काशय पदक हात पारेको छ । गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४३ काश्य पदक, प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ काश्य पदक प्राप्त गरेको छ । प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काशय पदक प्राप्त गरेको छ । यसैगरी सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य, प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० काश्य, एलआरएनएले ५ स्वर्ण १ रजत र ५ काश्य तथा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत तथा १७ काश्यपदक प्राप्त गरेको छ ।  विजेता टिम तथा खेलाडीलाई कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुन लगायतले बुधबार साँझ नेपालगञ्ज रंगशालामा ट्रफी प्रदान गरे । बैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु चैत २७ देखि सुरु भएका हुन् । प्रतियोगितामा ३५ खेलमा पाँच हजार बढि खेलाडी प्रतिष्पर्धी थिए ।

प्रतिक्रिया दिनुहोस