बाँकेको कोहलपुरमा रहेको गोरखा यूनाईटेड पब्लिक स्कुलले दोस्रो अन्तर मा.वि स्तरिय मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा शिक्षा खेलकुद शाखाको व्यवस्थापनमा कोहलपुर १२ स्थित ज्ञानज्योति मा.वि मा मंगलबार सम्पन्न भएको प्रतियोगितामा गोरखा यूनाईटेड पब्लिक स्कुलले ५ स्वर्ण, २ कास्य सहित उपाधि र नगद ५१ हजार रुपैयाँ, रनिङ्ग शिल्ड प्राप्त गर्न सफल भएको छ । त्यस्तै गरी जनज्योति पब्लिक मा.वि ४ स्वर्ण, ४ रजत र १ कास्य सहित द्वितीय हुन सफल भएको छ । जनज्योतिले प्रमाणपत्र र ३१ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने त्रिभुवन माविले तृतीय स्थान हासिल गर्दै नगद २१ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
एथलेस्टिक तर्फको उत्कृष्ट छात्र खेलाडीमा जनज्योति पब्लिक मा.वि सुवास बराल र छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी पूर्णिमा खड्का घोषित भएकी छिन् । त्यस्तै भलिबल छात्र तर्फ ज्ञानज्योति मा.विका लिलक परियार र छात्रा तर्फ साईनिङ्ग स्टार माविकी लक्ष्मी सुनार उत्कृष्ट खेलाडी घोषित भईन् ।
यस्तै प्रतियोगितामा अनुसाशन तर्फ ज्ञानज्योति मावि र मार्च पासमा कृष्ण मावि कौशिलानगर उत्कृष्ट भएका छन् । त्यस्तै भलिबल छात्र तर्फ ज्ञानज्योति मा.वि प्रथम, जनज्योति पब्लिक मा.वि द्वितीय र डाईनामिक मा.वि तृतीय भएका छन् भने छात्रा तर्फ साईनिङ्ग स्टार मा.वि प्रथम, ज्ञानज्योति मा.वि चप्परगौडी द्वितीय र गोरखा यूनाईटेड पब्लिक स्कुल तृतीय भएका छन् । बिजेता तथा उप बिजेता विद्यालयका छात्रछात्राहरुलाई आयोजक कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, वडा अध्यक्ष लगायतले रनिङ्ग शिल्ड, टूफी, पदक प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । नीजि तथा सामुदायिक विद्यालय गरी ३४ वटा विद्यालयहरुको सहभागिता जनाएको प्रतियोगिताको समापन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुर क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगितालाई प्राथमिकता दिने बताए ।
