२०८३ कार्तिक ३ || 19 Oct 2026, Monday

प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता

खजुरामा मेयर रनिङ शिल्ड प्रतियोगिता हुँदै

६७ विद्यालयका १ हजार ५ सय विद्यार्थीको सहभागिता
खजुरामा मेयर रनिङ शिल्ड प्रतियोगिता हुँदै

बाँकेको खजुरास्थित जनसेवा मा.वि गिजरामा प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता हुने भएको छ । फागुन ३ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले सोमवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना र जनसेवा मा.वि.को व्यवस्थापनमा हुने प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६७ विद्यालयका १ हजार ५ सय विद्यार्थीको सहभागिता रहने जनाइएको छ ।  कक्षा ९ देखि १२ मावि तह, कक्षा ६देखि ८ नि मा.वि र १ देखि ५ आधारभूत तीनै तहलाई प्रतियोगितामा सहभागिता गराइए पनि आधारभूत तहका विद्यार्थीलाई बालमैत्री खेलहरु खेलाइने जनाइएको छ । प्रावि, निमावि र मावि तहका विद्यार्थीवीच भने २ वटा रनिङ शिल्डका लागि छुट्टा–छुट्टै प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा मा.वि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितियलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ भने कक्षा १ देखि ८ सम्मको विद्यालयका लागि क्रमश : १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको छ ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले तयारी र प्रतियोगिताबारे जानकारी दिँदै खजुरा गाउँपालिकाको शैक्षिक गुणस्तर उकास्न खेलकूद प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए । उनले प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गर्नका लागि ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिए अनुरुप खजुरा गाउँपालिकाले ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको जानकारी दिए । प्रतियोगिता संचालनका लागि खजुरा गाउँपालिकाले मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५ पारित गरी यो प्रतियोगितालाई हरेक वर्ष खजुरा गाउँपालिका मातहत संचालन गर्ने र तत्कालै शैक्षिक महोत्सवको पनि आयोजना गर्ने गरी निर्देशिका पारित भइसकेको छ ।  प्रतियोगितालाई भब्य, शब्य र व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा २सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति गठन गरेर तयारी अगाडि बढाइएको सचिवालय प्रमुख यमनारायण महतोले जानकारी दिए । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम सापकोटा, फिल्ड मार्शल राजेन्द्रप्रसाद सापकोटा, आयोजक विद्यालयकी प्रअ शोभा रेग्मीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस